सूचनाको शक्ति - The Power Of Information

        

भारतीय पक्षले चासो नदिँदा नेपालगन्जमा सुक्खा बन्दरगाह निर्माण अलपत्र

बाँके । भारतीय पक्षले चासो नदिँदा नेपालगन्ज नाकामा निर्माणाधिन सुख्खा बन्दरगाहको काम अलपत्र परिरहेको छ । नेपालका तर्फबाट सुख्खा बन्दरगाहका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने काम भइसकेको छ । तर बन्दरगाह निमार्णको काम लामो समयदेखि अलपत्र पर्दै आएको छ ।

बन्दरगाह निर्माणस्थलदेखि नेपालगन्जको चौलिकासम्मको २७ सय मिटर पहुँच मार्ग पनि नेपाल सरकारले निर्माण गरिसकेको छ । अन्य भौतिक संरचना निर्माणमा भारतीय सरकारले लगानी गर्नुपर्ने हो । तर भारतीय पक्षले चासो नदेखाउँदा निर्माणले गति लिन नसकेको नेपालगन्जस्थित संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयका इन्जिनियर होमनाथ भुसालले बताए ।

उनका अनुसार पछिल्लो पटक भारतले सीमावर्ती जयसपुर क्षेत्रमा काँडे तारबार लगाएको छ । भारतले दशगजासँगै जोडेर आफ्नो क्षेत्रमा तारबार गरेको हो । ‘भारतले आफ्नो क्षेत्रमा तारबार र पर्खाल बनाएको त देखिन्छ,’ इन्जिनियर होमनाथ भुसालले भने, ‘भारतले तारबार गरे पनि बन्दरगाहको काम लक्ष्यअनुसार अघि बढ्न सकेको छैन ।’

इन्जिनियर भुसालका अनुसार पहुँच मार्ग निर्माणको काम पुरा भएको छ  । ‘हामीले पहुँच मार्ग निर्माणको काम पुरा गरिसकेका छौं, बाँकी काम भारत सरकारले गर्नेछ,’ उनले भने, ‘यो आर्थिक बर्षमा कुनै पनि काम भएको छैन ।’ पछिल्लो पटक भारतीय अधिकारीले काम पुरा गर्न टेण्डरको प्रक्रियामा रहेको जानकारी पाएको इन्जिनियर भुसालले बताए ।

भारतीय लगानीमा निर्माण भइरहेका कारण लागत र पूर्ण डिजाइनबारे नेपालका अधिकारीहरु अनभिज्ञ छन् । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बन्दरगाह निर्माणमा भारतीय पक्षले सोचेअनुसार काम नभएको बताए । ‘भारतले काम गरेजस्तो गर्ने तर काम भएको छैन,’ उनले भने, ‘सुख्खा बन्दरगाह अलपत्र पर्दै आएको छ ।’

उनले भारतमा निर्वाचन सकिसकेकाले छिट्टै काम सुरु हुने विश्वास व्यक्त गर्दै भने, ‘निर्वाचनका कारण काममा ढिलाई भएको हुनसक्छ, अब छिटो काम हुने आशा गरेका छौं । मन्त्रालयबाट नै छिटो काम अगाडि बढाउन पहल आवश्यक देखिएको छ ।’ केन्द्रीय सदस्य श्रेष्ठले यस विषयमा बारम्बार छलफल भइरहेको बताए ।

उनले नेपालगन्जमा एकीकृत जाँच चौकी निर्माणमा भइरहेको ढिलाई भएकोमा मन्त्रालय तहबाटै पहल गर्नुपर्नेमा जोड दिए । बन्दरगाह निर्माणसँगै त्यहाँ एकीकृत सुरक्षा पोष्ट (आईसीपी) स्थापना गरिनेछ । निर्माणपछि आधुनिक भन्सारको काम सुरु हुनेछ । बन्दरगाहसम्म रेलवे सेवा विस्तार हुनेछ ।

एकीकृत सुरक्षा पोष्टमा नेपाल–भारतका सुरक्षाकर्मीहरूले संयुक्त जाँच गर्नेछन् । यसले सुरक्षा व्यवस्था चुस्त बनाउनुका साथै सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ । नेपाली तथा भारतीय व्यवसायीहरुले पनि बिनाझन्झट नेपाल तथा भारतबाट विभिन्न समानहरु निर्वाधरुपमा आयात निर्यात गर्न सक्ने जनाइएको छ ।

नयाँ दिल्लीबाट सबैभन्दा नजिक मानिने नेपालको नेपालगन्जमा बन्दरगाह आवश्यक रहेको भन्दै जयसपुरलाई रोजिएको हो । बन्दरगाह सञ्चालन भए आयात सहज हुने र यहाँका जडीबुटी र उत्पादन निकासी गर्न सरल हुने जनाइएको छ । तर बन्दरगाह निर्माणको काम अगाडी बढ्न नसक्दा स्थानीय उद्योगी व्यवसायी चिन्तित भएका छन् ।

बन्दरगाह निर्माणका लागि सरकारले आर्थिक वर्ष २०६५÷०६६ मा ८९ विघा जमिन अधिग्रहण गरेपनि निर्माण कार्यले गति लिन नसकेपछि अधिग्रहण गरिएको जग्गासमेत गौचरणजस्तै बनेको छ । हालसम्म निर्माणको काम सुरु हुने कुनै संकेत नदेखिएकाले अन्तिम समयमा भारतले काम अलपत्र पार्ने हो कि भन्ने चिन्ता सर्वत्र बढ्न थालेको व्यवसायीहरुले जनाएका छन् ।

नेपाल जडिबुटी व्यवसायी संघका केन्द्रिय अध्यक्ष मोहम्मद याकुव अन्सारीले सुख्खा बन्दरगाह निर्माणमा देखिएको अन्यौलता र ढिलाइले जडिबुटी व्यवसायी निकै दुखी भएको जनाउँदै सरकारले छिटो भन्दा छिटो निर्माण गर्न भारतसँग पहल गर्नुपर्ने बताए । उनले सुख्खा बन्दरगाह निर्माणपछि यहाँका व्यवसायीलाई सहज हुने बताए ।

सुख्खा बन्दरगाह परिसरमा भन्सार कार्यालय, सुरक्षा पोष्ट, क्वारेन्टाइन कार्यालयहरु, बैंक काउण्टर, खाद्य प्रविधी लगायत सरोकार राख्ने सरकारी कार्यालय रहने छन् । यसले सामान आयात र निर्यात गर्न व्यापारीलाई सहज हुने नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीले बताए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहीबार १५:२९