सूचनाको शक्ति - The Power Of Information

        

प्रेमीकासँग भेट्न विमान हाइज्याक गर्ने व्यापारीलाई आजीवन जेल सजाय

नयाँ दिल्ली । प्रेमीकासँग भेट्न विमान हाइज्याकको नाटक गर्ने एक भारतीय व्यापारीलाई आजीवन जेल सजाय सुनाइएको छ । उनलाई ५ करोड भारतीय रुपैयाँसमेत जरिवाना गरिएको छ । व्यापारी बिर्जु सल्लाले सन् २०१७ मा दिल्लीदेखि मुम्बई उड्ने जेट एयरवेजको विमानमा विमान हाइज्याक भएको पत्र लेखेर छाडेका थिए ।

विमान अपहरण भएको भनेर लेखिएको नक्कली पत्र विमानको शौचालयमा राखिएको थियो । पत्रमा बिमानलाई १२ जना अपहरणकारीले नियन्त्रणमा लिएको साथै विमानभित्र बिस्फोटक पदार्थहरु भएको बताइएको थियो । साथै विमानलाई पाकिस्तानको नियन्त्रणमा रहेको कास्मिरमा रोक्न भनिएको थियो ।

बिर्जुले आफ्नो कार्यालयबाट निस्कन अगाडि आफूले नक्कली पत्र विमानमा छाड्न लागेको त्यहाँ कार्यरत कर्मचारीलाई सुनाएका थिए । यसैको आधारमा उनी पक्राउ परेका थिए । जब विमानभित्र त्यहाँका कर्मचारीले चेतावनीपूर्ण भाषाको पत्र देखे । उनीहरुले अहेमदावादमा विमान आपतकालिन अवतरण गराएका थिए । विमानको अवतरणसँगै बिर्जु पक्राउ परेका थिए ।

हालै बिर्जुलाई आजीवन जेल सजायको फैसला सुनाइएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार त्यसबेला बिर्जुका प्रेमीका जेट एयरवेजकै एयर होस्टेस थिइन् । बिर्जु जुन विमानमा चढेका थिए सोही विमानमा ती महिलाले काम गर्थिन् । बिर्जुका अनुसार उनले आफ्नी प्रेमीकासँग सँगै बस्न पाउने उदेश्यले विमानमा नक्कली पत्र राखिदिएका थिए ।

बिर्जुसँग प्रेमीका सँगै बस्न मानिरहेकी थिइनन् । बिर्जुका अनुसार यस घटनापछि प्रेमीकाले विमानको जागिर गुमाउने छिन् । त्यसपछि उनी आफूसँग बस्न राजी हुनेछिन् । अनुसन्धानमा बिर्जुले साँच्चै विमान अपहरण गर्ने योजना नबनाएको बताइएको छ । यद्यपी भारतको कानुन अनुसार विमान अपहरण गर्नेलाई कडा सजायको व्यवस्था छ ।

घटना सामान्य छ भने उसले अजीवन लेज सजाय पाउँछ । गम्भीर भए मृत्युदण्ड पाउँछ । बिर्जुबाट ५ करोड रुपैयाँ जरिवाना लिइएको छ । सन् २०१७ का बेला उक्त विमानमा सवार सबैलाई क्षतिपूर्ती स्वरुप पैसा बाँडिने बताइएको छ । एजेन्सी

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहीबार १४:४७