चितवन जिप सफारीको यो फोटो प्रतीकात्मक रुपमा राखिएको हो । साभार : मेघौली सेराइ
अनुज घिमिरे
संरक्षण विज्ञान संकटको विषय हो : माइकल सुले ।
संरक्षणको कुरा गर्दा रक्षा र संरक्षणको भिन्नताबारे कुरा गर्न जरुरी हुन्छ । संरक्षण एउटा योजनाबद्ध रुपमा एउटा कुनै प्रजातिको हकका लागि गरिने प्रबर्धनको नीति हो । कुनै पनि प्रजाति संरक्षण गर्न त्यसको पारिस्थिति, निवास, खानपान, व्यवहार र जैविक प्रणाली बुझ्न जरुरत हुन्छ । कट्टर संरक्षणले जंगलका प्रजातिलाई चोरी सिकारीबाट बचाउँछ, तर दीर्घरुपमा त्यो प्रभावकारी नहुन सक्छ । प्रजातिको अनुसन्धान र संरक्षण सँगसँगै जानुपर्छ ।
संरक्षणमा मात्र जोड दिने तर अध्ययन र अनुसन्धानलाई कायम नराख्नाले संरक्षणमा सहयोग पुर्याउँदैन । कुनै जनावरको संख्या कति छ, त्यसको सिकार वा आहार कति छन्, यी सबैको अध्ययन नभइ कुनै प्रजातिमात्र बचाउँछु भनेर हुँदैन । काठमाडौं वरिपरि जङ्गल धेरै छ तर किन चितुवा शहर छिर्छ र कुकुरको सिकार गर्छ ? जङ्गल भएरमात्र नहुने रहेछ किनकि चितुवाले घाँस खान्न । खाने भनेको मृग, हरिण वा बँदेल नै हो ।
शिवपुरीकै कुरा गर्दा धेरैजसो अध्ययनले चितुवाको प्रमुख आहार रतुवा मृग, न्याउरी मुसा, पहरे र रातो बाँदर तथा केही मात्रामा बँदेल भएको देखाउँछ । अब प्रश्न उठ्छ काठमाडौं किन छिर्छन् त चितुवा ? उत्तर हो, आहारको खोजीमा । जङ्गल त छ तर आहार कति छ ? केही तथ्याङ्क छ हामीसँग ? संरक्षणका नाममा टन्नै पैसा आउने बाघको केही वर्षको अन्तरालमा गणना भइरहेको देखिन्छ ।
तर, चितुवाको गणना सरकार वा अरु कुनै सरोकारको निकायले गरेको छ त ? कि चितुवा संरक्षणको विषयमा नै पर्दैन ? या चितुवाको जरुरत नै छैन ? अर्कातिर, काठमाडौं पसेको धेरैजस्तो चितुवाको भाग्य के हुन्छ ? डार्ट गनको सिकार वा पिस्तोलको ? त्यतिखेर कहाँ जान्छ संरक्षणको सिद्धान्त ? एउटा कोही अनुसन्धानकर्ता एउटा कुनै प्रजातिबारे खोज गर्छु भनेर जाँदा निकुञ्जका कर्मचारीलाई अनुमति दिनकै लागि पनि दाँतबाट पसिना निस्किन्छ ।
अझ, त्यो विद्यार्थीले चोरी सिकारी गर्न लागेको त होइन जस्तो सोचिन्छ । शिवपुरीमै छिर्नका लागि रकम उठाइन्छ, बाइकको बेग्लै र मान्छेको बेग्लै । के उठाइने त्यही पैसाको सानो हिस्सा त्यहीँ रहेका जनावरको अध्ययनमा लगाउन सकिन्न ? स्नातक गरिरहेका विद्यार्थीलाई अनुसन्धानका छुट्याउन सकिन्नँ ? यसो गर्दा एउटा त आफूसँग गहकिलो तथ्याङ्क हुने भयो भने अर्कोतिर विद्यार्थीलाई अनुसन्धानका लागि आर्थिक सहयोग मिल्ने र सिक्ने अवसर जुट्ने भयो ।
प्राणीशास्त्रका विषयमा अझै धेरै हुन बाँकी छ, नेपालमा । अनुसन्धानका अनुसार भाले चितुवाको गृह दायरा १७ देखि ७६ वर्गकिलोमिटरको हुन्छ । पोथीको भने ७ देखि १७ वर्ग्किलोमिटरसम्मको । थोरै प्राथमिक उत्पादकत्व भएको ठाउँमा भने भाले र पोथी दुवैको गृह दायरा बराबरजस्तो नै रहेको पाइन्छ । चितुवा आफैँमा एक्लै बस्न रुचाउने प्रजातिमा पर्छ जो आफ्नो गृह दायराभित्र अरुको प्रवेशलाई रुचाउँदैन र आक्रमक बन्छ ।
अब सोचौं, शिवपुरीको त्यो १५९ वर्गकिलोमिटरभित्र कतिवटा चितुवा छन्? पहिलो त तथ्याङ्क नै छैन । भएको खण्डमा, धेरै छन् भने के त्यो १५९ वर्गकिलोमिटरले कतिवटा चितुवा धान्न सक्छ ? शिवपुरीमै ध्वाँसे चितुवा पनि पाइन्छ । आफ्नै प्रजातिबीचको प्रतिस्पर्धामात्र नभएर खान र बस्न दुवैका लागि अन्तर प्रजातीय प्रतिस्पर्धा पनि भइरहेको हुन्छ त्यहाँ । यतिले मात्र चितुवा काठमाडौं शहर छिरेको भने होइन । यसो हुनुमा धेरै कुराले असर गरिरहेको हुनसक्छ ।
ती चितुवाले खाने आहार कति छन् ? भएका आहारलाई केले असर पारेको छ ? वा तिनको अवस्था कस्तो छ ? यति बुझ्न प्राणीशास्त्र पढ्नै पर्दैन, विशेष गरी जङ्गली जनावर मानिसबाट टाढै बस्छन् । पहिलेपहिले त चाबहिलमै स्याल कराएको सुनिन्थ्यो । बुढानिलकन्ठतिर पनि केही वर्ष अगाडिसम्म नि सुनिन्थ्यो । तर अहिले बिस्तारै किन स्याल हराउँदै गयो त ? किनकि बिस्तार भएको मानव बस्तीले तिनलाई जङ्गलतिर धकेल्दै लग्यो ।
साथीहरुबाट अक्सर आउने एउटा प्रश्न हो, ‘राष्ट्रिय निकुञ्ज भन्छन् तर जहिले गयो कुनै जनावर देखिन्नँ । किन हो त्यस्तो ?’ जनावरहरु खासै हल्लाखल्ला रुचाउँदैनन् र त्यस्तो क्षेत्रमा बस्न पनि मन पराउँदैनन् । शिवपुरीमा बाँदरबाहेक आक्कलझुक्कल रतुवा देख्न पाइनुको कारण त्यही हो । तपाईँले देख्नु भएको छ भने याद गर्नु भएको होला, तपाईंलाई देख्न नपाई ती जनावर आँफै भाग्छन् ।
धेरै अनुसन्धानले देखाउँछ, धेरैजसो जनावर हल्लाखल्ला नजिक बस्न रुचाउँदैनन् । एक त सानो ठाउँको निकुञ्ज, त्यसमाथि कुन जनावरको सङ्ख्या कति छ अनुमान समेत छैन । अब भन्नुस्, उपत्यकासँगै जोडिएको यस्तो निकुञ्जमा जीप सफारी थप्न कति उचित हुन्छ ? पहिलो कुरो, त्यहाँ जीप सफारी सुरु गरे पनि जनावर देखिन्नँ । अहिले कमसेकम शान्त हुँदा जति भूभाग वन्यजन्तुले उपयोग गर्छन् त्यो पनि मासिँदै जान्छ ।
यो कस्तो संरक्षणको विधि हो ? यसरी चलाइने सफारीले वातावरणलाई पार्ने असरको कुराको त अर्कै लेख तयार हुन्छ । सफारी चलाउनुले चाहिँ जनावरको बासस्थान खुम्च्याउनुबाहेक केही गर्दैन । र, चितुवाजस्तो जनावरको अहारलाई असर गर्न गएको खन्डमा चितुवा सजिलो आहारा जस्तै कि कुकुर र खसीबाख्रा खोज्दै उपत्यका पस्ने प्रवृत्ति झनै बढ्छ । एउटा स्याङ्चुरीको रुपमा विकास गर्नु त कहाँ, उल्टै गाडी छिराएर हल्लाखल्ला बढाउनाले संरक्षणमा सहयोग पुग्छ भन्ने तर्क हाँस्यास्पदमात्र हो ।
फेरि दोर्होयाउँ, कुनै पनि जनावरको संरक्षणका लागि त्यसको बारेमा जान्न जरुरी छ, त्यसको खानपान, बासस्थान आदि । पर्खाल नै लगाएर बाहिरबाट रक्षा गरेरमात्र जनावरको संरक्षण हुन सक्दैन । शिवपुरीमै पनि सुरक्षा व्यवस्था त कडा नै छ । तर, के थाहा त्यहाँ तीन चारवटामात्रै चितुवा पो बाँकी छन् कि । आहार नपाएर त्यहाँबाट पलायन नै पो भइसके कि ? कसैले चोरी सिकारी गरेरमात्र जनावर सकिने होइन । रोगले सकिएलान्, भोकले सकिएलान्, गृह दायरा सानो भएर एक अर्कासँग भिडेर सकिएलान् ।
त्यतातिर ध्यान पुर्याउनु नै पहिलो काम हुनुपर्छ । अनुसन्धानका लागि आफूसँग जनशक्तिको स्रोत छैन भने इच्छुक विद्यार्थीलाई सहयोग गरेर त्यतातिर लगाउन सकिन्छ । यसरी सम्भावना भएको तरिका अपनाएर अनुसन्धान गर्न गाह्रो मान्ने अनि जनावरलाई असर पार्ने सफारी चाहिँ चलाउने संरक्षणको मोडालिटीलाई उदेकलाग्दो नै भन्नुपर्छ । अहिले नै केही नहुँदा फोहोरको डुङ्गुर हेर्नुस् । यसलाई त व्यवस्थापन गर्न सकिएको छैन भने थपिने प्रदुषणले के होला ?
जनावरले प्लास्टिक खाँदा वा प्लास्टिक यसरी वातावरणमा रहनुले कति असर गर्छ भन्ने फेरि अर्को लेखको विषय हो । सफारी र होहल्ला बढ्नेखालको कार्यक्रम संचालन गर्ने र यस्ता कुराको व्यवस्थापन नगर्दा कमाउने धुन सवार भएकाहरुको मात्र संरक्षण हुने हो । अनुत्तरित प्रश्न हो, संरक्षणलाई मध्यनजर गरेर जीप सफारी ल्याउन खोजिएको हो कि आम्दानीका लागि मात्रै ? निकुञ्जकै कुरा गर्ने भए, गोसाइकुण्डमा बन्ने भनिएको केबलकारको कुरा पनि उस्तैखाले छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार राष्ट्रिय निकुञ्जभित्र कुनै पनि मानव निर्मित संरचना बनाउन पाइन्नँ । जुन कुरा ढलान गर्ने वा कालोपत्रे सडक बनाउने सन्दर्भमा पनि लागू हुन्छ । यसका लागि हुलाकी राजमार्ग बनाउने बिषयमा सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जको बारेमा २०७५ को फागुनमा दिएको फैसला हेरे पनि हुन्छ । अब केबलकार जस्तो कुरा हिमाली भेगमा रहेको राष्ट्रिय निकुञ्जमा बनाउन कति उपयुक्त हुन्छ ?
हिमाली भूसंरचना आफैमा कमजोर हुन्छ । त्यस्तो ठाउँमा गएर जङ्गल फडानीमात्र नभएर जनावरको बासस्थानलाई नै असर पार्ने काम गर्न अनुमति दिनु संरक्षण हो ? जुन ठाउँमा हिउँ चितुवा, हाब्रे, कस्तुरी मृग, ध्वाँसे चितुवाजस्ता लोपोन्मुख र अरु असुरक्षित तथा संरक्षणको आवश्यकता भएका जनावर पाइन्छ, तिनको बासस्थान मिचेर कस्तो संरक्षण हुन्छ ? केही अरु दिगो उपाय सोच्न सकिन्न र ?
अहिले केबलकार छैन र सानासाना टि हाउसहरु छन् गोसाइकुण्डमा । केबलकारपछि रिसोर्ट बन्लान्, पसलहरु थपिएलान्, त्यो हुनु आर्थिकरुपमा सहि लाग्ला धेरैलाई । तर, गोसाइकुण्डजस्तो ठाउँ धार्मिकमात्र नभएर ट्रेकिङका हिसाबले पनि प्रख्यात ठाउँ हो । प्रख्यात हुनुको कारण त्यसको सुन्दरता, ग्रामिणपन, त्यहाँको हावा र पानी नै हो । ती सबै मास्ने भए के अर्थ ? ठीकै छ, तर्क होला, सबैलाई जान सजिलो बनाउन नि पर्छ । तर कति मानिस होलान् जसलाई हिँडेर जान गाह्रो पर्ला ?
थोरै लगानी र वातावरणलाई असर नपर्ने अरु केही उपाय लाउन सकिन्न? हेलिकप्टर मै लगेर किन नहोस् ? महँगो हुन्छ भन्ने पनि होला । केबुलकारसँगै बन्ने रिसोर्टले खान बस्नकै शुल्क कम लिने छैनन् । धुन्चेसम्म जाने भाडा पनि बढ्न सक्छ । धुन्चेको होटेलको भाउ पनि बढ्ला । र, अन्तिममा हेलिकप्टर चढेर जाँदा लाग्ने खर्चकै नजिक पुगिहाल्छ भने किन त्यस्तो संरचना बनाउन जोड दिने ? त्यत्रो जङ्गल मासेर, जनावरको बासस्थान मिचिने गरी, पूरै वातावरण र जैविक विविधतालाई मास्न जरुरी छ ? फेरी पनि प्रश्न दोहोर्याउँ, यो कस्तो संरक्षण हो ?
आफूलाई जनावरहरु मन पर्ने र जहाँ जाँदा नि जनावरहरु हेर्दै फोटो खिच्दै जाने बानी छ । गोसाइकुण्ड १३ चोटि पुगेकै अनुभवमा कहाँकहाँ कुनकुन जनावरको बासस्थान छ र तिनीहरुलाई कसरी असर गर्छ भन्ने प्रारम्भिक पर्यावरणीय प्रभाव मूल्यांकन गर्नसक्छु । र, भन्न सक्छु कि यो प्रोजेक्टले कुनै पनि हालतमा दिगो रुपमा संरक्षणलाई मद्धत गर्दैन । संरक्षण आफैँमा गाह्रो कुरा हो । यसलाई उपयुक्त वैज्ञानिक प्रविधिको प्रयोगले बलियो बनाउने कि संरक्षणकै नाममा कमजोर ? प्रश्नको उत्तर नखोजी चालिने कदम निश्चय पनि प्रत्युत्पादक नै हुनेछ । (लेखक अमेरिकाको नर्थ डाकोटा विश्वविद्यालयमा ‘इभोलुस्नरी इकोलोजी’ बिषयमा पिएचडी गर्दैछन् ।)
#पहिलोपोस्ट
अनुज घिमिरे - ।