सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा चर्को गर्मी, विद्युत अनियमितता झन् बढ्दै, बिरामीले भरिए अस्पताल

बाँके । नेपालगन्जबासीले तातो हावा र चर्को गर्मी झेलिरहेका छन् । घरभित्र पनि आराम बस्न सक्ने अवस्था छैन । विद्युत अनियमितता उस्तै छ । चर्को गर्मीमा विद्युतमात्रै नियमित भइदिने हो भने धेरै राहत हुन्थ्यो । विद्युत नियमितताका पहल पनि भैरहेका हुन्छ । तर, चर्को गर्मीका बेला विद्युत अनियमितता झन् बढ्दै जान्छ । प्रत्येक बर्ष गर्मीमा हुने अनियमितताको समस्या यसबर्ष पनि समाधान भएको छैन ।

कहीकतै मर्मत गर्नुपरे नेपालगन्ज वितरण केन्द्रले विद्युत अनियमित हुने समयको जानकारी दिन्छ । तर, त्यसबाहेक हुने अनियमितताको सूचना प्राधिकरणले दिने गरेको छैन । ‘विद्युत किन अनियमित भएको हो भन्ने जानकारी पाउन सकिँदैन’, नेपालगन्ज–५ की सुमित्रा भट्टराई भन्छिन्, ‘गर्मीमा प्राधिकरणले थप पीडा दिन्छ ।’ दिनभर चर्को गर्मी सहने नेपालगन्जबासी रातीको समयमा अनियमित विद्युतका कारण राम्रोसँग निदाउन सक्ने अवस्था छैन ।

‘दिनभर गर्मीमा काम गर्छौ, विद्युत गइरहँदा राम्रोसँग सुत्नसमेत पाइएको छैन,’ अटोरिक्सा चालक दिनेश काँदु भन्छन् । एक घण्टामा दुई÷तीन पटकसम्म विद्युत काटिने गरेको रुस्तम अली बताउँछन् । ‘कम्तिमा लोडसेडिङको जानकारी भए त्यसैअनुसार योजना बनाउन सकिन्थ्यो,’ उनी भन्छन् । पूर्वसूचना विना हुने विद्युत अनियमितताले मेशिनरी औजारमा पनि क्षति पुग्ने गरेको उद्योगी, व्यवसायी बताउँछन् ।

‘चलिरहेको मेसिन एक्कासी पटकपटक बन्द हुँदा बिग्रने सम्भावना बढ्छ’, नेपालगन्ज–१८ का दिपेश आचार्य भन्छन् । लोडसेटिङ्गको विकल्पमा जेनेरेटर र इन्टभर जडान गरिए पनि लामो समय विद्युत अवरुद्ध हुँद ती उपकरणले धान्न सक्ने अवस्था हुँदैन भने अर्कोतिर लागतसमेत बढ्न जाने आचार्य बताउँछन् । विद्युत अनियमितताले होटल व्यवसायीको पनि लागत बढ्दै गएको हो ।

जेनेरेटको प्रयोग गर्दा आउने लागतका कारण अनावश्यक नोक्सानी व्यहोर्नुपरिरहेको होटल व्यवसायीहरुको भनाइ छ । नेपालगन्जका लागि भारत र नेपाल दुवै तर्फबाट विद्युत आपूर्ति हुने गरेको छ । गर्मीमा नेपालगन्जमा २४ एमभीएसम्मको विद्युत माग हुने गरेको छ । जसमा १२ एमभीएसम्मको विद्युत भारतबाट प्राप्त हुने गरेको छ । ह्वात्तै बढ्ने माग र आपूर्तिको कमीले विद्युत अनियमित हुने गर्छ ।

बर्षा नहुँदासम्म यहाँको तापक्रम घट्ने सम्भावना देखिँदैन । विद्युत नियमित नहुँदा उखरमाउलो गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । दिनहुँ घण्टौंसम्म बिजुली हुँदैन । लोडसेडिङ अन्त्य भएको भनिए पनि दैनिक तीन चार घण्टा बत्ती गइरहेको छ । औसतमा यहाँको तापक्रम ४२ डिग्री सेल्सियस आसपास नै हुन्छ । छिटफुट पानी परे पनि वर्षा भएको छैन, स्थानीयबासी गर्मीले आक्रान्त छन् ।

गर्मी बढेसँगै खरबुजा, काँक्रा, उखुको रस, लस्सीलगायतका पेयपदार्थको व्यापार फस्टाएको छ । गर्मीका कारण आवश्यक कामबाहेक मध्य दिउँसो सडकमा मानिसको चहलपहल पातलिएको छ । बाहिर हिँड्दा गर्मी र त्यसमा पनि ‘लु’ चल्ने भएपछि सडकमा मानिसको आवतजावत कम भएको छ । दैनिक मजदुरी गरेर खानेहरुका लागि गर्मीयाम निकै कष्टकर बन्न पुगेको छ । प्रायःजसो युवायुवती गर्मी छल्न विभिन्न पार्क, हरियाली स्थानमा पुग्ने गरेका छन् ।

यस्तै अस्पताल तथा निजी क्लिनिकमा बिरामीको चाप बढेको छ । अन्य मौसमको तुलनामा गर्मी मौसममा ५० प्रतिशतले बिरामीको संख्या वृद्धि भएको विभिन्न अस्पतालले जनाएका छन् । गर्मीसँगै हावाहुरी र धूलो, सडक पेटी तथा फुटपाथको खाना र फोहोर पानीका कारण बिरामीको सङख्या बढ्दै गएको चिकित्सकले बताएका छन् । गर्मी बढेसँगै बिरामी चाप पनि बढ्दै गएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ ।

भाइरल, झाडापखाला, रुघाखोकी, पिसाब संक्रमण, जलवियोजन लगायतका बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सक प्रकाश गुप्ताले गर्मीसँगै वर्षायाम सुरु हुन लागेकोले सवाधानी नअपनाइए मलेरिया, डेंगुजस्ता रोगले प्रभावित पार्न सक्ने बताए । ओपिडी सेवाको लागि मात्र दैनिक १५० भन्दा बढी बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

बाँकेको भेरी अस्पताल, कोहलपुर मेडिकल कलेज, बैष्णवी, वस्टर्न लगायतका दर्जनबढी अस्पताल तथा निजी क्लिनिकमा पनि बिरामीको चाप उस्तै छ । चिकित्सकका अनुसार बाटो तथा फुटपाथको खाजा नास्ता नखाने, पानी उमालेर अथवा फिल्टर गरेर पिउने, दिसापिसाब गरिसकेपछि सावुन पानीले हात धुने, सफा सुग्घर गर्ने बानीको विकास गरेमा बिरामी हुनबाट जोगिन सकिन्छ ।

नेपालगन्जका अस्पतालमा प्रदेश पाँच, साविक सुदूर र कर्णाली प्रदेशका साथै भारतका विभिन्न स्थानबाट पनि दैनिक विरामी उपचारका लागि आउने गरेका छन् । ‘तीमध्ये अधिकांश भाइरल र टाइफाइडका छन्,’ भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रुपानन्द अधिकारीले भने, ‘भर्ना भएका बिरामीमा पनि आधाभन्दा बढी भाइरल ज्वरो र टाइफाइडकै छन् ।’ उहाँका अनुसार बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासमेत प्रभावित भएका छन् ।

गम्भीर प्रकृतिका बिरामीहरु नभए पनि ओपिडीमा देखाएर घर जाने बिरामीहरुको संख्या धेरै रहेको डा.अधिकारीको भनाई छ । गर्मी बढ्दै जानु र पानी नपरेका कारण बिरामीको चाप बढेको हो । मानिसको चहलपहल बढ्दै जानु, खानपानमा बेवास्ता गर्नु लगायतका कारण बिरामीको चाप बढेको डा.अधिकारीले बताए । गर्मीमा पुरै शरीर ढाक्ने गरी लुगा लगाउन र अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन चिकित्सकहरुको सुझाव छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार १२:४१