सूचनाको शक्ति - The Power Of Information

        

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा मन्त्रालयका उपसचिव पक्राउ

काठमाडौं । प्रहरीले सोमबार १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका यादव थर भएका एक उपसचिव रहेका छन् । महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले १८ वर्षीया एस (नाम परिवर्तन)लाई बारम्बार जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

आफ्नै घरको तेस्रो तल्लाको कोठामा यादवले विदेशतिर छोरीलाई करणी गर्छन् नेपालमा पनि गर्दा केही हुँदैन भन्दै छोरीलाई करणी गर्दै आएको अनुसन्धानको क्रममा देखिन आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए । घरमा कोही नभएको मौकामा यादवले छोरीलाई आमा अहिले आउँदिन भन्दै जबरजस्ती करणी गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विगत चार वर्षदेखि यादवले छोरीलाई डरधम्की देखाई करणी गर्दै आएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । १२ कक्षामा अध्ययनरत आरलाई बाबुले संवेदनशील अंगमा हातले छुने गरेको पाइएको छ । बाबुले छोरीलाई करणी गर्दै आएको कुरा आमाले पनि थाहा पाएकी थिइन् । आमाले पनि उक्त घटना आफ्नै घरभित्रको भन्दै श्रीमानलाई चेतावनी दिँदै लुकाएकी प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।

त्यतिबेला आमाले घटनाबारे सत्यतथ्य लुकाएर राखे पनि गत जेठ १९ गते भने उनै आमा र ती किशोरीले सो घटना बाहिर ल्याएका हुन् । प्रहरीका अनुसार १२ कक्षामा अध्ययनरत किशोरी कलेजमा एक शिक्षकसँग प्रेममा थिइन् । शिक्षककै दबाबको कारण किशोरीले प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो । किशोरीले गत जेठ १९ गते बाबुले आफूलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि यादवलाई घरबाटै सोमबार दिउँसो पक्राउ गरिएको एसएसपी धानुकले पुष्टि गरेका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार १७:३९