सूचनाको शक्ति - The Power Of Information

        

बाघको आक्रमणबाट घाइते दीपबहादुरलाई पञ्चेबाजाले स्वागत !

बाँके । बाघको आक्रमणमा परि घाइते भएका खजुरा गाउँपालिका–३ धौलागिरीका ५० बर्षिय दीपबहादुर श्रीषलाई गाउँलेहरुले पञ्चेबाजाले स्वागत गरेका छन् । बाघसँग लडेर पनि बाँच्न सफल भएको भन्दै घाइते दीपबहादुरको नेपालगन्जमा स्वागत गरिएको हो ।

गत जेठ १३ गते सोमबार साँझ पाटेबाघको आक्रमणमा परेर दीपबहादुर घाइते भएका थिए । उनी केहीबेर बाघसँग लडेको स्थानीय दिलबहादुर श्रीषले बताए । घाइते दीपबहादुरको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको थियो । १४ दिनपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको छ ।

अस्पतालबाट डिस्चार्ज भएपछि दीपबहादुरको स्वागतका लागि गाउँलेहरु पञ्चेबाजासहित अस्पताल पुगेका थिए । अस्पतालको मुल गेटबाटै दीपबहादुरलाई स्वागत गर्दै नेपालगन्जको सुर्खेतरोड हुँदै गणेशमान चोकसम्म पञ्चेबाजासहितको र्‍याली निकालिएको थियो भने गाउँमा नाचगान र भोजभतेरको तयारी भइरहेको दिलबहादुरले बताए ।

नेपालगन्जदेखि करिब ९ किलोमिटर दक्षिण पश्चिममा रहेको किरण नालाको झाडीमा लुकेर बसेको बाघले दीपबहादुरको देब्रे पाखुरा, ढाड र शरीरका विभिन्न भागमा आक्रमण गरी घाइते बनाएको थियो । नालाको झाडीमा माछा मार्न गएका दुई जनालाई जंगली जनावरले आक्रमण गरेको भन्ने जानकारी आएपछि घटना भएको स्थानमा कुकुरसहित पुगेका दीपबहादुरलाई बाघले आक्रमण गरेको थियो ।

आक्रमणपछि आफ्नो हातमा रहेको रडले प्रहार गरी बाघको पञ्जाबाट दीपबहादुर उम्किन सफल हुनुभएको थियो । बाघ फेलापरेको स्थानमा ग्रामीण बस्ती रहेको र नालाको दुबै छेउमा रहेको झाडीमा बर्दिया राष्ट्रिय निकुञ्जबाट गाउँ प्रवेश गरेको हुनसक्ने आंकलन गरिएको छ । आक्रमण गर्ने बाघ भने अहिलेसम्म भेटिएको छैन ।

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार १३:२६