सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी अनुसन्धानले दोषी उम्काउन खोजेको आशंका, लहरो तान्दा पहरो गर्जिने खतरा

भारतीय सेना भर्नामा ठगी गर्ने गिरोह पक्राउ प्रकरण

बाँके । भारतीय सेनामा भर्ना गराइदिने भन्दै करोडौं असुल्ने योजना बनाउने एउटा गिरोहलाई रंगेहात पक्राउ गरेको प्रहरीले त्यसको अनुसन्धानमा सघाउन ‘आव्हान’ गरेको छ । नेपालगन्जस्थित होटल बाटिकाबाट ४५० युवा बीचबाट पक्राउ गरिएका सात जनाविरुद्ध हालसम्म ‘उजुरी नपरेपछि’ प्रहरीलाई अनुसन्धानमा सघाउन ‘आव्हान’ गर्नुपरेको हो ।

‘कोही ठगीमा पर्नुभएको छ भने जिल्ला प्रहरीमा जाहेरी दिनुहुन अनुरोध छ,’ बाँकेका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता प्रकाश सापकोटाले भने, ‘पक्राउ परेका सात जनामध्ये दुईलाई प्रहरी विरुद्ध दुर्व्यवहार र पाँच जनालाई ठगी मुद्दामा अनुसन्धान गरिरहेका छौं ।’ प्रहरीको अनुसन्धान प्रक्रियाप्रति सम्बद्धहरु भने सन्तुष्ट छैनन् ।

पूर्व भारतीय सैनिकहरुको सांगठनिक प्रयासबाट पक्राउ परेका उनीहरुलाई प्रहरीले सजिलै छाड्ने नियत राखेको भन्दै असन्तुष्ट उनीहरु जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेमा लिखित असन्तुष्टि व्यक्त गरेका छन् । प्रहरीको अनुसन्धानमाथि आशंका व्यक्त गर्दै ‘नेपाल भुपु सैनिक सर्च अभियान’ले गम्भीर असन्तुष्टी जनाएको छ ।

‘बाँकेबाट मात्रै १० करोड रुपैयाँ असुल गर्ने योजनामा ठूलो गिरोह सक्रिय भएको हामीलाई आशंका छ,’ पूर्व भारतीय सैनिक स्रोत भन्छ, ‘अन्तर्राष्ट्रिय स्तरमा मुलुकलाई बदनाम गर्ने गरी भएको यति गम्भीर प्रकरणमा बाँके प्रहरीको अनुसन्धान औपचारिक मात्रै देखिएको छ ।’ जेठ २० गते राती स्थानीय एक होटलमा रकम असुली गरिरहेको अवस्थामा उनीहरु रंगेहात पक्राउ परेका थिए ।

भुपु सैनिक सर्च अभियानको टोलीले एउटा होन्डाइ कार, ८४ थान मोवाइल समेत बरामद गरेर प्रहरीलाई बुझाएको जनाएको छ । प्रहरीले हिरासतमा रहेका उनीहरु सबैको नाम गोप्य राख्दै घटनालाई थामथुम पार्न खोजेपछि समितिले पक्राउ परेका भुपु सैनिकहरुको नामसमेत सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्कीका एकबहादुर गुरुङ्ग, पोखराका सुर्यबहादुर थापा, चितवनका रामकाजी पाण्डे, अर्जुन पौडेल, बुटवलका नीरबहादुर थापा छन् ।

घटनासँगै होटलबाट पोखराकी सुजाता पाठक र सिर्जना अधिकारीलाई पनि पक्राउ गरिएको छ । पक्राउ परेका सबैले सैनिक भर्ति केन्द्र खोलेर तालिम सञ्चालन गर्ने गरेको बताइएको छ । ‘यो सिंगो प्रकरणमा प्रहरी भुमिका निकै शंकास्पद छ,’ नेपाल भूपु सैनिक विकास समिति कोहलपुर बाँकेका अध्यक्ष भीमबहादुर रानाले भने, ‘हामीसँग कुनै पनि समन्वय नगरेरै बरामद भएका सामाग्री फिर्ता गर्नेदेखि घरघर पुगेर रकम बुझाउने काम भएको छ ।’

उनले आफ्नो अभियानले पक्राउ परेका दोषीहरुलाई प्रहरीले उन्मुक्ती दिन खोजेको भन्दै संघर्षको चेतावनी दिएका छन् । प्रहरीले मुद्दा कमजोर बनाउन चलखेल गरिरहेको आरोप नेपाल भूपु सैनिक विकास समितिको छ । प्रहरीले ५ दिनदेखि उनीहरुलाई हिरासतमा राखिरहेको छ । उनीहरुलाई अहिलेसम्म मुद्दा चलाइएको छैन । समितिले किटानी जाहेरी दिँदासमेत कारवाहीको दायरामा ल्याउन नसक्नुले आंशका पैदा भएको अध्यक्ष रानाको भनाइ छ ।

भर्ना छनोटमा खटिने विग्रेड कमाण्डरकै संलग्नतामा रकम असुली भइरहेको गम्भीर आरोप समितिले लगाएको छ । प्रहरीले भने अहिलेसम्म पीडित पक्ष सम्पर्कमा नआएकाले उनीहरुले क–कसबाट कति रकम असुलेको भन्ने नखुलेको बताएको छ । अध्यक्ष रानाले भने, ‘प्रहरी भूमिका र गिरोहको धम्कीको त्रासले कोही मुख खोल्न सकिरहेका छैनन् । जिल्ला प्रशासन र प्रहरीमा लिखित उजुरी दिएका छौं, कानुन बमोजिम कारबाही नगरिए आन्दोलन गर्छौ ।’

‘ठुलो माछा फुत्काउने खेल भइरहेको छ,’ अध्यक्ष रानाले भने । उनीहरुले घटनालाई सामान्यरुपमा लिन नहुने चेतावनी पनि दिए । ‘प्रहरीमाथि कुनै दुर्व्यवहार नभएको घटनामा त्यसप्रकारको मुद्दा लगाउने चलखेल भएको सुनिएको छ,’ रानाले भने । गिरोहले नेपालदेखि गोरखपुरसम्मको छनोटको कनेक्सन गर्दै अबैध असुली गरिएको आशंका रानाको छ । नगदसहित ८४ वटा मोबाइल बरामद गरेको प्रहरीले घटनाबारे पत्रकार सम्मेलन गर्ने यसअघिको प्रचलनलाई ‘हतारो’ गरेको छैन ।

‘हामीहरु तत्काल पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गर्न आग्रह गरिरहेका छौं,’ पूर्व सैनिक संगठनका पदाधिकारीहरु भन्छन्, ‘प्रमाणसहित पक्राउ परेकाविरुद्ध ९६ घण्टापछि मात्र अदालतको प्रक्रिया अघि बढाउने कुरामा हामीलाई शंका छ । छनौटका कुनै पनि प्रक्रियामा अवैध असुलीले प्रभाव पार्न सक्नदैन । यति कडा व्यवस्थामा पनि रु.८ लाखसम्म असुली प्रयास भएको देखिन्छ ।’ पूर्व भारतीय सैनिकहरु कारवाहीमा गरिएको ढिलाईप्रति आक्रोशित छन् ।

उनीहरु भन्छन्, ‘यस्तै अवस्था रह्यो भने बोल्ने होइन आन्दोलनमै उत्रन बाध्य हुनेछौं ।’ भारतीय सेनाले घटनाबारे आफ्नै ढंगले अनुसन्धान गरिरहेको र पक्राउ परेका पाँच जनाको पेन्सन रोक्नेसम्मको कारवाही हुने सम्बद्ध स्रोतले जनाएको छ । ‘लिखित परीक्षामा प्रश्नपत्र आउट गर्दा एक लाखदेखि ५ लाख रुपैयाँ असुली गरिएको जानकारी आएको छ,’ अध्यक्ष रानाले भने, ‘सेनाका बहालवालाको संलग्नताविना यति ठुलो गिरोह चल्न सक्दैन ।’

उनले भने, ‘यो घटनामा भारतीय सेनाका बहालवाला ठूलै अधिकृतसम्मको सहभागिताको आशंका हामीले गरेका छौं ।’ साविक मध्य तथा सुदूर पश्चिम विकास क्षेत्रका २४ जिल्लाबाट युवाहरु भर्नाका लागि नेपालगन्ज आएका थिए । यो भर्ना छनोटमा ३७० जना कोटा छ । जसमा शारिरीक र लिखित परीक्षामा ४४७ जना छनोट भइसकेका छन् । छनोट भएकाहरु भारतको गोरखपुरमा हुने मेडिकल जाँचका लागि जानेछन् ।

दुई महिलासहित सात जनालाई बाँके प्रहरीले रु.३८ लाख १० हजारसहित पक्राउ गरेको थियो । गत सोमबारको उक्त घटनाबारे बाँके प्रहरीले अहिले पनि अनुसन्धान चलिरहेकै बताएको छ । पक्राउ गर्न जाँदा जाइलाग्ने दुई जनालाई दुर्व्यवहारविरुद्ध मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको बाँके प्रहरीले बाँकीलाई भने ठगीमा अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार, दुर्व्यवहार गर्ने दुई जनाको कोठामा रकम फेला परेको थिएन ।

सम्बद्ध स्रोतका अनुसार, भारतीय उच्च सैनिक अधिकारीको संलग्नता आशंका गरिएको यस घटनामा पक्राउ परेकाहरुलाई थप कारवाही गर्दा लहरो तान्दा पहरो गर्जिने खतरा छ । भारतीय सेनाका फष्ट नाइन गोर्खा राइफल्सका रामकाजी पाण्डेको नेतृत्वमा पछिल्लो अपराधिक प्रकरण भएको दाबी सम्बद्ध स्रोतको छ । पक्राउ पर्नेमा पाण्डेसहित सेभेन एट गोर्खा राइफल्सका एक जना सेकेण्ड फोरका दुई जना लगायत छन् । उनीहरुसँगै रहेका दुई युवती पोखराबाट ल्याइएको र उनीहरुबारे कुनै एकिन विवरण सार्वजनिक नभएको बाँकेका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७६, आइतवार ०७:४६