बाँके । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न सरकारले तदारुकता देखाउनुपर्ने बताएकी छन् । उनले त्यसका लागि प्रधानमन्त्रीसँग कुरा गर्ने पनि बताएकी छन् ।
बुधबार साँझ बाँकेका उद्योगी व्यवसायी, नागरिक समाजका अगुवा, यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद तथा पत्रकारहरुसँगको भेटमा राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरवका आयोजना निर्माणमा विलम्ब गर्दा राष्ट्रकै अर्थतन्त्रमा भार पर्ने हुँदा समयमै सम्पन्न गर्न पहल गर्ने बताइन् ।
सिक्टा सिंचाई आयोजना र भेरी बबई डाइभर्सन परियोजना जस्ता राष्ट्रिय गौरवका आयोजनालाई समयमै सक्न सरकारसँग आग्रह गरिन् । उनले भनिन्, ‘ठूला आयोजना निर्माणमा ढिलाई भए सरकारलाई खबरदारी गर्नुपर्छ । सरकारले जनतासँग गरेका वाचा समयमै पुरा गर्नुपर्छ ।’
पर्यटकीय करिडोरका रुपमा लिइएको जमुनाहा–हिल्सा करिडोर निर्माणको काममा पनि सरकारसँग छलफल निर्माण अघि बढाउन आग्रह गर्ने राष्ट्रपतिले आश्वासन दिइन् । उनले भनिन्, ‘सरकारले जनतालाई आश्वासन मात्रै दिनुहुँदैन । काम पनि गर्नुपर्छ । काम गर्न चाहेमा सरकारले गर्न नसक्ने भन्ने हुँदैन । यसका लागि मैले पहल गर्नेछु ।’
भेटघाटमा सांसद महेश्वर गहतराज अथक, संविधानसभा सदस्य देवराज भार, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठलगायतले यस क्षेत्रका शैक्षिक, पर्यटकीय, औद्योगिक क्षेत्रका विभिन्न समस्याहरुका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
तीन दिनदेखि नेपालगन्जलाई टुरमुकाम बनाएर विभिन्न कार्यक्रममा सहभागी हुनुभएकी राष्ट्रपति भण्डारी अहिले विहान श्री एयरलाइन्सको जहाजमार्फत अहिले विहान ९ः३० मा काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
यसअघि राष्ट्रपति भण्डारी इस्लाम धर्मावलम्बीहरुको ‘इद उलफित्र’मा रोजा इफ्तार कार्यक्रम, बैजनाथ गाउँपालिका–५ स्थित प्रभात माध्यमिक विद्यालयको ५० औं स्वर्ण जयन्ती तथा विश्व वातावरण दिवसका अवसरमा नेपालगन्जमा आयोजित वातावरण संरक्षण तथा जलवायु परिवर्तन विषयक राष्ट्रिय कार्याशाला गोष्ठीमा सहभागी भएकी थिइन् ।
सत्यपाटी - ।