सूचनाको शक्ति - The Power Of Information

        

मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक : राष्ट्रपति

बाँके । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताएकी छन् । उनले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिइन् ।

बाँकेको बैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औं वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकहरुलाई आग्रह गरिन् ।

उनले भनिन्, ‘शैक्षिक लगानीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अवसर प्रदान गर्छ । राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल जनतालाई दिनुपर्छ ।’ राष्ट्रपति भण्डारीले शिक्षालाई व्यवहारिक, जीवनउपयोगी र गुणस्तरीय बनाउन सामुदायिक विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

सामुदायिक विद्यालयलाई बालमैत्री क्षेत्रका रुपमा विकास गर्दै आवश्यक भौतिक पूर्वाधारमा समेत सरकारले लगानी गर्नुपर्नेमा जोड दिइन् । शैक्षिक चेतनाबिना सामाजिक विकृतिलाई चिर्न नसकिने भन्दै उनले सामाजिक विकृति र विसङ्गतिको अन्त्य गर्न पनि गुणस्तरीय शिक्षा जरुरी रहेको बताइन् ।

शिक्षाले मुलुकको एकता र आपसी सद्भावलाई बलियो बनाउने भएकोले बालबालिकालाई गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिइन् । उनले सबै नागरिकले अनिवार्य र आधारभूत शिक्षा पाउनुपर्नेमा जोड दिँदै सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी रोजगारमूलक शिक्षा प्रदान गर्न आवश्यक रहेको बताइन् ।

अर्को एक प्रसंगमा बोल्दै राष्ट्रपति भण्डारीले यस क्षेत्रका राष्ट्रिय गौरवका आयोजनाहरुलाई पूर्णता दिन सरकारलाई सुझाइन् । सिक्टा सिंचाई आयोजना, भेरी बबई डाइभर्सन लगायतका यहाँको राष्ट्रिय गौरवका आयोजना निर्माणमा सरकारले चासो देखाउनुपर्ने बताइन् ।

राष्ट्रिय गौरवका आयोजना सम्पन्न भए यस क्षेत्रको कृषि उत्पादनले फड्को मार्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले कृषिमा आधुकिकीकरण जरुरी रहेको बताइन् । उनले भनिन्, ‘हाम्रो मुलुक कृषिमा आत्मनिर्भर हुनका लागि यस क्षेत्रको भूमिका पनि महत्वपूर्ण छ ।’ यसैबीच, राष्ट्रपति भण्डारीले आजै दिउँसो २ बजे नेपालगन्ज जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय कार्याशाला गोष्ठीको उद्घाटन गर्ने कार्यक्रममा रहेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार १०:४०