बाँके । राष्ट्रपति विद्यादेवी भण्डारीले बिभिन्न धर्म, सम्प्रदाय र आमनागरिकबीच एकता कायम गराउन मुस्लिम समुदायको ‘रोजा इफ्तार’कार्यक्रमले सहयोग पुर्याएको बताइन् । यस पर्वले देशलाई एकताबद्ध बनाउँदै र समृद्धिको दिशामा लैजान नयाँ सन्देश दिएको उनले बताइन् ।
मुस्लिम समुदायको ‘रोजा इफ्तार’ कार्यक्रममा पहिलो पटक राष्ट्र प्रमूख नै सहभागी भएपछि बाँकेका मुस्लिम समुदायले हर्षित भएका छन् । मुस्लिम समाज बाँकेको आयोजनामा भएको रोजा इफ्तार कार्यक्रममा बोल्दै शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले मुस्लिम समुदायको पर्वलाई महत्व दिएर राष्ट्र प्रमुख नेपालगन्ज आएकोमा खुशी व्यक्त गरे ।
उनले भने, ‘यो कार्यक्रमले देशमा सामाजिक सद्भाव र एकता कायम भएको सन्देश पनि दिएको छ ।’ कार्यक्रममा मुस्लिम समुदायको तर्फबाट नेकपाका नेता अब्दुल हुसेन खानले मुस्लिम समुदायका विभिन्न मागहरु समेटिएको अनुरोध पत्र राष्ट्रपतिलाई बुझाएका थिए । कार्यक्रमको अध्यक्षता मुस्लिम समाजका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले गरेका थिए ।
यसैबीच, मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार साँझ सूचना जारी गर्दै भनेको छ, ‘जेठ १० गतेको मन्त्रिपरिषदले मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘ईदुल्ल फित्र’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको र उक्त पर्व जेठ २२ गते पर्ने भएकाले भोलि सार्वजनिक बिदा हुनेछ ।’
सत्यपाटी - ।