सूचनाको शक्ति - The Power Of Information

        

मुस्लिम समुदायको रोजा ‘इफ्तार’मा सहभागी हुन राष्ट्रपति भण्डारी नेपालगन्जमा

बाँके । मुस्लिम समुदायको रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी नेपालगन्ज आइपुगेकी छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अवसरमा गत वैशाख ५ गते पहिलो पटक नेपालगन्ज आएकी भण्डारी पुनः डेढ महिनाको अन्तरालमा दोस्रो पटक उनी नेपालगन्ज आएकी हुन् ।

पहिलो पटक राष्ट्रप्रमुख रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुने भएपछि मुस्लिम समुदाय हर्षित भएका छन् । रमजानमा एक महिनसम्म पानीसमेत नखाएर बसिने रोजा अर्थात् व्रतलाई ५ स्तम्भमध्ये रोजा पनि एक मानिन्छ । रोजा ‘इफ्तार’ अर्थात् खोल्ने समय प्रत्येक दिन फरक रहेको मुस्लिम अगुवाहरू बताउँछन् ।

‘इफ्तार’मा क्षमताअनुसार मुस्लिम समुदायले व्यक्तिगत वा सामूहिक रूपमा बसेर परम्परागत विभिन्न परिकार खाने प्रचलन रहेको मुस्लिम समुदायका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताए । ‘इफ्तार’ कार्यक्रममा राष्ट्रपतिको सहभागिता हुनुलाई उत्साहका रूपमा लिइएको उनको भनाइ छ ।

राष्ट्रपतिको सहभागिताले देशका सबै धर्म, सम्प्रदाय एक रहेको भन्ने सन्देश प्रवाह हुने भन्दै उनले यस्तो सन्देश मुस्लिमको लागि मात्र नभएर सबै धर्मको व्यक्तिका लागि गर्वको कुरा भएको बताए । आज बेलुकी साढे पाँच बजेपछि सिद्धार्थ कटेजमा सुरु हुने इफ्तार कार्यक्रममा राष्ट्रपति भण्डारी प्रमुख अतिथि रहने र सो कार्यक्रमको सबै तयारी पुरा भएको धर्मगुरु मञ्जरीले बताए ।

‘पहिलो पटक राष्ट्रप्रमुख रोजा इफ्तार कार्यक्रममा सहभागि हुने भएपछि यहाँका नेपाली मुस्लिम समुदाय हर्षित भएका छन्,’ उनले भने, ‘इफ्तार कार्यक्रममा राष्ट्रप्रमुखको सहभागिता हुनुलाई उत्साहकासाथ हेरिएको छ । यसले सबै धर्म सम्प्रदाय एक छ भन्ने सन्देश प्रवाह गर्नेछ ।’

राष्ट्रपति भण्डारीको उपस्थितिमा हुने इफ्तार कार्यक्रममा बिरयानी, सेवई र खजुरका परिकार राखिनेछ । यसबाहेक अन्य फलफूललगायत परिकार पनि हुनेछ । मुख्यरूपमा बिरयानी, सेवई र खजुर इफ्तारमा धेरै प्रयोग हुन्छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार १५:५९