सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा कर संकलन लक्ष्यभन्दा कम, कार्यक्षेत्र घटेपछि लक्ष्य चुक्यो

बाँके । चालु आर्थिक वर्ष २०७५/०७६ मा आन्तरिक राजश्व कार्यालय नेपालगन्जले लक्ष्यसम्म पुग्नका लागि असार मसान्तसम्म रु.८६ करोड ४२ लाख ८९ असुल्नुपर्ने देखिएको छ । गतबर्ष १० जिल्ला कार्यक्षेत्र हुँदा असार मसान्तमा कार्यालयले लक्ष्य प्राप्तिका लागि असुल्नुपर्ने रकम जम्मा रु.५३ करोड १९ लाख ६ हजार मात्र थियो ।

त्यसैले करदाता र कार्यक्षेत्र घटेको आन्तरिक राजश्व कार्यालय नेपालगन्जले लक्ष्य प्राप्त गर्न चुनौति देखिन्छ । साविक मध्य र सुदूरका १० जिल्ला हेर्ने कार्यालयको कार्यक्षेत्र घटेपछि यसपटक लक्ष्य प्राप्त गर्न चुकेको छ । संघीयतापछि बाँके र बर्दियालाई मात्र कार्यक्षेत्र बनाएको कार्यालयले बैशाखसम्म निर्धारित लक्ष्यभन्दा रु.१० करोड कम राजश्व संकलन गरेको हो ।

गतबर्ष बैशाख मसान्तसम्म लक्ष्यभन्दा ७ प्रतिशत बढी कर संकलन भएको थियो । कर्णाली प्रदेशलाई लक्षित गरी सुर्खेतमा राजश्व कार्यालय स्थापना भएपछि नेपालगन्जमा कर संकलन घटेको कार्यालयका सूचना अधिकारी नवराज पराजुलीले जानकारी दिए । विगतमा समग्र निर्धारित लक्ष्यभन्दा बढी कर संकलन गर्ने गरेको कार्यालयले वैशाख मसन्तासम्म निर्धारित लक्ष्यभन्दा रु.१० करोड कम राजश्व संकलन गरेको छ ।

चालु आवको वैशाख मसान्तसम्म रु.२ अर्ब ७५ करोड १३ लाख ५६ हजार लक्ष्य निर्धारण गरेकोमा जम्मा रु.२ अर्ब ६४ करोड ५७ लाख ११ हजार मात्र संकलन गर्न सकेको छ । जुन वैशाख मसान्तसम्मको लक्ष्यको ९६.१६ प्रतिशत मात्रै हो । बैशाखसम्मको लक्ष्य हेर्दा सबैभन्दा कम राजश्व संकलन आयकरमा भएको देखिन्छ । आयकरमा लक्ष्यको ८७.७६ प्रतिशत मात्र राजश्व संकलन भएको छ ।

रु.१ अर्ब १६ करोड ८८ लाख ३२ हजार लक्ष्य रहेको आयकरमा जम्मा रु.१ अर्ब २ करोड ५७ लाख ५३ हजार मात्रै असुली भएको छ । सबैभन्दा बढी करको स्रोत आयकर नै मानिन्छ । आयकर संकलन कम हुँदा लक्ष्य हासिल हुन नसकेको हो । चालु आवदेखि बहाल कर स्थानीय तहले संकलन गर्दैछ । त्यसबाहेक राजश्वले लक्ष्य निर्धारण नगरेपनि यसबर्ष बहाल कर रु.५ करोड १४ लाख ७६ हजार राजश्व गरेको छ ।

त्यस्तै चालु आवमा खारेज गरिए पनि पुरानो स्वास्थ्य कर रु.७७ लाख ७ हजार र ६५ लाख ४४ हजार शिक्षा कर संलकन भएको कार्यालयका सूचना अधिकारी पराजुलीले बताए । कार्यालयका अनुसार, गतबर्ष बैशाख मसान्तसम्म लक्ष्यको ८४ प्रतिशत कर संकलन भएको थियो भने गतबर्षको बैशाखसम्म निर्धारित लक्ष्यको १०७ प्रतिशत कर संकलन भएको थियो ।

गत आव २०७४/०७५ का लागि रु.३ अर्ब ३२ करोड ७७ लाख लक्ष्य निर्धारण गरिएको थियो । राजश्वले गत आवमा रु.३ अर्ब ६७ करोड ३५ लाख ५७ हजार संकलन गर्न सफल भएको थियो । चालु आवमा कार्यालयले लक्ष्यसम्म पुग्नका लागि जेठ र असार मसान्तसम्म रु.८६ करोड ४२ लाख ८९ हजार रुपैयाँ असुल्नुपर्ने देखिन्छ । गतबर्ष १० जिल्ला कार्यक्षेत्र हुँदा असारसम्म कार्यालयले लक्ष्य प्राप्तिका लागि असुल्नुपर्ने रकम जम्मा रु.५३ करोड १९ लाख ६ हजार मात्र थियो ।

यस बर्षको सुरुमा आन्तरिक राजश्व कार्यालय नेपालगन्जलाई रु.४ अर्ब ५७ करोड राजश्व संकलनको लक्ष्य निर्धारण गरिएपनि सुर्खेतमा कर कार्यालय सञ्चालनपछि करदाताको संख्या घटेको थियो । करदाता संख्या घटेपछि निर्धारित लक्ष्यमा संशोधन गरिएको थियो । ‘चालु आवका लागि रु.३ अर्ब ५१ करोड राजश्व संकलनको लक्ष्य छ,’ कार्यालयका सूचना अधिकारी पराजुलीले भने, ‘असार मसान्तसम्म लक्ष्य हासिल गर्न सकिनेमा विश्वस्त छौं ।’

कर अधिकृतहरुका अनुसार कार्यक्षेत्र घट्दा नेपालगन्ज कार्यालयले निर्धारण गरिएको लक्ष्य बढी छ । त्यसैले सुर्खेतले पाएको लक्ष्य जेठ महिनामै प्राप्त गर्ने अवस्था छ, तर नेपालगन्जले आफ्नो लक्ष्य हासिल गर्न सकिरहेको छैन । चालु आवमा आन्तरिक राजश्व कार्यालयमार्फत ६३ हजार ७५० ले कर तिरिरहेका छन् । जसमा सबैभन्दा बढी आयकरमा ३७ हजार २०६, मूल्य अभिवृद्धि करसमेतमा ५ हजार ६८६, अन्तः शुल्कतर्फ ३ हजार २४२ र प्यानमा २६ हजार ५४४ छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार ११:५०