बाँके । मुस्लिम समुदायको महान् पर्व चलिरहेको छ । पाँच स्तम्भमध्ये एउटा महत्वपूर्ण मानिने रोजा अर्थात् ब्रतमा एक महीनासम्म पानीसमेत नखाएर मुस्लिम समुदायका प्रत्येक व्यक्ति रोजा बसिरहेका छन् । पहिलो पटक राष्ट्र प्रमुख रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुने भएपछि मुस्लिम समुदाय हर्षित भएको हो ।
भोली हुने रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी नेपालगन्ज आउँदैछिन् । राष्ट्रपति सहभागी हुने इफ्तार कार्यक्रमको तयारीका लागि नेपालगन्जका मुस्लिम समुदायका व्यक्तिहरु एक महिनादेखि तयारीमा जुटिरहेका छन् । भोली मंगलवार बेलुकी साढे पाँच बजेपछि सिद्धार्थ कटेजमा शुरु हुने इफ्तार कार्यक्रममा राष्ट्रपति भण्डारी प्रमुख अतिथि रहने मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए ।
रोजा ‘इफ्तार’ अर्थात् खोल्ने समय प्रत्येक दिन फरक रहेको मुस्लिम अगुवाहरु बताउँछन् । ‘इफ्तार’मा क्षमताअनुसार मुस्लिम समुदायले व्यक्तिगत वा सामुहिकरुपमा बसेर परम्परागत विभिन्न परिकार खाने प्रचलन रहेको मुस्लिम धर्मगुरु मञ्जरीको भनाई छ । ‘इफ्तार’ कार्यक्रममा राष्ट्रपतिको सहभागिता हुनुलाई उत्साहका रुपमा लिइएको उनको भनाई छ ।
राष्ट्रपतिको सहभागिताले देशका सबै धर्म, सम्प्रदाय एक रहेको भन्ने सन्देश प्रवाह हुने भन्दै उनले यस्तो सन्देश मुस्लिमको लागि मात्र नभएर सबै धर्मका व्यक्तिहरुका लागि गर्वको कुरा भएको बताए । ‘यो मुस्लिम समुदायका लागि खुशीको कुरा त छँदैछ, अन्य धर्म र समुदायका लागि पनि गर्वको कुरा हो,’ मुस्लिम धर्मगुरु मञ्जरीले भने ।
यस्तै महिनाभरि पुग्ने सबई, चना, दाल, खाने तेललगायत सामग्री जोहो गर्न मुस्लिम समुदायलाई भ्याईनभ्याई भएको छ । रमजानमा महिनाभरि रोजा (व्रत) बस्ने गरिन्छ । रोजाको समयमा हाटबजार गर्न समयको अभाव हुने भएकाले अधिकांश मुस्लिम समुदायका व्यक्ति एक महिनालाई पुग्ने घरायसी रासन सामग्री खरिद गर्न बजार पुगेका थिए ।
इस्लामिक महिना सवाण समाप्त भई रमजानको पहिलो चन्द्रमा (चाँद) उदाएको भोलिपल्टबाट रमजान महिना सुरु हुन्छ । इस्लाम धर्मका पाँचवटा आधार स्तम्भ इमान, नवाज, रोजा, जकात, हजमध्ये रोजा तेस्रा नम्बरको हो । रमजान महिनामा प्रत्येक बालिग मुस्लिम महिला तथा पुरुष दुवैले अनिवार्यरुपमा रोजा बस्नुपर्छ ।
रोजा धनी–गरिब सबैमाथि अनिवार्य छ । यसमा कुनै भेदभाव हुँदैन । दिनभरि मजदुरी गर्ने होस् वा काममा व्यस्त रहने, सबैमाथि रोजा उत्तिकै लाजिम (अनिवार्य) गरिएको छ । रोजा (व्रत) बस्नेहरु दिनभर निराहार रहन्छन् र सूर्यास्त भएपछि विभिन्न प्रकारका फलफूलले रोजा खोल्ने गर्छन् ।
रोजा बस्नेहरु शारीरिक सम्भोग, झुटो बोल्ने लगायतबाट टाढै रही पाकसाफ, सफासुग्घर भई दैनिक कम्तीमा पाँच पटक नवाज र विशेष प्रार्थनास्वरुप राती तरावी पढ्ने गर्छन् । सूर्य उदाउनुअघि ‘सेहरी’ खाएर दिनभरि उपवास अर्थात् रोजा बस्ने मुस्लिमहरू सूर्य अस्ताएपछि मात्र खानपिन गर्दछन् ।
सत्यपाटी - ।