सूचनाको शक्ति - The Power Of Information

        

खण्डकाव्यमा नेपाली समाज : ‘भुत भविष्य वर्तमान’

बाँके । साहित्यकार आर.के देवकोटाको पहिलो खण्डकाव्य ‘भुत भविष्य वर्तमान’को शनिबार नेपालगन्जमा विमोचन भएको छ । नेपाली समाजको चरित्रलाई आधार बनाएर तीन खण्डमा विभाजन गरी लेखिएको खण्डकाव्यको पहिलो खण्डमा साग र सिस्नोमा निर्भर रहने नेपाली समाजका बारेमा चर्चा गरिएको छ ।

गिठा र तरुल भ्याकुर गन्जी खुराक खान्थे रे
उद्योग धन्दा डोको र नाम्लो चोयाको बुन्थे रे ।
स्वदेश कै साग स्वदेशकै सिस्नो खाएर बस्थे रे
बुढाको अर्ती सुनेर आगो मुडाको ताप्थे रे ।

विगतमा समाज गिठा, तरुल, भ्याकुर, गन्जी खाएर आत्मनिर्भर बनेको नेपाली समाजले परनिर्भरता नखोजिएको खण्डकाव्यमा समेटिएको छ । चोरी, डकैती, लुटपाट जस्ता विकृतिहरु नभएको र मानिसलाई केवल जंगली जनावरबाट मात्रै डराउनुपर्ने अवस्थाको चित्रण गरिएको छ ।

विगतमा पाप र धर्म सम्झिएर मानिसले व्यवसाय गर्ने गरेको, वेद गीता जस्ता धार्मिक ग्रन्थहरु पढ्ने र त्यसले सही आचरणमा अघि बढ्ने गरेको खण्डकाव्यमा चित्रण गरिएको छ । खण्डकाव्यको दोस्रो खण्डमा मानिसहरुले विज्ञानलाई पछ्याउन थालेकोले विस्तारै आधुनिकतातर्फ अघि बढेकोसँगै सञ्चारले विश्व जगतलाई एकत्रित बनाएर चेतना प्रदान गरेको कुरालाई चित्रण गरिएको छ ।

सञ्चारले जगत एकत्रित पा¥यो केही टाढा भएन
सञ्चारबिना मानव जीवन चयन नै हुँदैन ।
काम गर्न सुलभ छरितो भयो सञ्चारको कारण
आविस्कार भए वैज्ञानिक साधन सजिलो पारन ।

नेपाली समाज पनि आधुनिकतातर्फ अघि बढेको कुरालाई चित्रण गर्दै उर्वर भूमीहरु सडकमा परिणत हुँदै कृषिको उत्पादन ह्रास हुँदै गएको खण्डकाव्यमा जनाइएको छ । काम गर्नेहरु अल्छी हुँदै गएको, सुविधा जति सबै घरभित्रै प्रयोग गरिरहेको, पानीका धारा भान्सामा जोडेर सुविधाभोगी भएका जस्ता कुराहरुलाई खण्डकाव्यमा समेटिएको छ ।

खण्डकाव्यको तेस्रो खण्डमा नागरिकले गास, बास र कपास नपारै भौतारिनुपरेका कुराहरुलाई समेटिएको छ । नागरिकका अधिकारहरु हनन् भएको, चोरी, डकैती, लुटपाट, हत्या हिंसा, बेरोजगारी, बलात्कार जस्ता अपराधिक गतिविधिहरुले प्रश्रय पाइरहेका कुराहरुलाई चित्रण गरिएको छ ।

नदी र खोला मुहानमुल ती सबै सुक्दैछन्
जंगलका काठ, रोडा र ढुंगा भारतमा पुग्दैछन् ।
गास, बास र कपास नपाई जनता रोएर बस्दैछन्
बलिया लुट्ने कमजोरमाथि शासन लाद्दैछन् ।

नेपाल अरुकै क्रिडास्थल बनेको विषयलाई पनि खण्डकाव्यमा समेटिएको छ भने यहाँका खोला नालाहरु बेचिएका, प्राकृतिक स्रोत साधनहरु भारततर्फ तस्करी भइरहेको, बलियाले कमजोरमाथि शासन गरेर जनतालाई निरिह र कमजोर बनाएका जस्ता विषयहरुलाई समेटिएको छ ।

खण्डकाव्यको विमोचनका क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले पहिलेको सभ्य समाज वर्तमान समयमा आएर विकृत भएको र यो खण्डकाव्यले यस्ता विषयहरुलाई वैचारिक आख्यानको रुपमा उठान गरेको बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य हरिप्रसाद तिमिल्सिनाले पुस्तक दस्तावेज भएकोले साहित्यमा कलम चलाउने साहित्यकार तथा कविले आफूले लेख्ने विधामा अध्ययन गर्नुपर्ने बताउँदै यस काव्यले नेपाली समाजको असली चरित्रलाई चित्रण गरेको बताए ।

समालोचक इन्द्रबहादुर भण्डारीले पुस्तकमा केही व्यवस्थापकीय कमजोरी रहे पनि समग्रमा नेपाली समाजका तीन वटा अवस्थालाई चित्रण गरेको बताए । टिप्पणीकार डम्बर पुनले पुस्तकभित्र केही त्रुटीहरु देखिएकाले यसलाई आगामी दिनमा सच्याएर अघि बढ्न सुझाव दिए ।

भेरी साहित्य समाज बाँकेले प्रकाशन गरेको खण्डकाव्यमा प्राविधिक तथा व्यवस्थापकीय त्रुटी रहेको स्वीकार गर्दै समाजका अध्यक्ष रामचन्द आचार्यले आगामी दिनमा यस्ता त्रुटिहरु दोहोरिन नदिने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७६, शनिबार २३:२७