
बाँके । समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले संविधान संशोधन नभए आफूहरु सरकार छोडेर सडक आन्दोलनमा जाने बताएका छन् । पार्टीको प्रादेशिक अभिमुखीकरण कार्यक्रमलाई नेपालगन्जमा सम्बोधन गर्दै अध्यक्षद्वयले विगतको सहमति कार्यान्वयनमा प्रधानमन्त्रीले उदासिनता देखाएको बताए ।
संघीय परिषदका अध्यक्षसमेत रहनुभएका डा.भट्टराईले भने, ‘हाम्रो पहिलो मोर्चा सडक नै भएकाले संविधान संशोधन नभए सडक आन्दोलनको विकल्प नभएको छैन ।’ कम्युनिस्ट र कांग्रेसको विकल्पका रूपमा समाजवादी पार्टी अगाडि बढेको बताउँदै अध्यक्ष डा.भट्टराईले सरकारसँग अहिलेसम्म भएका सम्झौताहरु पालना गर्नुपर्ने बताए ।
त्यस्तै अर्का अध्यक्ष यादवले भने, ‘संविधान संशोधन गर्न प्रधानमन्त्रीले लिखित सम्झौता नै गर्नुभएको छ । तर उहाँ सम्झौता विपरित अघि बढिरहनुभएको छ । हामी अन्तिम पटक उहाँलाई सम्झौता कार्यान्वयन गर्न आग्रह गर्छौ, त्यसो नभए सरकार छाडेर आन्दोलनमा जानुको विकल्प छैन ।’
उपप्रधान तथा स्वास्थ्य मन्त्रीसमेत रहेका अध्यक्ष यादवले संविधान संशोधन नभए जतिबेला पनि सरकार छोडेर आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए । ‘हाम्रो पहिलो मोर्चा सडक, दोस्रो सदन हो । हामी अहिले सरकारको मार्चा छौं, सम्झौता कार्यान्वयन नभए सडक आन्दोलनमा आउँछौं,’ अध्यक्ष यादवले भने
पार्टी एकीकरणपछि पहिलो पटक नेपालगन्जमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्षद्वय डा. भट्टराई र यादवले आफ्नो पार्टी अब देशकै पहिलो शक्ति बन्न दावी गरे । कम्युनिस्ट र कांग्रेसको विकल्पका रूपमा समाजवादी पार्टी अगाडि बढ्ने बताउँदै अध्यक्षद्वयले आगामी निर्वाचनबाट समाजवादी पार्टी पहिलो शक्ति बन्ने दाबी गरे ।
संविधान संशोधनसहितका माग राखेर सरकारलाई अल्टिमेटम दिने र माग पूरा नभए सरकार छाड्ने सहमति भएकोले तत्काल सहमति कार्यान्वय गर्न यादवले माग गरे । अध्यक्षद्वयले संविधान संशोधन बिना गणतन्त्र संस्थागत हुन नसक्ने दावी गर्दै संविधानको पूर्ण कार्यान्वयनका लागि परिमार्जनसहित संशोधन गरी समावेशी बनाउन आवश्यक रहेको बताए ।
आफुहरु सरकारमा रहेपनि संविधान संशोधनको पार्टीगत मुद्दा यथावत रहेको बताउँदै अध्यक्षद्वय डा.भट्टराई र यादवले भने, ‘हामीबीच भएको पार्टी एकताले काँग्रेस र कम्युनिष्टहरु आत्तिएका छन् । काँग्रेसले समाजवादको लौरो हराइसक्यो, कम्युनिष्टहरुले साम्यवादको सिढी विर्सिसके । अबको राष्ट्रिय पार्टीका रुपमा समाजवादी पार्टीको विकल्प छैन ।’
मुलुकमा विभिन्न व्यवस्थाहरु असफल भइसकेको भन्दै उनीहरुले गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन अनिवार्य रहेको बताए । संविधान संशोधन भएन भने जुनसुकै बेला सरकारबाट बाहिरिने चेतावनी दिँदै अहिले पार्टीले देशव्यापी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिरहेकाले पार्टीभित्र छलफल नभएको अध्यक्षद्वयले बताए ।
अभिमुखीकरण कार्यक्रममा पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, उपाध्यक्षद्वय नवराज सुवेदी, पर्शुराम खापुङ्ग, महासचिव गंगानारायण श्रेष्ठ, सचिव एवं सहरी विकास मन्त्री मो.इस्तियाक राई लगायतले संघीयताको जननी तराई मधेस नै भएको दावी गर्दै केही शक्तिहरु संघीयता विघठन गर्ने दिशामा अघि बढेको बताए । कार्यक्रममा प्रदेश नं. ५ का विभिन्न जिल्लाबाट अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
सत्यपाटी - ।