बाँके । लागुऔषध दुर्व्यसनविरुद्ध बाँकेमा क्रियाशिल विभिन्न सात वठा संस्थाले गरेको प्रारम्भीक सर्वेक्षण अनुसार नेपालगन्ज उपमहानगरपालिकामा एक हजार १९७ जना लागुऔषध दुर्व्यसनी रहेका छन् ।
उपमहानगरपालिकाभित्र लागुऔषध प्रयोगकर्ताको वर्तमान अवस्था एकीन गर्न नगरका २३ वटै वडाका जोखिमपूर्ण ४२ वटा स्थान छनौट गरी गरिएको प्रारम्भीक सर्वेक्षण नगर क्षेत्र लागुऔषधको उच्च जोखिममा रहेको जनाएको छ ।
नगर क्षेत्रभित्र रहेका लागुऔषध प्रयोगकर्ताहरुको तथ्यांक प्रमाणीकरण तथा सार्वजनिक परिक्षण बैठकमा आज प्रस्तुत गरिएको प्रारम्भीक सर्वेक्षण अनुसार एक हजार १६३ पुरुष र ३४ जना महिला लागुऔषधको दुर्व्यसनीमा रहेको जनाइएको छ ।
तीमध्ये मुखबाट सेवन गर्ने एक हजार १२५ जना, सुँघेर ६३ जना र सुईको माध्यमबाट लागुऔषध प्रयोग गर्ने ९ जना रहेका छन् । तथ्यांक अनुसार सबैभन्दा धेरै १६ देखि ४९ वर्ष उमेर समुहका एक हजार तीन जना, १२ बर्षमूनिका ६४ जना र ५० देखि ६१ बर्ष उमेर समुहका १३० जना रहेका छन् ।
लागुऔषध प्रयोगकर्ताहरुलाई यसको उपचार हुन्छ भन्ने जानकारी भए पनि हालसम्म २५० जनाले मात्र उपचार लिएको प्रारम्भीक सर्वेक्षणले जनाएको छ । जुन कुन संख्याको २० प्रतिशत मात्रै हो । सर्वेक्षणले नगर क्षेत्रमा लागुऔषध प्रयोगकर्ताको संख्या भयावह देखिएको साहारा हाउस नेपालगन्जका सञ्चालक अभिराज क्षेत्रीले बताए ।
बैठकमा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रामबहादुर चन्दका अनुसार बाँके जिल्लामा पाँच हजार बढी लागुऔषध सेवनकर्ताहरु रहेको अनुमान छ । ‘लागुऔषध प्रयोगकै कारण एचआइभीको जोखिम पनि उच्च रहेको छ,’ उनले भने, ‘एकीन तथ्यांक नहुँदा रणनीति नै तयार गर्न समस्या भइरहेको छ ।’
उनले बाँकेमा पहिलो पटक नेपालगन्ज क्षेत्रमा प्रारम्भीक सर्वेक्षण गरिनु सकारात्मक रहेकोले आगमी दिनमा लागुऔषधविरुद्धका कार्यक्रम तथा रणनीति तयार गर्न सहज हुने विश्वास व्यक्त गरे । बैठकमा लागुऔषध नियन्त्रण व्युरो नेपालगन्जका प्रमूख प्रहरी निरीक्षक बीरबहादुर थापाले प्रारम्भीक तथ्यांकले आगामी दिनमा अनुसन्धानमा टेवा पुर्याउने बताए ।
प्रहरी निरीक्षक थापाले भने, ‘एभिल, डाइजोपाम, लुबिक जेसिकजस्ता सामान्य मूल्यका कारोबार घटेको छ तर ब्राउन सुगर, चरेश, अफिम लगायतको महंगो मुल्यको लागुऔषध प्रयोगकर्ता बढेको छ । लागुऔषध कारोबारका लागि नेपालगन्ज ट्रान्जिट बन्ने खतरा पनि उत्तिकै बढेको छ ।’
उनका अनुसार लागुऔषध नियन्त्रण व्युरोले १० महीनामा हेरोइन ३३९ ग्राम ६९० मिलिग्राम, नाइट्रोभ्याट ४ हजार ४८ ट्याब्लेट, नाइट्रोजेपाम ८५१ ट्याब्लेट, नाइट्रोसन ११२ ट्याब्लेट, स्पासमो १५४ क्याप्सुल, कोरेक्स ५ हजार ३५० मिलिलिटर, ट्रिगन १०० ट्याब्लेट, चरेश ८ किलो ८२० ग्राम, डाइजेपाम ३७ एम्पुल, फेनारगन ३३ एम्पुल र बुर्पिनर्फिन १० एम्पुल बरामद भएको छ ।
लागुऔषध नियन्त्रण व्युरो नेपालगन्जको तथ्यांक अनुसार बाँकेमा चालु आर्थिक बर्षको १० महीनामा प्रतिमहिना औसतमा ३० जनाका दरले लागुऔषध ओसारपसार तथा दुर्व्यसनीमा संलग्न व्यक्तिलाई पक्राउ गरिसकिएको छ । यो अवधीमा २९७ जना पक्राउ परेका छन् भने १९२ वटा मुद्दा दर्ता भएका छन् ।
चालु आवमा पक्राउ पर्नेमा सबैभन्दा धेरै हेरोइनसहित ९४ जना पक्राउ र ६६ वटा मुद्दा, नाइट्रोभ्याटसहित ८७ र ६१ मुद्दा र नाइट्रोजेपामसहित १७ जना पक्राउ र १० वटा मुद्दा परेका छन् । पक्राउ पर्नेमा २० जना भारतीय नागरिक पनि छन् । उमेर समुहअनुसार सबैभन्दा धेरै किशोरकिशोरी पक्राउ परेका छन् ।
यो तथ्यांकले विद्यालय उमेर समुहका किशोरकिशोरी लागुऔषध कारोबारमा संलग्न रहेको देखाउँछ । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको तथ्यांक अनुसार १८ वर्षमूनिका ९ दशमलव ७३ प्रतिशत, १८–२५ वर्षका ५८ दशमलव ४, २५–३५ वर्षका २२ दशमलव १२, ३५–४५ वर्षका ५ दशमलव ३० र ४५ वर्षमाथिका ४ दशमलव ४२ प्रतिशत रहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा लागुऔषधविरुद्ध नेपालगन्जमा क्रियाशिल साहारा हाउस, सामना, नवकिरण, प्रेरणा, नयाँ आशा, प्रयास नेपाल र नवदृष्टि महिला पुनःस्थापना केन्द्रको सहजीकरणमा भएको बैठकको समन्वय जिल्ला प्रहरी कार्यालय बाँके, लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्ज र नमन नेपालले गरेका गरेका छन् ।
सत्यपाटी - ।