सूचनाको शक्ति - The Power Of Information

        

मानव बेचबिखन : फेरियो शैली, बढ्यो जोखिम

बाँके । कुनै समय गाउँगाउँमा गएर अशिक्षित महिला अथवा किशोरीहरुलाई फकाएर बेचबिखनका लागि भारतको मुम्बई लैजाने गरिएका घटनाहरू निकै सुनिन्थे । अहिले त्यसको स्वरुपमा परिवर्तन आएको छ, शैली फेरिएको छ, जोखिम बढेको छ । जसबाट २० प्रतिशतभन्दा बढी महिला मानव बेचबिखनको जोखिममा पर्ने गरेका छन् ।

महिला बेचबिखन पहिलेको भन्दा नयाँ स्वरुपमा विकसित भइरहेको छ । न्यूनीकरणमा चुनौतीहरू थपिएका छन् । महिला बेचबिखन हुने संख्या मात्रै नभइ शैली पनि बढ्न थालेका छन् । सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको संख्या बढेसँगै बेचबिखनमा पर्ने जोखिम पनि बढेको देखिन्छ ।

केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलाहरूमात्रै बेचबिखनका जोखिममा पर्ने गरेका भए पनि पछिल्ला चार/पाँच वर्षयता शहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेको विभिन्न तथ्यांकहरुले देखाइरहेका छन् । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले दुई दशकदेखि विभिन्न कामहरू गर्दै आएका छन् ।

पछिल्लो चार/पाँच वर्षयता खासगरी नेपाली चेलीहरूसँग पाका उमेरका विदेशी पुरुषले विवाह गरेर लैजाने र धेरैजसोमा महिलाहरू पीडामा पर्ने गरेको शक्ति समुहले जनाएको छ । यहाँबाट विवाह गरेर लगे पनि ती महिलाहरूलाई पछि घरमै बन्दीजस्तो बनाएर यातना दिने गरेको भन्दै थुप्रैको उद्धार पनि गरिसकिएको शक्ति समुहको अनुभव छ ।

मानव बेचविखनबाट प्रभावित महिलाहरुद्वारा सञ्चालित ‘शक्ति समुह’ले हालसम्म बेचबिखनमा परेका एक हजार २३४ जना महिला उद्दार तथा पुनःस्थापना गरिसकेको जनाएको छ । नेपालगन्जमा आज पत्रकारहरुसँग अन्तरक्रिया गर्दै शक्ति समुहले उनीहरुलाई विभिन्न सीपमूलक तालिमहरु दिएर स्वरोजगार पनि बनाएको जनाएको छ ।

शक्ति समूहकी परियोजना संयोजक नर्वदा सोराली मगरले मानव बेचविखनका लागि नेपाल ट्रान्जिट बन्दै गएको बताउँदै भनिन्, ‘मानव बेचविखनविरुद्ध काम गरिरहेका संघसंस्थाहरु न्यूनीकरणका लागि प्रयासरत रहेका छन् । तर मानव दलालहरुले फरक शैली अपनाइरहेका छन् । यो चुनौतिपूर्ण छ ।’

बेचबिखनमा आएको परिवर्तित शैलीबारे परियोजना संयोजक सोराली मगरले भनिन्, ‘वैदेशिक रोजगारीका नाममा भनेर लैजाने तर प्रक्रिया नपु¥याइकन लैजाँदा श्रमशोषण, यौनशोषण हुने काममा लगाउने गरेका धेरै घटनाहरु छन् । सञ्जालमार्फत एकले अर्कालाई साथी बनाउने र ती साथीसँग कुरा (च्याट) गरेकै भरमा बेचिन पुग्ने जस्ता जोखिमहरु देखापर्न थालेको छन् ।’

विकसित देशहरूमै पनि स्थायी बसोबास अनुमतिपत्र पाउने नाममा, शरणार्थीका नाममा तथा सेमिनारहरूमा भाग लिन जाने नाममा महिलाहरू बेचिने जोखिम रहेको प्रहरीको अनुभव छ । परियोजना संयोजक सोराली मगरले भनिन्, ‘यसको दायरा चाहिँ फैलिएको छ र सामाजिक सञ्जालमा पनि आमनागरिकको पहुँच भएकोले पनि वैदेशिक रोजगारीको नाममा पनि यो व्यवसाय फस्टाएको देखिन्छ ।’

उनका अनुसार विगतमा अशिक्षित र गाउँका महिलाहरु बेचबिखनमा पर्ने भए पनि अहिले भने शिक्षित र शहरी क्षेत्रकै महिलाहरु पनि विदेश जाने र धेरै कमाउने लोभमा बेचबिखनमा पर्ने घटनाहरु बढेका छन् । आफू जोखिममा पर्दैछु भन्ने थाहा भए पनि वैदेशिक रोजगारीमा जान चाहने शिक्षित महिलाहरुलाई जोगाउन झन् चुनौतीपूर्ण रहेको उनको भनाई छ ।

‘सामाजिक सञ्जालका माध्यमबाट हुने सम्पर्क डरलाग्दो रहेको छ,’ उनले भनिन् । सामाजिक सञ्जालहरुमार्फत दलालहरुसँग सम्पर्क राख्ने, उनीहरुले फोटो पठाइदिनुस् भनेपछि फोटो पठाइदिने, तपाईँको फोटो धेरै लुगा लगाएको भयो अलि कम लुगा लगाएको पठाइदिनुस् भनेपछि त्यस्तै फोटो पठाइदिने र त्यसरी जाने पीडितहरु पनि न्यायका लागि आउने गरेको परियोजना संयोजक सोराली मगरले बताइन् ।

राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा पनि महिलाहरू जानाजान जोखिम मोल्न तयार हुने गरेको शक्ति समूहकी क्षेत्रीय अधिकृत निर्मला पौडेलले बताइन् । उनले मानव बेचबिखनविरुद्ध कुनै एक व्यक्ति वा एक संस्थाले मात्र प्रयास गरेर नहुने बताउँदै समाज, प्रहरी प्रशासन र सञ्चारमाध्यमहरुको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

समाजलाई सचेत गराउन मिडियाको ठूलो भूमिका रहेको भन्दै उनले नेपाल–भारत सीमानाकामा काम गर्दा सञ्चारमाध्यमसँगको सहकार्य जरुरी रहेको र आफूहरुले ठुलो अपेक्षा पनि गरेको बताइन् । उनले बैदेशिक रोजगारबाट फर्किएका महिलाहरुको समुह गठन गरी उनीहरुलाई मानव बेचबिखनविरुद्धको अभियानमा सहभागी गराइरेको बताइन् ।

कार्यक्रममा पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले मानव बेचबिखनविरुद्ध बाँकेका पत्रकारहरुले पहिलेदेखि नै सक्रियरुपमा कलम चलाउँदै आइरहेको बताउँदै आगामी दिनमा पनि यस अभियानमा सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरुको भरपुर सहयोग रहने विश्वास दिलाएका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार १५:३४