सूचनाको शक्ति - The Power Of Information

        

‘लोकतन्त्रको अनुभूति गराउन खुला सरकार’

देवी भण्डारी । दाङ । खुला सरकारले मात्र लोकतन्त्रको अनुभूति गराउने आज घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । खुला सरकार नागरिक साझेदारी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले शासन व्यवस्थामा मेरो पनि सहभागीता छ भन्ने सोच मानिसमा जगाउन सकेमात्र लोकतन्त्र हुने बताएका छन् ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सरकारले गरेको विकास जनअपेक्षित बनाउन लागिपरेको बताउँदै सत्ता विरोधी प्रवृतिले जरा गाढेका कारण अपेक्षित विकास हुन नसकेको बताए । कार्यक्रममा लमही नगरपालिकाका प्रमुख कुलबाहदुर केसीले जनताले हरेक कामको पारदर्शिता चाहेकोले जनप्रतिनिधिले जनताको चाहाना पुरा गर्न लाग्नुपर्ने बताए ।

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जनताप्रति जिम्मेवार भएर लागेको बताउँदै नागरिकमा सचेतना नहुँदासम्म जनप्रतिनिधिले मात्र गरेर केही नहुने भन्दै स्थानीय सरकार आएपछि भ्रष्टाचार सबैभन्दा धेरै उपभोक्ता समितिबाटै बढी हुने गरेको र ठेक्का प्रतिश्पर्धा नगर्दा समस्या भएको औल्याए ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली, दंगिशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जनप्रतिनिधि जनताका शासक नभई सेवक भएको बताउँदै गाउँपालिकामा नै सबै काम व्यवस्थित नहुँदा सूचना दिन समस्या भएको बताए ।

रेडियो स्वर्गद्धारीका समाचार सम्पादक बसुन्धरा गौतम तथा पत्रकार नविन अभिलासीले स्थानीय सरकार आएपछि सूचना पाउन समस्या भएको बताउँदै सूचना मागेर मात्र दिने हो भन्ने सोचको अन्त्य हुनुपर्ने बताए । सार्वजनीक सुनुवाई कार्यक्रम स्थानीय निकायमा अत्यन्त कम हुने गरेको भन्दै चौमासिकरुपमा सार्वजनीक सुनुवाई गर्न सुझाव दिए ।

ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आश्मानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस स्वातन्त्रता सेनानी सुशील गौतम, कृष्ण चौधरी, मुनाल घिमिरे गातकाले बोलेका थिए । नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नविन चौधरीले गरेका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार १५:२०