
बाँके । प्रदेश ५ मा दुई सातामै लागुऔषध ओसारपसारमा संलग्न ५४ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये चार जना महिला रहेको बिहीबार बाँकेको कोहलपुरमा सार्वजनीक गरेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ्गले प्रकाशित गरेको लागुऔषध बुलेटिनमा जनाइएको छ ।
बुलेटिनमा राखिएको तथ्यांक अनुसार जेठ १ देखि १५ गतेसम्म ठूलो परिमाणमा लागुऔषध समेत बरामद भएको छ । तथ्यांक अनुसार ४ हजार ९२७ ग्राम गाँजा, ९ हजार ८५६ दशमलव ७ ग्राम चरेश र ३७ दशमलव ६५० ग्राम हेरोइन बरामद भएको छ ।

त्यस्तै डाइजेपाम २८५ एम्पुल, फेनार्गन ६८५ एम्पुल, नुफिन ६६० एम्पुल, मेथिन ३०० एम्पुल, नाइट्राभेट ५०० ट्याब्लेट, सेरिज्याक ४०० ट्याब्लेट, नाइट्रोसन ४४८ ट्याब्लेट, ट्राइकेर २० ट्याब्लेट, स्पास्मो १० ट्याब्लेट बरामद गरेको छ ।
लागुऔषध बुलेटिनको विमोचनका क्रममा प्रदेश ५ प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डीआइजी) पिताम्बर अधिकारीले खुला सीमाका कारण बाँकेमा लागुऔषधको सेवन र कारोबार बढ्दो अवस्थामा रहेको बताए ।

उनले भने, ‘खुला सिमानका कारण लागुऔषधको प्रयोग तथा ओसारपसारको अवस्था भयाबह छ । सबैको सहकार्य र सहयोगले मात्र यसलाई नियन्त्रण गर्न सम्भव हन्छ ।’ उनले बुलेटिनमा आएको तथ्यांकले यस प्रदेशको अवस्था निकै डरलाग्दो भएको बताए ।
उनले नेपालमा लागुऔषधका कारोबारी हुँदा भारतमा प्रयोगकर्ता भएको र भारतमा कारोबारी भएका लागुऔषधको नेपालमा प्रयोगकर्ता भएकाले दुबै देशका लागि लागुऔषध साझा समस्या भएको बताए । उनले लागुऔषधका लागि संगठित अपराध र हातहतियारको प्रयोग बढिरहेको भन्दै चिन्ता ब्यक्त गरे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले लागुऔषधको दलदलमा चिकित्सकदेखि समाजका सबै वर्ग फसेकाले सचेतनाको खाँचो औल्याए । बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले लागुऔषधविरुद्ध प्रहरीको सक्रियता बढाएको बताउँदै सबैको सहकार्यले मात्र लागुऔषध बिरुद्धको अभियान सफल हुने कुरामा जोड दिए ।
सत्यपाटी - ।