सूचनाको शक्ति - The Power Of Information

        

१५ खर्बमाथिको ‘लोकप्रिय बजेट’ ल्याउँदै सरकार

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि अहिले चार बजे करिब १५ खर्ब ७७ अर्ब रुपैयाँको बजेट ल्याउने भएको छ । राष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेटका लागि सिलिङ परिमार्जन गरेर १५ खर्ब ७७ अर्ब रुपैयाँ पुर्याएकाले यति बराबरको बजेट आउने अनुमान गरिएको हो ।

अहिले ४ बजे प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को अनुमानित आयव्ययको विवरण पेस गर्नेछन् । जेठ १५ गते गणतन्त्र दिवसका साथै बजेट पनि प्रस्तुत गर्ने दिनका रुपमा चिनिँदै आएको छ । केपी ओली नेतृत्वको नेकपा सरकारले दोस्रोपल्ट बजेट प्रस्तुत गर्न लागेको हो ।

यसपल्ट कर्मचारीको तलब बृद्धि हुने र बृद्धभत्ता बढाउने लगायत लोकप्रिय कार्यक्रम सरकारले ल्याउने अर्थ मन्त्रालय स्रोतले दाबी गरेको छ । चालु आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको सरकारले आगामी आर्थिक वर्षको बजेटलाई बढी व्यवहारिक र कार्यान्वयनमुखी बनाउने लक्ष्य राखेको छ ।

चालु आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख बराबरको बजेट प्रस्तुत गरिएको थियो । चालुतर्फ आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख, पुँजीगततर्फ तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख र वित्तीय व्यवस्थातर्फ एक खर्ब ५५ अर्ब ७१ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो । यसमध्ये करिब ४४ प्रतिशतमात्र विकास खर्च प्रयोगमा आएको छ भने राजस्व पनि लक्ष्यभन्दा १ खर्ब कम उठेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार १५:४२