सूचनाको शक्ति - The Power Of Information

        

शिक्षामा सुधारका लागि त्रिपक्षीय समन्वय

बाँके । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले शिक्षामा आमूल परिवर्तन ल्याउन अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिको प्रमुख दायित्व हुने बताएका छन् । उनले खजुरा गाउँपालिकाले खजुरा क्षेत्रभित्रको शैक्षिक गुणस्तर उकास्न लागिपरेको भन्दै समन्वयको खाँचो रहेको बताए ।

खजुरा–७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय सिन्दुरीको ३७ औं वार्षिक उत्सव तथा नवनिर्मित भवन उद्घाटन समारोहलाई आज मंगलबार सम्बोधन गर्दै प्रमुख कक्षपतिले शैक्षिक सुधारका लागि गाउँ शिक्षा समितिले बनाएको रणनीतिक योजना, शैक्षिक क्यालेण्डर, शिक्षक डायरी र गत वर्षको प्रतिवद्धतामा टेकेर अगाडि बढ्न सके शिक्षा क्षेत्रमा परिवर्तन आउने विश्वास व्यक्त गरे ।

खजुरामा २ वटा मावि नमूना रहेको बताउँदै एउटा प्राविधिक कृषितर्फ जनता नमूना माविमा आगामी शैक्षिक शत्रदेखि बिएसीएजी संचालन हुने, ज्ञानोदयमा इन्जिनियर शुरु भइरहेको र उढरापुरमा प्राविधिक धारको विद्यालय निर्माण भइरहेको उल्लेख गरे । उनले मावि तहमा प्राविधिक धारमा प्राथमिकता दिँदै भानु, आदर्श र योगिनी माविलाई प्राविधिक धारका लागि सिफारिस गरिएको बताए ।

सामुदायिक विद्यालय र संस्थागत विद्यालयको पढाईमा कुनै भिन्नता नहुने गरी सबै कमीकमजोरी हटाएर सुधार गरिने बताउँदै प्रतिस्पर्धाबाट शिक्षाको गुणस्तर बढाइने प्रमुख कक्षपतिको भनाई थियो । सो अवसरमा निर्मित तीनवटा नयाँ विद्यालय भवनको प्रमुख कक्षपति र वडा नं. ७ का वडाध्यक्ष अतिउल्ला खाँले उद्घाटन गरे ।

नेपाल राष्ट्रिय आधारभूत विद्यालय सिन्दुरीका पूर्व प्रधानाध्यापक कपिलदेव अर्याल लगायतका शिक्षकलाई सम्मानसमेत गरिएको थियो । उक्त अवसरमा विद्यालयका प्रअ श्रवणकुमार खड्काले ३ सय बढी विद्यार्थी रहेको नेरा निमाविलाई मावि बनाउने लक्ष्यका साथ अगाडि बढेको बताए ।

कार्यक्रममा खजुरा गाउँपालिका विद्यालय निरीक्षक टिकानाथ योगी, शिक्षक दानबहादुर बिसी, केशव लामिछाने लगायतले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलवार १७:५३