जमुनाहा नाकामा जेकजाँच गर्दै सशस्त्र प्रहरी । फाइल तस्वीर
बाँके । भारतबाट आउनेलाई चेकजाँच गर्न जमुनाहा नाकाबाट चौलिका चोकसम्म पाँच ठाउँमा सुरक्षाकर्मी खटिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पाइलैपिच्छे सामानको जाँच गर्छन् र सामान किनमेल गरेर आउनेलाई केरकार गर्छन् । काम गरेर भारतबाट फर्किनेलाई पनि सीमा बसेका सुरक्षाकर्मीले केरकार पार्ने र अवैध सामान तथा विस्फोटक पदार्थ भित्रिन नदिन जाँचबुझ गर्छन् ।
अवैध सामान भित्रिन नदिन नाकामा ईलाका प्रहरी कार्यालय जमुनहाका प्रहरीले जाँच गरिसकेपछि मात्र अघि बढ्न पाइन्छ । त्यसलगतै सशस्त्र प्रहरीले सामानको जाँच गर्छ । त्यहाँबाट छुटकारा पाएपछि नेपालगन्ज भन्सार कार्यालयको गेटमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको जाँच गर्ने पालो आउँछ । अझै पनि सर्वसाधारण सजिलै नेपालगन्ज पुग्ने अवस्था रहदैन ।
भन्सारको पाँचसय मिटर उत्तरमा फेरी पनि सीमा प्रहरीको सामना गर्नुपर्ने हुन्छ । सीमा प्रहरी चौकी जैयसपुरले जेकजाँच गर्छ । त्यसको पाँच सय मिटर उत्तर चौलिका चोकमा फेरि सशस्त्र प्रहरीले जाँचबुुझ गरेपछि मात्र नेपालगन्ज पुग्न सकिन्छ । यी पाँच–पाँचसय मिटर दूरीमा रहेका सुरक्षाकर्मी मात्र हुन् । अवैध सामान भित्रिन नदिन दुवै सुरक्षा निकायले सादा पोशाकमा घुमुवा पनि परिचालन गरेका छन् ।
ती घुुमुवा प्रहरीले सुराकीको आधारमा अवैध सामान ल्याउनेलाई पक्राउ गर्दै आएका पनि छन् । उता, हिरमिनिया, साइगाउँका प्रहरी चौकीले पनि अवैध सामान ओसारपसार गर्नेहरुमाथि निगरानी गर्दै आएका छन् । अवैध बाटो भएर भारतबाट सामान ओसारपसार गर्नेलाई समातेर बरामद भएको सामान भन्सार कार्यालयमा बुझाउनुपर्ने दायित्व यी प्रहरी चौकीको पनि हो । तर, यतिधेरै सुरक्षाकर्मी परिचालन भए पनि अवैध सामान नेपालगन्जका विभिन्न स्थानबाट बरामद हुने गरेको छ ।
सीमा क्षेत्र जमुनाहादेखि नेपालगन्ज नपुग्दै पाँच ठाउँमा चेकजाँच हुन्छ तर त्यहि चेकजाँचबाट निस्किएको मालसामान नेपालगन्जमा कसरी पक्राउ हुन्छ ? जमुनाहामै पक्राउ हुनुपर्ने सामान कसरी नेपालगन्ज आइपुग्छ ? जमुनाहा प्रहरी चौकीदेखि सशस्त्रको चौलिका चोकसम्म पर्ने पाँच वटा जेकजाँच गर्ने निकायले तस्करसँग राम्रै घुस रकम लिएर मालसामान छोड्छन्, त्यसरी छाडिएको सामान नेपालगन्जमा पक्राउ हुन्छ ।
‘अहिलेसम्म २१ जनालाई नियन्त्रणमा लिएका छौं,’ वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले भने, ‘१० महिनामा रु.६५ लाख ९५ हजार ५६५ मूल्य बराबरको अवैध सामान बरामद गरी नेपालगन्ज भन्सार कार्यालयमा बुझाएका छौं ।’ उनले अवैध सामान ओसार्न प्रयोग भएका चार वटा ट्याक्टर, १३ वटा मोटरसाइकल, १२ वटा साइकल र एउटा अटोरिक्सा बरामद गरी कारवाही प्रक्रिया अघि बढाएको जानकारी दिए ।
नेपालगन्जबाट अवैधरुपमा भारत लैजाने तयारी गर्दै गर्दा केही समयअघि बरामद गरिएको कालो मरीच । फाइल तस्वीर
जमुनाहामै पक्राउ हुनुपर्ने सामान नेपालगन्जमा बरामद हुँदा पाँच ठाउँमा चेकजाँच गर्ने सशस्त्र र नेपाल प्रहरीको तस्करसँग मिलेमतो रहेको स्पष्ट हुन्छ । सीमा क्षेत्रमा सडकमा चेकजाँच गर्न बसेका भन्सार कर्मचारीदेखि सशस्त्र र जनपद प्रहरीका खल्ती र टोपी चेकजाँच गर्ने हो भने कच्याककुचुक पारेर राखेको पैसा भेटिन्छ । उनीहरुले मालसामान तस्करी गर्नेबाट घुस रकम खाँदै र छोड्दै गर्छन् जुन मालसामान नेपालगन्जमा आएर पक्राउ हुन्छ ।
‘प्रहरीलाई देख्नासाथ सामान फालेर भाग्ने गरेका कारण ओसार पसारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न गाह्रो भएको छ,’ प्रहरी निरीक्षक नारायण डाँगीले भने । अवैध सामान भित्रिन नदिन सीमा क्षेत्रमा सुरक्षाकर्मी खटिए पनि नेपालगन्जमा अवैध सामान फेला पर्नुले सीमा क्षेत्रका सुरक्षाकर्मीले लापरवाही गरेको पुष्टि हुन्छ । यसले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले सामान ओसार पसार गर्ने तस्करहरुसँग मोटो रकम लिएको भन्ने पुष्टि पनि गर्दछ ।
भन्सार छलेर ल्याएको सामान बरामद गरेको प्रहरी निरीक्षक डाँगीले बताउनुले पनि सीमा क्षेत्रमा मोटो रकमको चलखेल हुने गरेको खुलासा भएको छ । ‘हामीले भन्सार छलेर अवैध रुपमा भित्रिएको सामान, ओसारपसार गर्न प्रयोग हुने साधन र ओसारपसारमा संलग्नलाई पक्राउ र सामान बरामद गर्दै आएका छौँ,’ डाँगीले भने । वडा प्रहरीले अवैध सामानसहित ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिए पनि अवैध सामान नेपाल ल्याउने ठूला ठेकेदार भने हालसम्म पक्राउ पर्न सकेका छैनन् ।
सामान क्यारिङ गरेर नेपालगन्ज ल्याउने र नेपालगन्जका विभिन्न पसलमा विक्री गर्ने क्यारियर मात्र पक्राउ पर्ने गरेका छन् । धेरै परिमाणमा सामान ल्याउनेहरु नदेखिने भएकोले क्यारिङ गर्नेहरु पक्राउ पर्ने गरेको प्रहरी निरीक्षक डाँगीले बताए । उनले पहिलेको भन्दा अहिले ठूला कारोवारीलाई पनि नियन्त्रणमा लिएर सामान जफत गरिएको दावी गरे । ‘सामान ओसार्न प्रयोग भएका ट्याक्टर पनि हामीले नियन्त्रणमा लिएर कारवाही अगाडी बढाएका छौँ,’ उनले भने ।
यता, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल भारतबाट ल्याउँदै गरेको सामानको चेकजाँच गर्ने र अवैध सामान नियन्त्रण गर्ने दायित्व इलाका प्रहरी कार्यालय जमुनाहाको नभएको बताउँछन् । एसपी पौडेलले यसो भनिरहँदा जमुनाहा र सीमा प्रहरीले चेकजाँच भने गरिरहेको छ । उनले जमुनहा प्रहरीलाई ट्राफिक ब्यवस्थापन गर्ने र लागूऔषध तथा विस्फोटक पदार्थको जाँचबुझ गर्ने अधिकार मात्र भएको जिकिर गरे ।
उनले नेपालगन्ज नाकामा ईलाका प्रहरी कार्यालय जमुनाहाबाहेक नेपाल प्रहरीको अन्य कुनै चेकपोष्ट नभएको दावी गरे । तर, सीमा प्रहरीले सामान बोकेको देख्यो की चिल्लाउँदै खानतलासी गर्न आइहाल्छ । ‘भन्सार गराएर लैजान्छु भनेपछि जमुनाहा प्रहरीले रोक्ने कुरा हुँदैन,’ उनले भने । सशस्त्र प्रहरी बल, ३० नम्बर गण महेन्द्रनगरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले सीमामा सशस्त्र प्रहरी परिचालन भए पनि खुला सीमाका कारण अवैध सामान नियन्त्रण गर्न समस्या रहेको बताए ।
उनले खुला सीमानाको फाइदा उठाउँदै तस्करले लुकिछिपी अवैधरुपमा सामान ल्याउने गरेको बताउँदै भने, ‘हामी सकेसम्म तस्करी रोक्ने अभियानमा छौँ, झुक्याएर, छक्याएर तस्करले सामान नेपालगन्ज पु¥याउँछन् ।’ उनले चेकजाँचमा खटिएका सुरक्षाकर्मीको खल्ती र टोपी कच्याककुचुक पारेर राखेको पैसा भेटिने कुरा गलत भएको दावी गरे । कसैले त्यसो गरेको पाइएमा तत्काल कारबाही गर्ने उनले बताए ।
सत्यपाटी - ।