सूचनाको शक्ति - The Power Of Information

        

सहकारी संस्थामै २५ करोड अपचलन

पीडित बचतकर्ताहरु रकम जम्मा गरेको पासबुक देखाउँदै जिल्ला प्रशासन कार्यालयमा ।

पीडित बचतकर्ताहरु रकम जम्मा गरेको पासबुक देखाउँदै जिल्ला प्रशासन कार्यालयमा ।


बाँके । नेपालगन्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडमा २५ करोड रुपैयाँभन्दा बढी अपचलन भएको छ । सहकारी वित्तीय संस्थामा कार्यरत केही कर्मचारीबाट ठूलो परिमाणमा रकम अपचलन भएको संस्थाको सञ्चालक समितिले जनाएको छ । ग्राहकको करिब ५२ करोड रुपैयाँ मौज्दात जम्मा गरेको संस्थामा २६ करोड रुपैयाँ अपचलन हुँदा बचतकर्ताहरुले जम्मा गरेको रकम निकाल्न पाएका छैनन् ।

बचतकर्ताहरुलाई दिने रकम नभएपछि आइतबारदेखि संस्थाको बोर्ड बैठकले बैंकिङ कार्यालय नै बन्द गरेको छ । बचत रकम झिक्न नपाएपछि ग्राहकहरु आईतबार जिल्ला प्रशासन कार्यालयमा पुगेर आफ्नो बचत फिर्ता गराइदिन जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिएका छन् । सहकारी वित्तीय संस्था लिमिटेडमा एउटै व्यक्तिको ३० लाख रुपैयाँसम्म बचत रहेको छ ।

बचतकर्ता अशोककुमार ठटेरले आफूले मिहेनत गरेर २ बर्ष लगाएर बचत गरेको २ लाख रुपैयाँ झिक्न नपाएको गुनासो गरे । ठटेरले भने, ‘शुक्रबार जाँदा आइतबार आउन भने, आइतबार जाँदा बैंकमै ताला लागेको थियो । अब हाम्रो पैसा दिने ग्यारेन्टी कसले गर्छ ?’ त्यस्तै १५ बर्षदेखि रकम जम्मा गर्दै आएकी चाँदआरा दर्जीले पनि आफ्नो करिब १४ लाख रुपैयाँ बचत रहेको बताइन् ।

उनले भनिन्, ‘हामी त आफ्नै घरजस्तो मान्थ्यौं । पैसा झिक्न आएको त बैंकमा पैसा नै छैन । जहिले आएपनि आज आउ, भोलि आउ मात्र भन्थे । अहिले त सबै कर्मचारी नै भागेको भन्ने सुनें । हामी समस्यामा परेका छौं ।’ जिल्ला प्रशासन कार्यालमा भेटिएका सहकारी वित्तीय संस्था लिमिटेड सञ्चालक समितिका अध्यक्ष हरदेव बक्स चौधरीले चाँडै नै ग्राहकहरुलाई आंशिक भुक्तानी भएपनि दिने तयारी भइरहेको बताएका छन् ।

अपचलन गर्ने कर्मचारीहरुको पहिचान भइसकेको र उनीहरुले रकम तिर्ने कबुलियत गरेको पनि सञ्चालक समिति अध्यक्ष चौधरीको भनाई छ । उनले अपचलनमा संलग्नता स्वीकारेका कर्मचारीबिरुद्ध प्रहरीमा जाहेरी दिइएको पनि बताए । तर कुन, कुन कर्मचारीले रकम अपचलन गरेका हुन् भन्नेबारे भने चौधरीले खुलाएनन् । को–को संलग्न छन् भन्ने थप अनुसन्धान गरेपछि स्पष्ट हुने उनको भनाई थियो ।

कर्मचारीहरुबाट अपचलन भएको संस्थाको रकम र सो सम्बन्धी पूर्ण अध्ययन गर्न अझै कम्तिमा १५ दिन लाग्ने भन्दै सञ्चालक समितिको शनिबारको बोर्ड बैठकले २६ गतेसम्म बैंकिङ कारोबार स्थगन गर्ने निर्णय गरेको छ । संस्थाले ग्राहकहरुको रकम संस्थामा सुनिश्चित रहेको र संस्थाको आन्तरिक हिसाब छिट्टै मिलान गरी संस्था नियमित संचालन गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

सञ्चालक समितिका अध्यक्ष चौधरीलाई बचतकर्ताहरुको उजुरीपछि प्रहरीले नियन्त्रणमा लिएको छ । अपचलनमा संलग्न भनिएका कर्मचारीहरुको खोजी भइरहेको र सञ्चालक समितिका सदस्यहरुलाई बोलाएर घटनाबारे बुझ्ने तयारी भइरहेको पनि बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिएका छन् । २०५१ सालमा स्थापना भएको यो सहकारी वित्तीय संस्था लिमिटेड ३ हजार भन्दा बढी ग्राहक छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार ०५:४५