सूचनाको शक्ति - The Power Of Information

        

आगलागीको जोखिममा नेपालगन्जका बस्ती, दमकललाई पानीकै अभाव

फाइल तस्वीर

नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा गएको वैशाख ३१ गते आगलागी हुँदा जल्दै गरेको बस । फाइल तस्वीर


बाँके । नेपालगन्जमा वैशाख महीनामा दुई ठूला आगलागीका घटना भए । वैशाख १६ गते नेपालगन्ज उपमहानगरपालिका–२१ मा रहेको शारदा कपास उद्योगमा आगलागी भयो । आगलागीबाट रु.५० लाख बराबरको क्षति भयो । वैशाख ३१ गते नेपालगन्ज–४ गणेशपुरमा रहेको एउटा ग्यारेजमा आगलागी भयो । हेर्दाहेर्दै दुई वटा बस जलेर नष्ट भए ।

यी दुईवटा आगलागीका घटना हुँदा दमकललाई आगो निभाउन हम्मेहम्मे भयो । नेपालगन्ज उपमहानगरमा रहेको एउटा दमकल एक्लैले आगो निभाउन सक्ने अवस्था छैन । ठुला आगलागीका घटना भइहाले कोहलपुर नगरपालिका र नेपालगन्ज विमानस्थलमा रहेको दमकलसँग सहयोग माग्नुपर्ने अवस्था छ । ती दमकल नेपालगन्ज आइपुग्दा आगलागीले ठूलो रुप लिइसकेको हुन्छ ।

त्यसो त नेपालगन्जको सदरलाइनमा रहेको बारुण यन्त्र कार्यालयबाट दमकललाई निस्किनै हम्मेहम्मे पर्छ । सदरलाइन, त्रिभुवन चोक र एकलैनीका साँघुरा गल्लीहरुलाई छिचोल्दै निस्किने दमकललाई आगलागी भएको स्थानमा पुग्नै समय लाग्छ । बारुण यन्त्र कार्यालय रहेको स्थान र वैशाख ३१ गते नेपालगन्ज–४ गणेशपुरमा बसमा आगलागी भएको ग्यारेजको दुरी करिब ५ किलोमिटर पर्दछ ।

सदरलाइन–गणेशपुरको पाँच किलोमिटरको दुरीमा रहेको घटनास्थलबाट स्थानीयले दमकललाई खबर गरे । खबर पुगेको ५५ मिनेटमा दमकल आगलागी भएको ग्यारेजमा साइरन बजाउँदै आइपुग्यो । दुई वटा बसमा दनदनी आगो बलिरहेको थियो । दमकलले पानीको फोहराले निकैबेर आगो नियन्त्रणमा लिने प्रयास गर्यो । आगो केही हदसम्म नियन्त्रणमा आयो, तर दमकलको पानी सकियो, अनि आगो उसैगरी दनदनी बल्न थाल्यो ।

नेपालगन्ज उपमहानगरपालिकाको दमकलमा पानी सकिएको करिब १० मिनेटपछि कोहलपुर नगरपालिकाको दमकल आइपुग्यो । अग्नी नियन्त्रक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले मुस्किलले आगो नियन्त्रणमा लिए । कपास उद्योगमा आगलागी हुँदा पनि यस्तै नियती व्यहोर्नुपरेको थियो । यी दुई घटनालाई हेर्ने हो भने बाँकेमा ठूला आगलागी भइहालेमा तत्काल निभाउन सक्ने अवस्था छैन ।

नेपालगन्ज उपमहानगरपालिकाको आफ्नै दमकल छ । तर, पानी भर्नका लागि नजिकै प्रयाप्त धारा र खोला छैनन् । नेपालगन्ज नजिकका वन, घर, उद्योग, कारखानामा आगलागी हुँदा पानी नभएर दमकलले आलोचना खेप्नुपरिरहेको छ । दमकल अत्यावश्यक सवारीसाधन हो । सुख्खायाममा चालक तम्तयार हुँदैनन् । नेपालगन्जमा चालक खोज्दै हिँड्नुपर्ने बाध्यता छ । दमकलको व्यवस्थापन चुस्त नहुँदा नागरिकले क्षति बढी बेहोर्नुपरेको छ ।

दमकलमा जनशक्ति मात्रै होइन आवश्यकताअनुसार पानी स्टोरको अभाव हुँदा स्थानीयबासीले समयमै आगलागी नियन्त्रण गर्न सक्ने अवस्था छैन । ‘आगलागीको खबर पाएलगत्तै प्रहरी घटनास्थल पुग्छ, तर प्रहरीको केही लाग्दैन,’ वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगी भन्छन्, ‘आगलागी भएको जानकारी आउनासाथ प्रहरी घटनास्थल पुग्छ, तर, आगलागी नियन्त्रण गर्न प्रहरीको केही लाग्दैन ।’

कतै आगलागीका घटना हुनासाथ उपमहानगरपालिकाको दमकल साइरन बजाउँदै घटनास्थल पुग्छ, तर थोरै पानी बोकेर । ‘प्रहरीसँग दमकल लगायतका आगो नियन्त्रणका साधन नहुने हुँदा घटनास्थल पुग्ने प्रहरीले बाल्टीनमा पानी बोकेर हाल्ने भन्दा विकल्प छैन,’ प्रहरी निरीक्षक डाँगीले भने, ‘दमकलमा छिट्टै पानी सकिँदो रहेछ । जसले गर्दा सानो आगलागी नियन्त्रणमा पनि समस्या देखिन्छ । ठुला आगलागीका घटना हुँदा प्रहरी निरीह बन्दै टुलुटुलु हेरेर बस्ने हो ।’

नेपालगन्जमा घना बस्तीबीच खोलिएका उद्योग, ग्यारेज, पेट्रोल पम्पले कुनै पनि बेला दुर्घटना निम्तिने खतरा छ । गत मंगलवार ग्यारेजमा भएको आगलागी एउटा उदाहरण हो । बस्तीका बीचमा रहेको ग्यारेजमा राखेका बसमा आगलागी भयो, स्थानीयहरु घरलाई आगलागीबाट जोगाउन प्रयास गरिरहेका थिए । ‘मेरो घर ग्यारेजसँगै जोडिएको छ, बसमा आगो लाग्दा घरको भित्ता तात्तिएर सिमेन्ट उप्किएको छ, धन्न घर नै सखाप भएन,’ घरधनी लक्ष्मी क्षेत्री भनिन् ।

नेपालगन्जमा घना बस्तीबीच खोलिएका उद्योग, ग्यारेज, पेट्रोल पम्प बस्ती बाहिर सार्न नेपालगन्ज बासीको माग छ । क्षेत्रीले भनिन्, ‘घना बस्तीभित्र खोलिएका यस्ता उद्योगहरुले निकै जोखिम बढाएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले घनाबस्तीका बीचमा यस्ता व्यवसायहरु खोल्न सिफारिस दिनुहुँदैन । अहिले सञ्चालनमा रहेका यस्ता उद्योग व्यवसाय बस्ती बाहिर सार्न आवश्यक कदम चाल्नुपर्छ ।’

नेपालगन्ज उपहानगरपालिकामा आगलागी नियन्त्रणका लागि एउटा मात्र वारुण यन्त्र अपर्याप्त रहेको नेपालगन्ज वारुण यन्त्रका निमित्त इन्चार्जसमेत रहेका अग्नी नियन्त्रक नरेन्द्र सिंहले बताए । ‘एकपटक आगो निभाएर पानी भर्न आउँदा केही समय लागिहाल्छ,’ उनले भने, ‘आगलागीबाट हुने क्षति कम गर्ने हो भने दमकल थप्नु आवश्यक छ ।’ नेपालगन्ज उपमहानगरपालिकाले दमकललाई २४ घण्टा तयारी अवस्थामा राख्ने गरेको छ ।

दमकल राखिने नगर भवनमा दमकललाई पानी भर्नका लागि पानी ट्यांकीको व्यवस्था छ । तर, आगलागी भएको ठाउँमा पानीको स्रोत नभेटिदा समस्या हुने गरेको अग्नी नियन्त्रक सिंहले बताए । ‘यहाँ त पानीका लागि समस्या छैन तत्कालै आएर पानी भर्न सकिन्छ,’ उनले भने, ‘तर पानीका स्रोत नभएका ठाउँमा भने समस्या हुन्छ ।’ एउटा मात्रै दमकल भएका कारण कहिलेकाहीँ आगो ननिभ्दा आलोचना खेप्नुपरेको सुनाउँछन्, अग्नी नियन्त्रक सिंह ।

नेपालगन्ज उपमहानगरपालिकाले दमकल खरीदका लागि प्रक्रिया अघि बढाइसकेको छ । केही समयमै अर्को दमकल थप्ने तयारी भइरहेको उपमहानगरका सूचना अधिकारी शरदकुमार पौडेलले जानकारी दिए । दमकलले वैशाखमा २१ र जेठमा ३ वटा आगलागीका घटना नियन्त्रण लिएको छ । जसमा दुई वटा भारतीय सीमावर्ती बजार रुपैडिहाका आगलागीका घटना पनि छन् । दमकलले गतबर्ष मात्रै ५७ वटा आगलागीका घटना नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आइतवार १३:१०