सूचनाको शक्ति - The Power Of Information

        

मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई मान्य हुने गरी परिमार्जन गरेर अघि बढ्नुपर्ने बताएका छन् । बरिष्ठ नेता नेपालले विधेयकका बारेमा धेरै नकारात्मक कुराहरु बाहिर आइरहेकोले परिमार्जन गरेर पारित गर्नुपर्ने बताए ।

प्रेस संगठन नेपाल बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहेका बरिष्ठ नेता नेपालले भने, ‘विवाद र विमत्ति रहेकै अवस्थामा यसलाई पास गरिनुहुँदैन । विवादास्पदरुपमा विधेयक ल्याउने कुरा नहोस् । यसलाई सबैले अपनत्व महसुुस गर्ने गरी अघि बढाउनुपर्छ ।’

उनले विधेयकलाई छलफल र सुझावसहित संशोधन गर्नुपर्ने बताए । ‘प्रेस स्वतन्त्र हुनुपर्छ, कहीँकतैबाट प्रेसमाथि अंकुस लगाउने काम राम्रो होइन । यसतर्फ सरकारले ध्यान दिन्छ,’ बरिष्ठ नेता नेपालले भने, ‘सबैलाई अपनत्व महसुस हुने गरी विधेयक ल्याउँदा त्यसले सरकारका काम कारबाहीमा अझ लोकप्रियता अझ बढ्छ ।’

यस्तै उनले विप्लव नेतृत्वको नेकपालाई हतियारको राजनीतिले परिवर्तन सम्भव नभएको स्पष्ठ पारे । नेता नेपालले बन्दुक देखाएर परिवर्तन नआउने बताउँदै भने, ‘जनताका बीचमा राम्रो काम गर्नुस्, जनतामा चेनता जगाउनुस्, तर हरियार देखाएर जनतालाई तर्साउने काम नगर्नुस् ।’

एउटा कम्युनिष्ट पार्टीले बहुमतको सरकार चलाइरहेका बेला सरकारका विरुद्ध अतियार उठाएर हिंसाको बाटो रोज्ने कम्युनिष्ट पार्टी हुन नसक्ने उनको भनाई छ । ‘तपाईहरु राम्रा एजेण्डा लिएर जनताका बीचमा जानुस्, तपाई हामी प्रतिश्पर्धा गरौं । तर जनतालाई हतियार देखाउने काम बन्द गर्नुस् । हिंसा त्यागेर वार्तामा आउनुस्,’ बरिष्ठ नेता नेपालले भने ।

यस्तै अर्को प्रसंगमा उनले तीब्र आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य पूरा गर्नका लागि बजेटका बारेमा विस्तृत छलफल गरेर जनताले नयाँ कुराको अनुभूति गर्ने गरी सरकारले बजेट ल्याउनुपर्नेमा जोड दिए । परम्परागत ढंगले बजेट ल्याइए त्यसले जनआकांक्षा र राष्ट्रको आवश्यकता पूरा नहुने नेता नेपालले बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०७६, शनिबार १३:३६