सूचनाको शक्ति - The Power Of Information

        

मुलुकमा हतियारको राजनीतिक असम्भव : बरिष्ठ नेता नेपाल

बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा हतियारको राजनीतिक असम्भव भएको बताएका छन् । विप्लव नेतृत्वको नेकपालाई इङ्गित गर्दै उनले हत्या, हिंसा र चन्दा आतंकको राजनीति अब सम्भव नभएको स्पष्ट पारे ।

बाँकेको जिल्ला कमिटीका सदस्यहरुको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता नेपालले विप्लव नेतृत्वको नेकपालाई हतियारको राजनीति छाडेर वार्तामा आउन आग्रह गरे । उनले भने, ‘हतियार समाधान होइन, हतियारले निकास सभ्भव छैन ।’

विप्लव नेतृत्वको नेकपालाई हतियार छोडेर संयमतापूर्वक वार्तामा बस्न आग्रह गर्दै बरिष्ठ नेता नेपालले भने, ‘हत्या, हिंसा र चन्दा आतंकले जनतालाई तर्साउन पाइँदैन । वार्तामा आउनुस् एक ढिक्का भएर अघि बढ्ने प्रयत्न गर्नुस्, हतियारले तपाईहरुको राजनीति चल्दैन ।’

सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टीका जिल्लास्तरीय नेताहरुलाई निर्देशन दिँदै बरिष्ठ नेता नेपालले कम्युनिष्ट पार्टीको कार्यकर्ता भन्दै चन्दा असुल्ने र पार्टीभित्र गुटबन्दी गर्ने छुट नभएको बताए ।

उनले नेता तथा कार्यकर्ताहरुलाई उत्पादनसँग जोडिएर अघि बढ्न आग्रह गरे । ‘सरुवा, वढुवा र पदको दुरुपयोग नगरी उत्पादनसँग जोडिनुस्, पसिनाको कमाईमा विश्वास गर्नुस्, मेहनती बन्नुस्, यति गर्न सक्नुहुन्न भने कम्युनिष्ट पार्टीको सदस्य नबन्नुस्,’ उनको निर्देशनात्मक भनाई थियो ।

बरिष्ठ नेता नेपालले जिल्ला कमिटीका १५५ जना सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सह–इन्चार्ज दलबहादुर राना, केन्द्रीय सदस्य एवं संघीय सभाका सांसद महेश्वर गहतराज लगायतले जिल्ला कमिटी सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार १८:४२