सूचनाको शक्ति - The Power Of Information

        

दाइजो नपाएपछि निराको हत्या, सवारी दुर्घटनामा घर्तीको मृत्यु

बाँके । बाँकेमा दाइजोको निहुँमा एक युवतीको मृत्यु भएको छ । जानकी गाँउपालिका–३, इन्द्रपुरकी २१ वर्षिया छोरी निरा कुर्मीको हत्या भएको हो । गत वर्षको वैशाखमा डुडुवा गाँउपालिका–३, वनकट्टीका २२ वर्षिय राममनोहर कुर्मीसँग विवाह भएको निराको माइती पक्षले हत्या भएको दावी गरेको छ ।

नेपालगन्जमा आज माइती पक्षले पत्रकार सम्मेलन गरी विवाहपछि राममनोहरले दाइजो नदिएको भन्दै पटकपटक कुटपिट गर्ने गरेको र दाइजो नपाएकै कारण हत्या भएको दावी गरेको छ । निराका बुवा राधेश्याम कुर्मीका अनुसार दाइजो नल्याएको भन्दै राममनोहर र उनका परिवारले पटक पटक कुटपिट गर्दै आएको निराले माइतीमा बताउँदै आएकी थिइन् ।

मरणासन्न हुने गरी कुटपिट भएपछि गत माघ १ गते भेरी अस्पतालमा भर्ना समेत भएकी थिइन् । विवाहमा रु.७ लाख खर्च गरेका माइती पक्षले छोरीमाथिको अन्याय सहन नसकेर गएको वैशाखमा पुन १ लाख वरावरको सोफा, दराज लगायतका सामाग्री राममनोहरलाई दिएको निराका बुवा राधेश्यामले बताए ।

त्यसपछि पनि मोटरसाइकल नदिएको भन्दै राम मनोहरले पटक पटक कुटपिट गरेका थिए । बारम्बार कुटपिट हुन थालेपछि न्याय माग्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालय बाँकेको महिला सेलमा उजुरी दिएपछि आगामी दिनमा गल्ती नदोहोर्याउने भन्दे माफी मागेर निरालाई घर लगेका थिए । तर यहि जेठ २ गते दिउँसो निरा झुण्डिएको अवस्थामा फेला परेपछि माइती पक्षले आत्महत्या नभई हत्या भएको दावी गरेको छ ।

‘आत्महत्या होइन, घर परिवारले मिलेर हत्या गरेको हो,’ निराका वुवा राधेश्यामले भने, ‘मेरो छोरीको हत्या गर्ने परिवारलाई कडा कारबाही हुनुपर्छ ।’ आत्महत्या हो वा होइन भन्ने विषयमा प्रहरीले अनुसन्धानका लागि निराका श्रीमान् राममनोहरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमूख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

यसैबीच, बाँकेकै कोहलपुरस्थित साझा चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएकी छन् । मोटरसाइकल र ट्रयाक्टर आपसमा ठोक्किँदा मोटरसाइकल चालक कोहलपुर–८ का ६० बर्षीय खड्कबहादुर घर्तीमगरको मृत्यु भएको हो । मोटरसाइकलमा सवार ५५ बर्षीया श्यामकला घर्ती गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते श्यामकलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि लखनउ लगिएको छ । नेपालगन्जबाट कोहलपुर जाँदै गरेको भे१त ६४६९ नम्बरको ट्रयाक्टर र कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको भे४प ७३२९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहीबार १६:३८