सूचनाको शक्ति - The Power Of Information

        

यातना गृह बन्दै नेपालगन्जका नीजि विद्यालय, सञ्चालकबाटै अपमानित अभिभावक

शैक्षिक क्षेत्रमा नीति वा बेथिति ?

बाँके । विद्यालयलाई विद्याको मन्दीर भनिन्छ । जहाँबाट असल नागरिक बन्ने बाटो तय हुन्छ । विद्याको मन्दीरमा अनुशासन हुन्छ, शिष्टता सिकाइन्छ । यो सदियौंदेखिको हाम्रो समाजको मान्यता हो र साँचो अर्थ पनि यही हो । विद्यार्थीहरु चाहन्छन्, विद्यालयमा आआफ्नो प्रतिभा प्रस्फुटन गर्ने माध्यम मिलोस् । विद्यार्थीहरू विद्यालयमा आफ्नो मनोभावनाको कदर गरियोस् । आफूलाई शिक्षकहरूद्वारा सभ्य ब्यवहार गरियोस् ।

विद्यार्थीहरु कदापी चाहँदैनन् कि आफूलाई मानसिक र शारीरिक यातना दिइयोस् । जबरजस्त सिद्दान्त रट्टान मार्नुपरोस् । उनीहरु चाहाँदैनन् कि विद्यालयमा आफूहरुका लागि अपमानजनक वातावरण सिर्जना होस् । तर यही भइरहन्छ जुन कुरा विद्यार्थीले चाहेका हुदैनन् । तर नेपालगन्जका ठुला र नाम चलेका नीजि विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरु विद्यार्थी मात्रै होइन, उनीहरुका अभिभावकसम्मलाई मानसिक तनाव दिन उद्यत छन् ।

अनुशासनको नाममा स–साना नानीहरुमाथि डण्डा चलाउनेदेखि मानसिक यातनासम्म दिने गरेका छन् । उनीहरुले दिने कतिपय यातनाका घटनाहरु बाहिर आउने गरेका छन् भने कतिपय घटनाहरु बाहिर आउँदैनन् । घटना बाहिर नआउनुको एउटै कारण हो, ‘विद्यार्थीलाई यो कुरा घरमा वा कतै भनिस् भने कहिँकतै कुनै पनि विद्यालयमा पढ्न नपाउने गरी निकालिदिन्छु ।’ जसका कारण कतिपय घटनाहरु बाहिर आउँदैनन् ।

केही सयमअघि एक जना अभिभावकले आफ्नो फेसबुक स्टाटसमा लेखे, ‘नेपालगन्जका केही माफिया शैक्षिक संस्थाबारे शिक्षा समन्वय इकाईको धारणा के हो नीति वा बेथिति ? एक शैक्षिक माफियाले एकजना अभिभावकलाई दिए यस्तो धम्की, छोरीछोरी यहाँ किन पढाएको ?’ नेपालगन्जस्थित जय बागेश्वरी स्कुलमा आफ्ना बच्चाहरु पढाइरहेका उनले विद्यालयका प्रिन्सिपल विद्यामान राजभण्डारीसँग आफ्ना बच्चाहरुको पढाईका बारेमा चासो राखेका थिए ।

विद्यालयका प्रिन्सिपल राजभण्डारीले अपमानित शैलीमा प्रश्न तेस्र्याउँदै भने, ‘तपाईका बच्चा यहाँ किन पढाएको ? हामीलाई तपाईका गुनासा सुन्ने फुर्सद हुँदैन ।’ अभिभावकले प्रिन्सिपललाई फोन गरेपछि ती बच्चाहरुलाई विद्यालयले मानसिक तनाव दिन थाल्यो । महंगो शुल्क तिरेर आफ्ना बच्चाहरुको पढाईको अवस्थाका बारेमा विद्यालयसँग चासो राख्न नपाउने भएपछि अभिभावकलाई त्यहाँबाट बच्चा निकालेर अन्यत्रै भर्ना गर्नुपर्ने बाध्यता आइलाग्यो ।

जय बागेश्वरी जस्तै नेपालगन्जकै ब्राइटल्याण्ड स्कुलमा वैशाख महीनाभित्र विद्यार्थीलाई यातना दिएका दुई वटा घटना सार्वजनीक भए । स्कुलको शैक्षिक वातावरण राम्रो नभएको र सरसफाईमा पनि पर्याप्त ध्यान नदिएको भनेर अभिभावकले सिकायत गरेपछि उनका दुई छोरालाई घाममा उभ्याएर यातना दिइयो । आफ्ना छोराहरुले स्कुलमा भएका असहजताबारे गुनासो गरेपछि त्यस विषयमा विद्यालयका प्रिन्सिपल विजय लामासँग बुझ्न भन्दै त्यहाँ पुगेकी सीता रानाले धम्की मात्रै खाइनन् अभद्र व्यवहार पनि सहनुपर्यो ।

प्रिन्सिपल लामाले सीतामाथि अभद्र व्यवहार गर्दै तत्काल आफ्ना बच्चाहरुलाई अर्कै विद्यालयमा लैजान भनेर धम्क्याएका थिए भने गुनासो गरेकै प्रतिशोधमा सीताका कान्छा छोरालाई एक घण्टा चर्को घाममा उभ्याउनुका साथै स्कुल विदा भइसकेपछि आफ्नो कोठामा बोलाएर कठालो समातेर झाक्कलझुक्कल पारेका थिए । कपडा फोहोर गरेको आरोपमा प्रिन्सिपल लामाले बालकलाई घाममा उभ्याएर यातना दिएको आमा सीताले बताइन् । ‘म गुनासो गरेर फर्किसकेपछि सानो छोरोलाई कपडा फोहोर गरेको भन्दै प्रिन्सिपलले एकघण्टा चर्को घाममा उभ्याइएछ ।’

नेपालगन्जमा अब्बल र ठूला विद्यालय कहलिएका जय बागेश्वरी स्कुल र ब्राइटल्याण्ड स्कुलमा यस्ता घटना धेरै हुने गरेको स्रोतको भनाई छ । अन्य बालबालिकाको अगाडि यातना दिएर बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर पर्नु यी विद्यालयका लागि नौलो विषय होइन । यिनै विद्यालयले नेपालगन्जमा सबैभन्दा चर्को शुल्क असुल्दै आएका छन्, जुन सरकारी मापदण्ड विपरित पनि छ । सानोतिनो व्यापार व्यवसाय वा मजदुरी गरेर छोराछोरीलाई राम्रो शिक्षा दिन भनेर महंगा र ठुला विद्यालयमा भर्ना गर्नु स्वयं अभिभावककै लागि अभिसाप बनेको छ ।

‘शुल्क जसरी भए पनि तिरैकै छौं, शुल्क तिरेपछि विद्यालयमा आफ्नो बच्चाको पढाइका बारेमा चासो राख्नै नपाउने ?’ एक अभिभावक आक्रोशित हुँदै भन्छन्, ‘विद्यामान र विजयहरुलाई भेट्नभन्दा सजिलो यो देशका प्रधानमन्त्रीलाई भेट्न हुन्छ । हामीले पैसा तिरेका छैनौं ? हामीले आफ्ना बच्चाको भविष्यका बारेमा विद्यालयसँग जानकारी लिन नपाउने ?’ हुन पनि प्रिन्सिपल विद्यामान र विजय भेट्न अभिभावकलाई निकै गाह्रो हुन्छ । उनीहरु न त अभिभावकहरुसँग भेट्न चाहन्छन्, न त कुनै अभिभावक भेला गराएर सुझाव लिन चाहन्छन् ।

नीजि विद्यालयको रबैया र दादागिरीले अभिभावक आजित छन् । भर्नाका समयमा मिठा र चिल्ला कुरा गर्दै आफ्नो विद्यालयको बयान गरेर नथाक्ने विद्यालय सञ्चालकहरु विद्यार्थी भर्नापछि यो वा त्यो बहानामा विद्यार्थी र उनका अभिभावकलाई तनाव दिइरहेका हुन्छन् । विद्यालय सञ्चालकहरुलाई आफ्नो विद्यालय सबैभन्दा पुरानो र अब्बल भएको दावी गर्छन् तर, पढाईको गुणस्तर हेर्ने हो भने डामाडोल छ । बेलुनजस्तै फुकेका नीजि विद्यालय विद्यार्थीको पढाईभन्दा उनीहरुसँग शुल्क असुल्नमै केन्द्रीत छन् ।

यो वा त्यो बहानामा विद्यार्थीसँग चर्को शुल्क असुल्ने पढाईको गुणस्तरमा ध्यान नदिएको अभिभावकहरुको गुनासो छ । एक अभिभावकले भने, ‘पुरानो र ठूलो विद्यालय भन्दै नाम मात्रै बेचेर चलिरहेका छन्, बाहिरबाट हेर्दा भव्य लाग्ने नीजि विद्यालयका भवनभित्र पढाईको गुणस्तर छैन । सञ्चालकहरुलाई शुल्क असुल्ने र धेरै पैसा कमाउनेबाहेक अरु कुनै सोच नै छैन । झन् जय बागेश्वरी स्कुलको गुणस्तर त गए गुज्रेको छ । अझ विद्यालयका सञ्चालकसँग विद्यार्थीका विषयमा चासो राख्न खोज्यो भने तल्लोस्तरको व्यवहार गर्छन् ।’

जय बागेश्वरी स्कुल र ब्राइटल्याण्ड स्कुलका यी दुई प्रतिनिधिमूलक घटना मात्रै हुन् । नेपालगन्जमा नाम चलेका धेरै नीजि विद्यालयभित्रको बेथिति यो भन्दा फरक छैन । अभिभावकलाई ‘खाए खा, नखाए घिच’ भनेझैं व्यवहार गर्ने नीजि विद्यालयलाई नियमन गर्ने निकाय पनि विद्यालय सञ्चालकहरुको प्रभावमा पर्ने गरेको अभिभावकहरुको बुझाई छ । नीजि विद्यालयको तल्लोस्तरको व्यवहारकै कारण कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराउन थालेका छन् भने कतिपयले विद्यालय परिवर्तन गराएर पढाउन बाध्य भएका छन् ।

त्यसो त संघीयतासँगै शैक्षिक व्यवस्थापनको जिम्मा स्थानीय तहमा आइसकेको छ । तर स्थानीय तहलाई भने यस्ता विषयमा कुनै वास्ता र चासो छैन । नगरभित्रका स्कुलहरुलाई नियमन गर्ने निकाय नेपालगन्ज उपमहानगरपालिकाका मेयर संयोजक रहेको नगर शिक्षा समिति नीजि विद्यालयका कर्तुतसामु मौन छ । विद्यालयमा हुने यस्ता घटनाबारे उपमहानगरपालिकाको शिक्षा समितिले अहिलेसम्म सामान्य चासो समेत देखाएको छैन । नगर शिक्षा समितिका सदस्य अजय कुमार पाठकले मेयर डा.धवलशम्शेर राणा नेपालगन्ज बाहिर भएकाले घटनाबारे बुझ्न नभ्याएको बताएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहीबार १३:१४