सूचनाको शक्ति - The Power Of Information

        

शहीद सेतु विकका श्रीमान् भन्छन्, ‘दलहरुले बिर्सिए शहीदको योगदान’

बाँके । तत्कालिन राजा ज्ञानेन्द्र शाहले प्रतिनिधिसभा विगठन गर्दै शासनसत्ता आफ्नो हातमा लिए । त्यसैको विरोधरुवरुप २०६२ चैत २४ गतेबाट नेपालमा राजतन्त्र विरोधी आन्दोलन सुरु भयो । सो आन्दोलनलाई राजनीतिक दलहरुले जनआन्दोलनको संज्ञा दिएका थिए । राजतन्त्र मुर्दावाद, गणतन्त्र जिन्दावाद भन्दै देशभर राजतन्त्र विरोधी आन्दोलन चलिरहेको थियो । आन्दोलन उत्कर्षमा थियो ।

देशभर कतै गोली चलेर आन्दोलनकारी घाइते भएका त कतै मारिएका समाचारहरु आइरहेका थिए । नेपालगन्जमा पनि आन्दोलन चरम उत्कर्षमा पुगेको थियो । राजनीतिक दलका नेताहरु गिरफ्तारी पर्ने र छुट्ने क्रम चलिरहेको थियो । आन्दोलनमा सहभागी हुन गाउँगाउँबाट मानिसहरु नेपालगन्ज ओइरिन्थे, दिनभर आन्दोलनमा सहभागी हुन्थे, साँझ परेपछि घर फर्किन्थे । गाउँलेहरुको २०६२ चैत २४ गतेदेखिको दैनिकी यसैगरी चलिरहेको थियो ।

जनआन्दोलनको १२ औं दिन अर्थात् २०६३ वैशाख ५ गते तत्कालिन सात राजनीतिक दलहरुले नेपालगन्जमा विशाल जनसागर ओराल्ने उद्घोष गरेका थिए । दलका कार्यकर्ताहरुले गाउँगाउँबाट नागरिकहरुलाई सहभागी हुन आह्वान गरेका थिए । विहानैदेखि बाँकेका गाउँगाउँबाट नागरिकहरु नेपालगन्ज आउने क्रम चलिरहेको थियो । हजारौंको संख्यामा नागरिकहरु नेपालगन्जका चारै दिनशातर्फका विभिन्न स्थानमा जम्मा भइरहेका थिए ।

सोही दिन नेपालगन्जबाट झण्डै १० किलोमिटर पश्चिममा रहेको खजुराबाट एकजना महिला आन्दोलनमा आउनका लागि तयार भइन् । गाउँका धेरै व्यक्तिले छोराहरु सानै छन्, श्रीमान् घरमा छैनन्, तिमी आन्दोलनमा नजाउ भन्दै रोक्न खोजे तर, कसैको केही चलेन । उनलाई जसले आन्दोलनमा नआउ भन्दै सुझाउथ्यो, सबैलाई एउटै जवाफ दिन्थिन्, ‘मलाई छोराभन्दा देश प्यारो छ, मरे पनि देशका लागि मर्छु ।’ उनको जवाफका अगाडी सबै नतमस्तक हुन्थे ।

गाउँका छिमेकी महिलाहरुले पनि उनलाई धेरै सम्झाए तर, उनी टसमस भइनन् । उनी ट्रयाक्टर चढेर करिब १० किलोमिटरको यात्रा गर्दै नेपालगन्ज पुगिन् र सामेल भइन् त्यो विशाल जुलुसमा । जुलुसको अग्रपंक्तिमा ‘राजतन्त्र मुर्दावाद, गणतन्त्र जिन्दावाद’ भन्दै नारा लगाउँदै थिइन् । धम्बोझी चोकबाट विशाल जुलुसमा मिसिएर चर्को नारा लगाउँदै विपी चोक, गणेशमान चोक भेरी अस्पताल, त्रिभुवन चोक, एकलैनी हुँदै उनी सामेल भएको जुलुस तत्कालिन ज्ञानेन्द्र चोकतर्फ अघि बढिरहेको थियो ।

आन्दोलनकारीहरुले निर्माणाधिन ज्ञानेन्द्र चोक भत्काइरहेका थिए । कोही नाराबाजी गरिरहेका थिए, आन्दोलनकारीको एउटा समुहले नजिकै चौरमा रोकिएको बाँकेका तत्कालिन डिएसपी वसन्त लामाको गाडीमा आगजनी गरेसँगै प्रहरीले आन्दोलनमा हस्तक्षेप सुरु ग¥यो । प्रहरीले लाठी चार्ज थाल्यो । अश्रुग्याँस र गोली चल्यो, मान्छेको भागाभाग भयो । २०६३ वैशाख ५ गते, हजारौं मानिसका बीचमा रहेकी तिनै निडर र निर्भिक सिमलघारी खजुराकी सेतु विकको छातीमा अश्रुग्याँस लाग्यो ।

उपचारका लागि भेरी अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भयो । सोही दिन उनका श्रीमान् शेरबहादुर विक भारतको गुजरातमा थिए । शेरबहादुर त्योभन्दा २/३ दिनअघि घर आउन खोजेका थिए । श्रीमतीले ‘यहाँ त जनआन्दोलन चर्किएको छ । पान पसलसमेत खुला छैन, अहिले नआउनू’ भनेर खबर गरिन् । श्रीमान्ले पनि श्रीमतिको कुरामा सही थापे, घर फर्किएनन् । कुरा भएको केही दिनमै शेरबहादुरलाई फोन गयो, तपाईको श्रीमती घरमा बिरामी छन्, छिटो आउनू ।’

शेरबहादुर हतारिएर आए, घरमा आउँदा पो थाहा पाए, श्रीमती त जनआन्दोलनमा प्रहरीको अश्रुग्याँस लागेर शहीद भएकी रहिछन् । सेतु विकका तीन सन्तान सबै स–साना थिए । २०६२/०६३ को जनआन्दोलनमा बाँकेकी सेतु विक शहीद भइन् । त्यही दिन हो नेपालगन्जमा सबैभन्दा ठूलो भीड जम्मा भएको, त्यहि दिन शेरबहादुर र उनका सन्तानलाई कहिल्यै निको नहुने घाउँ लाग्यो । त्यही ज्ञानेन्द्र चोकलाई पछि शहीद सेतु विक चोक नामाकरण गरियो । त्यहाँ अहिले सेतुको शालिक राखिएको छ ।

शहीद पति शेरबहादुर अहिले खजुरा–नेपालगन्ज रोडमा अटोरिक्सा चलाउँछन् । त्यहीबाट उनको गुजारा चलेको छ । उनी भन्छन्, ‘दिनको एकपटक मैले यो चोक (सेतु विकचोक) फन्को लगाउँछु । यात्रु पाएर मात्रै होइन, नपाए पनि म यो चोकको दिन एकपटक फन्को लगाउँछु, उनको याद गर्छु ।’ सेतु विक शहीद भएपछि उनका तीन नाबालक छोराहरुको पढाई लेखाइको कुरा आयो । जनआन्दोलन निष्कर्षमा पुग्नै थालेको बेला थियो, त्यो ।

धेरै स्कूलहरुले उनका छोराछोरीलाई निशुल्क पढाइदिने आश्वासनमात्रै होइन, घोषणा नै गरे । तर बाँकेका प्रमुख जिल्ला अधिकारीको पहलमा कान्छो छोरा सुमनलाई एसओएसले पढाइदियो । अहिले पनि सुमन त्यही छन् । ७ पास भएर ८ कक्षामा पुगेका छन् । अरु दुई छोराहरु जेठो र माइलो खजुराकै दीपक बोर्डिङमा पुगे । शेरबहादुर भन्छन्, दीपकले शुरुवातदेखि नै पैसा लिएर पढायो । पैसा तिर्न नसकेपछि छोराहरुलाई पढ्न छुटाए । शेरबहादुरका अनुसार, नेपालगन्जको सिटी पब्लिक स्कूलले एक बच्चालाई निशुल्क पढाइदिने मञ्चबाटै घोषणा गरेको थियो ।

पछि त्यहाँ जादा पढाउन नसक्ने बताएर फर्कियो । शहीदका छोराछोरीलाई निशुल्क पढाउनु पर्छ भनेर अभियान चलाउनेहरु बिस्तारै सेलाए । कोहीले वास्ता गरेनन् । पैसा नभएपछि शेरबहादुरले छोराहरुलाई स्कूलबाट छुटाए । सरकारी विद्यालयमा भर्ना भएका जेठो छोरा सुरज पढाई छाडेर मजदुरी गर्ने भन्दै भारतको गुजरात पुगे । माइलो सागर सुर्खेतस्थित चाउमिन कम्पनीमा काम गर्छन् । देशका लागि लडेका शहीदका छोराछोरीले पढ्न भने पाएनन् ।

सरकारले शहीदका छोराछोरीलाई वार्षिक रु.१६ हजार पढाइ खर्च दिने गरेको शेरबहादुरले बताए । तर, जेठा छोराले पढाइ छाडेपछि माइलाको मात्रै पढाइ खर्च आउन थालेको छ । त्यस्तै, सरकारले दिएको रु.१० लाख तीन जना छोराको नाममा संयुक्त खाता खोलेर बैंकमा राखिएको छ । ‘छोराको नाममा जम्मा भएको त्यो पैसा मैले चलाउन पाउँदिनँ । मासिक पाउने गरेको थोरै जीवन निर्वाह भत्ताले परिवार पालेको छु,’ उनले भने, ‘मासिक भत्ता पाउने रकम ६ महिनापछि दिइन्छ । त्यसैले परिवार पालेको छु ।’

श्रीमतिलाई सम्झिँदै चोकमा दैनिक फन्को

शेरबहादुर विकले शहीद सेतु विक चोकमा दैनिक एक फन्का लगाउँछन् । १३ वर्षअघिको जनआन्दोलनमा पत्नी सेतु विकलाई गुमाएका शेरबहादुर पत्नीको याद मेटाउन उनको मूर्ति हेर्नकै लागि त्यहाँ पुग्छन् । श्रीमतीसँग मृत्युअघि उनलाई जीवितै भेट्न पाएनन् । नेपालमा आन्दोलन सुरु हुनुअघि श्रीमतिलाई घर खर्चका लागि १० हजार भारतीय रुपैयाँ पठाएको शेरबहादुर सम्झन्छन् । उनी भन्छन्, ‘घरखर्च चलाउन र छोराहरु पढाउन भनेर १० हजार भारु पठाए । उनले त्यो पैसा मासेकी रैनछिन् । पठाएको पैसा अटैचीमा सुरक्षित राखेकी थिइन् ।’

श्रीमति बिरामी भएको खबर पाएलगतै उनी गुजरातमा गरिरहेको कामलाई थाती राखेर नेपाल फर्किए । उनलाई आन्दोलनमा परेर मृत्यु भइसकेको खबर भने दिइएको थिएन । नेपाल पुगेपछि मात्रै श्रीमति जीवित नरहेको उनले थाहा पाए, त्यो पनि आन्दोलनमा । उनले श्रीमतिको जीवित अनुहार भने देखेनन् । श्रीमतिको मृत्युपछि उनी उनी गुजरात फर्किएका छैनन् । शेरबहादुरले अहिले अटोरिक्सा चलाउँदै दैनिकी गुजारिरहेका छन् । यसअघि गाउँमै सानो पसल गर्ने गर्थे शेरबहादुर ।

रिक्सा चलाएर दैनिक रु.एक हजारसम्म कमाउँदै आएका शेरबहादुरले सेतु शहीद भएको ११ महिनापछि स–साना छोराहरुलाई रेखदेख गर्न सजिलो होस् भनेर दोश्रो विवाह गरेको बताए । दोस्रो श्रीमती सुजिता विक बाट पनि ७ वर्षकी छोरी छन् । ‘रिक्सा चलाउँदै दिनमा एक पटक सेतु विक चोकमा पुग्छु, उनले देशको लागि लडिन् म उनको सम्मानकै लागि उनलाई सम्झेर त्यहाँ पुग्ने गरेको छु । सेतुको याद दिनहुँ आउँछ, म चाहेर पनि उनलाई बिर्सिन सक्दिन,’ भावुक हुँदै शेरबहादुरले भने ।

राज्यले वास्ता गरेन

जनआन्दोलनपछिको समयले आफ्नो जिन्दगीमा धेरै परिवर्तन ल्याएको शेरबहादुरको बुझाई छ । ‘मलाई सबै राजनीतिक दल उस्तै लाग्छन्,’ उनले भने, ‘शहीद परिवारलाई कसैले खोज्दैनन्, न त शहीद परिवारको सकैले सम्मान नै गर्ने गरेका छन् । अहिले राज्यले केही वास्ता नगरेको जस्तो महसुस हुन्छ ।’ सेतु विक सहिद भएपछि राज्यले १० लाख रकम दियो, त्यो रकम कृषि विकास बैंकमा छ । जबसम्म कान्छो छोरा १६ वर्ष पुग्दैन तबसम्म त्यो पैसा चलाउन नपाइने भएकाले बैंकमै रहेको उनले बताए ।

‘राज्यले जिवन निर्वाह भत्ता भनेर मासिक रु.७ हजार दिने गरेको छ । त्यसले केही पनि पुग्दैन । यिनै शहीदहरुको बलिदानले नेताहरु सत्तामा पुगे, महल ठड्याए, शहीदलाई बिर्सिए,’ शेरशहादुरले भने । वैशाख ५ गते नेपालगन्जको सेतु विक चोकमा दलहरुले एउटा बत्तीसम्म बाल्न छोडेपछि आफै त्यहाँ पुगेर पानी, अविर, धुपबत्ती, माला, लड्डु चढाउँछु । श्रीमतिको शालिकमा अबिरको टीका लगाउँछु । राजनीतिक दलहरुले सम्झिन छोडिसके । दलहरुले वर्षको एकदिन त उनको योगदानको सम्झना पथ्र्यो ।’

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार १४:२५