सूचनाको शक्ति - The Power Of Information

        

नापी विभाग टोली सगरमाथाको चुचुरोमा

काठमाडौं । सगरमाथा मापनका लागि चढेको नापी विभागको प्राविधिक टोली बुधबार बिहान ३.०० बजे सगरमाथाको चुचुरोमा पुगेको छ । मङ्गलवार दिउँसो १ः४५ मा उक्त टोली साउथ कोलबाट चुचुरोतर्फ लागेको थियो ।

नापी विभागका सगरमाथा उचाई मापन सचिवालयका प्रमुख सुशील डंगोलले टोलीले चुचुरोमा पुग्यौं भन्नेसम्मको खबर गरेको र त्यसपछि थप सूचना भने आइनसकेको जानकारी दिए । मङ्गलवार विहान पुग्ने अनुमान गरिएकोमा मौसम अनुकूल नभएपछि सोमवारदेखि सगरमाथाको साउथ कोलमा पुगेर टोलीले विश्राम गरेको थियो ।

शुक्रवार राति आधार शिविरबाट नापी विभागका प्राविधिक खिमलाल गौतमको नेतृत्वमा चारजनाको टोली चुचुरोमा पुगेको हो । सगरमाथा मापनका लागि जि एन एस एस रिसिभर र जि. पि.आर. मेसिन चुचुरोमा लगिएको थियो । मेसिनसहित चुचरोमा पुगेको टोली र नियन्त्रण बिन्दुमा रहने प्राविधिकबीच एउटै समयमा सगमाथा अवस्थित जमिनको सतहमा आठवटा नियन्त्रण बिन्दुमा पनि प्रावधिकबीच सम्पर्क गर्नुपर्ने थियो ।

तल र माथि सम्पर्क भए नभएको पनि स्पष्ट सूचना आइसकेको छैन । नियन्त्रण विन्दुमा भएका प्राविधिक र चुचुरोमा भएकाबीच स्याटेलाइटबाट सूचना आदानप्रदान र सम्पर्क हुने व्यवस्था मिलाइएको थियो । नेपाल सरकारका तर्फबाट पहिलोपटक सगरमाथाको उचाई मापन गरिएको हो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार १०:१५