बाँके । बाँके प्रहरीले नरैनापुरमा प्रहरी संख्या बढाएको छ । प्रहरीको संख्या हुँदा गत शुक्रबार चरेशसहित पक्राउ परेका भारतीय नागरिकलाई चौकीबाटै थुतेर लैजान स्थानीयले घेराउ गरेका थिए । प्रहरीले ६३ राउण्ड हवाई फायर र निरन्तर अश्रुग्याँस हानेर भीडलाई तितरबितर पारेको थियो । त्यही दिन अनुगमनका लागि नरैनापुर पुगेकी प्रदेश सांसद कृष्णा केसीलाई भीडले घेराबन्दीमा पारेको थियो ।
नेपाली भूमिमा भारतीयको उपस्थितिमा चौकी घेराउ, प्रहरीको गाडी, मोटरसाइकल र वाकीटाकी तोडफोड भएपछि नरैनापुरको सुरक्षा चिन्ता गरिएको थियो । प्रदेश सांसद केसीले भोलीपल्ट नै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई भेटेर प्रहरीको संख्या बढाउन आग्रह गरेकी थिइन् । बाँके प्रहरीले त्यस घटनापछि नरैनापुरमा प्रहरी संख्या बढाएको छ । नरैनापुरमा नेपालगन्जको गणबाट लगेर प्रहरी थपिएको एसपी अरुण पौडेलले बताए ।
एसपी पौडेलको टोलीले मंगलबार नरैनापुरको स्थलगत निरीक्षण गरेको थियो । गतवर्ष शुक्रबार घटना हुँदा पौडेल जिल्ला बाहिर थिए । त्यस दिनको कमाण्ड डिएसपी प्रकाश सापकोटाले गरेका थिए । नरैनापुरमा पुगेर एसपी पौडेलले शुक्रबारको घटनालाई ठूलो क्षति हुन नदिई शान्त पारेकोमा सबै प्रहरीलाई धन्यवाद दिए । ‘त्यो दिन त्यहाँका प्रहरीले धेरै राम्रो काम गरे । त्यत्रो ठूलो भीडलाई कुनै क्षति नगराई पाखा लगाए,’ एसपी पौडेलले भने, ‘राम्रो काम गर्नेलाई पुरस्कृत गर्छु ।’
जिल्ला पूर्वी–दक्षिण सीमानामा रहेको नरैनापुरमा प्रहरीका आधा दर्जन कार्यालय छन् । भगवानपुरमा प्रहरी निरीक्षक र नरैनापुरमा सईको कमाण्डमा इलाका प्रहरी कार्यालय रहेका छन् । सुईया, कालाफाँटा, गंगापुर, लक्ष्मणपुरमा चौकी छन् । प्रहरीको संख्या भने कम रहेको छ । शुक्रबारको घटनापछि गणबाट थप टोली पठाएर राखिएको छ । चौकीहरुको स्तरबृद्धि गर्न जिल्लाले अध्ययन थालिसकेको छ । एसपी पौडेलले नरैनापुरमा सुरक्षाको कुनै चिन्ता नरहेको बताए ।
‘अहिले नै थप परिचालन गरेका छौं,’ एसपी पौडेलले भने, ‘आवश्यकता अनुसार बढाउँछौं ।’ एसपी पौडेलले शुक्रबारको घटनामा प्रहरीको गाडी, मोटरसाइकल तोडफोड गर्नेको खोजी भइरहेको बताए । ‘घटनामा संलग्नको खोजी भइरहेको छ,’ एसपी पौडेलले भने, ‘त्यसलाई कारबाही गर्छौ ।’ नरैनापुर ठूलो ठाउँ हो । भारतीय सीमासँग जोडिएकाले सधैं सुरक्षा चुनौती रहने गर्दछ । शुक्रबारको घटनापछि जिल्लाको नजर नरैनापुरमा पुगेको छ ।
सत्यपाटी - ।