सूचनाको शक्ति - The Power Of Information

        

जमुनाहा नाकामा लागूऔषध विज्ञ कुकुर परिचालन, एकैदिन सात जना पक्राउ

बाँके । लागूऔषध सम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागुऔषधसहित बाँकेमा एकैदिन सात जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो प्रदेश नं. ५ नेपालगन्जको टोलीले उनीहरुलाई नेपाल भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो ।

प्रदेश नं. ५ ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार भारतबाट नेपालगन्ज आउँदै गरेका उनीहरुलाई कुकुरले सुँघेर पहिचान गरेको थियो । लागूऔषध विज्ञ गौरी नाम गरेको पोथी कुकुरले उनीहरुलाई नियन्त्रणमा लिन सहयोग गरेको प्रहरी निरीक्षक थापाले बताए । कुकुरको सहायतामा १० ग्राम ब्राउनसुगरसहित शर्मरानी गाउँपालिका–५ प्यूठानका अदिल मियाँलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी निरीक्षक थापाका अनुसार सीमावर्ती भारतीय बजार रुपैडिहाबाट आउँदै गरेकी घोराही उपमहानगरपालिका–३ की लक्ष्मी खड्का र नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगरकी सुमन श्रेष्ठको साथबाट एक ग्राम ब्राउनसुगर बरामद गरिएको छ । कुकुरको सहायतामा उनीहरुलाई नियन्त्रणमा लिएको थापाले बताए ।

यस्तै नेपालगन्ज–१८ भुजईगाउँका किशोरकुमार धोवीलाई चार ट्याब्लेट नाइट्रोसन, १० क्याप्सुल स्पास्मो र एक बोत्तल अल्टोरेक्ससहित जमुनाहा नाकाबाट नियन्त्रणमा लिइएको छ । प्रहरीले कोहलपुर नगरपालिका–९ का राजेन्द्र हरिजनलाई ३९ ट्याब्लेट नाइट्रो भ्याटसहित पक्राउ गरेको छ । पोलिथिन झोलामा रहेको चनाभित्र लुकाएर रुपैडिहाबाट ल्याउने क्रममा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक थापाका अनुसार, रुपैडिहाबाट आउँदै गरेका थप दुई जना बालकका साथबाट चार ट्याब्लेट नाइट्रोजन पनि बरामद भएको छ । ती दुवै जना बालकलाई अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । सीमामा लागुऔषधको कारोबार बढिरहेका बेला प्रहरीले लागूऔषध सम्बन्धी विज्ञ कुकुर नै परिचालन गरेर नियन्त्रण सुरु गरेको हो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार २०:३८