सूचनाको शक्ति - The Power Of Information

        

चीनमा मानसरोवर, चम्किँदै नेपालगन्ज

बाँके । कसको भाग्य कतिबेला चम्किन्छ कसैलाई थाहा हुँदैन । भाग्यका बारेमा कसैलाई पनि पूर्व जानकारी हुँदैन । कुनै पनि बेला भाग्योदय हुन सक्छ, भाग्य चम्कन सक्छ । यस्तै एकाएक भाग्य चम्किएको ठाउँ हो, नेपालगन्ज । जब कैलाश मानसरोवरसँग नेपालगन्जको भाग्यको तार अनायसै जोडियो, अनि फस्टाउन थाल्यो होटल पर्यटन ।

कैलाश मानसरोवरसँग भाग्य जोडिएपछि नेपालगन्जमा पर्यटकको ओइरो लाग्न थालेको छ, धमाधम ठूला होटलहरु बनिरहेका छन् । पर्यटनसँग सम्बन्धित अनेक व्यवसाय चम्किएका छन् । लाग्छ, नेपालगन्जमाथि कैलाशपति महादेवको वरदान बर्षिएको छ । नेपालगन्जको भाग्य चम्किनुको अर्काे कारण हो, मुगुको राराताल । यो ताल हेर्न जाने स्वदेशी तथा विदेशी पर्यटकको प्रवेशद्धार पनि नेपालगन्ज नै हो ।

मानसरोवर चीनमा पर्छ, त्यहाँ पुग्ने पर्यटकले नेपालको बाटो प्रयोग गर्छन् । मानसरोवर चीनमा परेपछि पर्यटकले त्यहाँ पुग्दासम्म नेपालमा खर्च गर्छन् । अधिकांश पर्यटकहरु नेपाल भएर मानसरोवर जाने हुँदा उनीहरुले नेपालमै ९० प्रतिशत रकम नेपालमै खर्च गर्छन् । यो पर्यटनको उपयुक्त मौमसको समय होइन । तर यही बेमौसमी ‘टेको’ भारतीय पर्यटकले धानेका छन् ।

मानसरोवर जाने उपयुक्त समय हरेक बर्षको वैशाख महीनाको मध्यदेखि भदौ महीनासम्म भएकाले (मे महीनादेखि सेप्टेम्बर महीनासम्म) भएकाले बेमौसममा पर्यटकको रौनक नेपालगन्जमा देखिन्छ । ‘मानसरोवर–कैलाश पर्वत भ्रमणको रुची औधी रहेकोले यही बेमौसमको ‘टेको’ भारतीयले धानेका छन्,’ होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष भाष्कर काफ्लेले भने ।

नेपाल र भारत व्यापारिक नाका नेपालगन्ज हुँदै तिब्बतको कैलाश मानसरोवर जाने सिजन सुरु भइसकेको छ । होटल व्यवसायीहरुले कमाउने खास सिजन पनि यही हो । हिन्दू धर्मावलम्बी पवित्र धार्मिकस्थल तिब्बतको कैलाश मानसरोवर जाने गर्छन् । सिजन सुरु भएसँगै नेपालगन्ज हुँदै मानसरोवरतर्फ प्रस्थान गर्ने गर्छन् । मे महीनाबाट सिजन सुरु भएको छ । ठूलोे संख्यामा मानसरोवर जाने पर्यटकहरु नेपालगन्ज भित्रिन थालेका छन् ।

मानसरोवर तीर्थाटनका लागि जानेमा अधिकांश यात्रु भारतीय हुन्छन् । समुद्री सतहबाट करिब ६ हजार पाँच सय मिटर उचाइमा रहेको छ । मानसरोबर ताल कैलाश पर्वतको फेदी हो । कैलाश पर्वत फेरो लगाउन साढे दुई दिन लाग्छ । साधारणतया ४० देखि ७० बर्ष उमेरका भारतीय पर्यटक कैलाश पर्वत जाने गर्छन् । पछिल्लो समयमा नेपालीहरु पनि मानसरोवर यात्रामा जाने गरेका छन् ।

यसरी फेरियो भाग्य

नेपालगन्ज अतितदेखि नै पश्चिम नेपालको सबैभन्दा ठूलो सहर, वाणिज्य तथा प्रशासनिक केन्द्र रहँदै आएको छ । द्वन्द्वकालमा पश्चिम पहाडी क्षेत्र अशान्त बनेपछि नेपालगन्ज तथा आसपासमा ठूलो संख्यामा मानिस ओइरिए । पश्चिम नेपालमा शान्तिको प्रयास गर्ने अनेक संघसंस्थाले नेपालगन्जलाई मुकाम बनाए । द्वन्द्वकालपछि नेपालगन्जको भाग्य अलि सुस्त भएको थियो । तर, अहिले अवस्था फेरिएको छ ।

अवस्था फेरिनुको मुख्य कारण हो कैलाश मानसरोवर जाने भारतीय यात्रुहरुको रुट नेपालगन्ज बन्न थाल्नु । यहाँ भारतीय पर्यटकहरुको ओइरो लाग्न थालेको छ । कैलाश मानसरोवर जाने भारतीय तिर्थालुहरुको मुख्य रुटका रुपमा नेपालगन्जको भाग्य चम्कन थालेको हो । भारतीय तिर्थालुहरु विमानबाट काठमाडौं हुँदै नेपालगन्ज आइपुग्छन् । स्थलमार्गबाट आउनेहरु रुपैडिहा नाका हुँदै नेपालगन्ज छिर्छन् । नेपालगन्ज आइपुग्ने तिर्थयात्रीहरु हुम्ला हुँदै मानसरोवर पुग्छन् ।

कैलाश मानसरोवर हिन्दू, वौद्ध तथा जैन धर्मावलम्बीका लागि पवित्र तिर्थस्थल हो । चीनमा पर्ने मानसरोवर पुग्न भारतबाटै पनि मार्ग नभएको होइन तर नेपालबाट जति सुरक्षित छैन । बेलाबखत हुने भारत र चीनको द्वन्द्वका कारण मानसरोवर जाने यात्री समस्यामा पर्छन् । त्यसैले पनि भारतीय तिर्थालुहरुको रुट नेपाल हो र नेपालको पनि नेपालगन्ज हो । नेपालगन्जबाट हुम्लाको सिमिकोट हुँदै मानसरोवर जान सकिन्छ ।

पछिल्लो कालमा नेपालमा छाएको शान्तिले पनि भारतीय तिर्थालुहरुको मानसरोवर जाने रुट नेपालगन्ज बनेको हो । शान्तिले समृद्धि ल्याउँछ भन्ने उक्ति यथार्थमा परिणत भएको महशुस नेपालगन्जवासीले गर्न थालेका छन् । नेपालगन्जलाई भारतीय तिर्थालुहरुले चुन्नुको अर्काे कारण हो भारतको दिल्ली र लखनउ हुँदै नेपालगन्ज पुग्ने सडक ६ लेनको सडक । भव्य सडक बनेपछि नेपालगन्जमा पर्यटकसँगै आर्थिक गतिविधिले पनि तिब्रता पाउन थालेको छ ।

ओइरिँदै पर्यटक, थपिँदै होटल

नेपालगन्ज नाकाबाट मानसरोवर कैलाश दर्शन गर्न जानको लागि अहिले दैनिक सयौंको संख्यामा भारतीय पर्यटकहरु नेपालगन्ज पुग्न थालेका छन् । भारतीय पर्यटकको चाप बढ्न थालेपछि नेपालगन्जका प्रायः सबै ठुला र मध्यम होटलहरु भरिभराउ हुँदै गएका छन् । भारतका चेन्नई, गुजरात, आन्ध्रप्रदेश, राजस्थान, कर्नाटक र तामिलनाडुका यात्रीहरु नेपालगन्ज भएर मानसरोवर पुग्ने गरेका छन् ।

गत बर्षमात्रै करिब १० हजार भारतीय पर्यटक नेपालगन्जबाट हुम्लाको सिमिकोट हुँदै कैलाश मानसरोवर गएका थिए । गतवर्ष करिब १५ हजार पर्यटकले कैलाश मानसरोवरको दर्शन गरेका छन् । यीमध्ये करिब पाँच हजार पर्यटक काठमाडौंबाट हवाईमार्ग हुँदै नेपालगन्ज आएका थिए भने बाँकी यात्रु लखनउ रुपैडिया हुँदै आएका थिए ।

यसबर्ष यो संख्या बढेर करिब २५ हजार पुग्ने अनुमान छ । तिब्बती रुट नखुल्दा हजारौं भारतीय तीर्थालु नेपालगन्ज–सिमकोट–हिल्सा हुँदै कैलाश परिक्रमामा गइरहेकाले संख्या बढ्दै जान थालेको छ । मानसरोवर जाने पर्यटकको संख्या बढेसँगै यहाँ होटलसहित अन्य पर्यटन व्यवसाय फस्टाएको बताउँछन्, होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष काफ्ले ।

बैशाखदेखि असोजसम्म काठमाडौं–नेपालगन्ज हवाई उडानको संख्या दोब्बर हुने गरेको छ । नेपालगन्जबाट हुम्लाको सिमीकोटका लागि दैनिक १६ वटासम्म उडान हुने गरेका छन् । मानसरोवरलाई गन्तव्य बनाएर नेपालगन्ज आइपुग्ने भारतीय पर्यटक निकै स्तरीय (खर्च गर्ने क्षमता भएका) छन् । यस्ता पर्यटकले तारे होटल खोज्ने गरेपछि नेपालगन्जमा धमाधम तारे होटलहरु थपिँदै छन् ।

नेपालगन्जसँगै जोडिएको शहर कोहलपुरमा सेन्टर प्लाजा होटलले आफ्नो सेवालाई बढाउँदै लगेको छ । नेपालगन्जमा सोल्टी, सिद्धार्थ भ्यूू, किचन हट, बाटिका, स्नेहा, सिटी प्यालेस, सिग्नेट कृष्णा, कल्पत्रु जस्ता ठूला र सुविधा सम्पन्न होटलसहित करिब दुई दर्जन साना होटल थपिएका छन् । पर्यटक बढेपछि होटल व्यवसायीहरु पनि उत्साहित भएको होटल सिद्धार्थका प्रबन्ध निर्देशक मुक्तिराम भण्डारी बताउँछन् ।

उनीहरुले क्षमता मात्रै नभएर गुणस्तर पनि बढाएका छन् । नेपालगन्जका होटलहरुले दैनिक एक हजार पर्यटकहरुलाई स्तरीय आतिथ्य दिन सक्छन् । नेपालगन्जका पर्यटन व्यवसायी प्रशान्त शाह भन्छन्, ‘नेपालगन्जको भविष्य अझ सुनौलो छ । मानसरोवरको प्रमूख नाका यही हो । भारतीय पर्यटकलाई नेपाल आउन सहज छ । सडक सञ्जालका कारण पनि भारतीयको संख्या बढिरहेको छ । फलतः नेपालगन्जको पर्यटन उद्योग मौलाएको छ ।’

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार १५:४२

सिफारिस