बाँके । नक्कली प्रज्ञापन पत्रबाट सामान पैठारी गरी राजस्व छली गरेको भन्दै नेपालगन्ज भन्सार कार्यालयका दुई अधिकृतसहित चार सरकारी कर्मचारी, पाँच जना व्यवसायी र एक भन्सार एजेन्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत सुभाष प्रसाद श्रेष्ठ, भन्सार अधिकृत बटुककृष्ण अधिकारी र जाँचकी बसन्तकुमार अधिकारी र राजश्व अनुसन्धान विभागका नासु देवीबहादुर थापाबिरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
भन्सारका तीन कर्मचारीबिरुद्ध भन्सार एजेन्ट र व्यवसायीसँग मिलेमतो गरी नक्कली प्रज्ञापनपत्रमार्फत सामान आयात गरेर भन्सार महसुल तथा राजश्व छली गरेको अभियोग लगाइएको छ । त्यस्तै राजश्व अनुसन्धान विभागका नासु थापाबिरुद्ध अनुगमनका क्रममा बदनियतसाथ नेपाल सरकारलाई हानी नोक्सानी हुने गरी भन्सार महसुल छली गराउन सहयोग पुर्याएको अभियोग लगाइएको छ ।
त्यस्तै भन्सार एजेन्ट दिनेशकुमार बानियाँ, वनवोरी माता ट्रेडर्सका सञ्चालक रविन्द्र गुप्ता, वनवोरी माता ट्रेडर्सका लागि काम गर्ने वीरेन्द्र गुप्ता, हिमालयन कार्गोको सञ्चालिका मधुकुमारी चौधरी, हिमालयन कार्गोको लागि काम गर्ने विनोदकुमार गुप्ता र राहुलकुमार गुप्ताबिरुद्ध पनि भन्सार महसुल छलीको अभियोगमा मुद्दा दर्ता भएको छ ।
नेपालगन्ज भन्सार कार्यालयबाट वनवोरी माता ट्रेडर्सको स्किम्ड मिल्क पाउडर ४०० ब्याग सामान उल्लेख गरी मिति २०७५ जेठ २४ मा जारी भएको झुट्टा प्रज्ञापनपत्र नं. १५३१५ का आधारमा सोही दिन नै ना ६ ख ५८५९ र ना ७ ख १७ नम्बरका मालबाहक ट्रकबाट भन्सार महसुल तथा राजस्व छली गरी ल्याइएका सामानहरु र प्रज्ञापन पत्रमा उल्लेख नभएको घीउसमेत गरी बदनियतसाथ सामान धनीसँगको मिलेमतोमा २० लाख २४ हजार १४१ रुपैयाँ बराबरको भन्सार महसुल राजश्व छली तथा चुहावट भएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
सत्यपाटी - ।