सूचनाको शक्ति - The Power Of Information

        

गाउँमा फैलियो सरुवा रोग, स्वास्थ्य चौकीमा सिटामोल छैन, स्थानीयबासी आक्रान्त

बाँकेको राप्तीसोनारी गाउँपालिका–४ गुर्देनगौरी गाउँमा रहेको स्वास्थ्य चौकी ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–४ खयरभट्टी गाउँमा रहेको स्वास्थ्य चौकी ।


बाँके । सामान्य सुविधाको समेत पहुँचबाट टाढा रहेको गाउँमै एकैपटक महामारी फैलिए कस्तो अवस्था होला । राज्यको सबै पहुँच र सम्पर्कबाट निकै टाढा रहेको बाँकेका अति दुर्गम केही गाउँमा अहिले एक्कासी झाडापखाला र जण्डिस लगायतका सरुवा रोगहरुको प्रकोप देखिएको छ ।

खयरभट्टी, चुनभट्टी, महेशपुर लगायतका गाउँहरुमा झाडापखाला, जण्डिस लगायतका रोगको प्रकोप देखिएको छ । केही सातादेखि विभिन्न रोगको प्रकोप फैलिएपछि यहाँका आधा दर्जनभन्दा मानिसहरु प्रभावित भएका छन् । स्थानीयबासीले गाउँमा झाडापखाला, जण्डिस लगायतका रोग लागेका बिरामीहरु धेरै भएको बताए ।

महेशपुरकी मिना बुढाले गाउँमा फैलिएका विभिन्न रोगहरुका कारण स्थानीयहरु आक्रान्त बनेको बताएन् । ‘गाउँमा रहेको एउटा स्वास्थ्य चौकीमा पनि स्वास्थ्यकर्मी नआएको महिनौ भइसक्यो,’ उनले भनिन्, ‘स्वास्थ्य चौकीमा सिटामोल दिनका लागि कार्यालय सहयोगीसमेत छैनन् ।’ उनका १० बर्षका छोरालाई पनि जण्डिसले भेटाइसकेको छ ।

‘छोरालाई जण्डिस रोग लागेको एक महिना भइसक्यो, भारतका अस्पताल र नेपालगन्जसम्म पु¥याउँदा पनि ठिक भएको छैन,’ स्थानीय बुढाले थपिन्, ‘अब त छोराको उपचार गर्ने पैसा पनि छैन ।’ यहाँका प्राय सबै घरमा कुनै न कुनै रोग लागेका व्यक्तिहरु रहेको स्थानीयबासीहरु बताउँछन् ।

बुढाकाअनुसार जण्डिस रोगबाट थलिएकी ३० वर्षिया कविता रोकाको अवस्थामा गम्भीर छ । भारतीय सीमा नजिकका अस्पतालमा उपचार गराएकी उनको अवस्था ठिक हुनुको साटो बिग्रँदै जान थालेको छ । स्थानीयका अनुसार कमजोर आर्थिक अवस्थाका कारण कविताको थप उपचार गर्ने अवस्था छैन ।

राज्यको नजरमा पर्न नसकेका यहाँका आधा दर्जनभन्दा बढी गाउँका मानिसहरु आफ्नो गाउँ आउन भारतीय गाउँ हुँदै आउन बाध्य छन् । दैनिक उपभोग्य सामग्रीदेखि स्वास्थ्य उपचारसम्म भारतमा नै निर्भर रहनुपरेको स्थानीय अम्मर घर्तीले बताए । उनले झाडापखाला, जण्डिस, शरिर चिलाउने लगायतका रोगहरु एकैपटक देखापरेको बताए ।

‘गाउँमा अनेका खालका रोगहरु एकैपटक देखिएका छन्,’ घर्तीले भनिन्, ‘गाउँमा नाम मात्रैको स्वास्थ्य चौकी छ, कर्मचारी कहिल्यै बस्दैनन् ।’ आर्थिक अवस्थाका कारण रोग लागे पनि उपचार गर्न भारतीय बजार जान नसकेको उनले बताए । राप्तीसोनारी गाउँपालिका–४ मा पर्ने यी गाउँहरुमा सरकारी विद्यालयबाहेक अन्य कुनै सरकारी निकायको उपस्थिति छैन ।

एउटा स्वास्थ्य चौकी रहे पनि त्यहाँ दरबन्दी रहेका स्वास्थ्यकर्मीहरु महिनौं आउदैनन् । सडक सञ्चार लगायतका सुविधा नपुगेको यो गाउँमा पुग्न भारतीय गाउँसम्म सवारी साधनमा पुगेर त्यहाँबाट दुई घण्टा हिँडेर मात्र पुग्छ सकिन्छ । बिरामीहरुलाई अस्पतालसम्म पु¥याउनसमेत सास्ती छ । शुक्रबार गाउँमा पुगेकी सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सांसद कृष्णा केसी ‘नमुना’लाई स्वास्थ्यकर्मी र औषधी पठाइदिन आग्रह गरे ।

उनीहरुले सरकारको नजरमा आफुहरु पुग्न नसकेको भन्दै सांसद केसीसमक्ष समस्या समाधान गर्न आग्रह गरे । प्रदेश सांसद केसीले अति दुर्गम गाउँमा विभिन्न रोगहरु देखापरेको बताउँदै त्यसलाई नियन्त्रण गर्न लागि पहल सुरु भइसकेको बताइन् । केही दिनमा नै स्वास्थ्यकर्मी र औषधीसहित आफु त्यस गाउँमा जाने सांसद नमुनाले जानकारी दिइन् ।

‘गाडी पनि नजाने भारतीय क्षेत्र हुँदै त्यहाँ पुग्नुपर्ने भएकाले अलिकति समस्या देखिएको छ,’ उनले भनिन्, ‘ती गाउँहरुमा विभिन्न रोगबाट भारतीयहरु आक्रान्त हुनुभएको छ । स्वास्थ्य उपचारका लागि विशेषज्ञ डाक्टरसहितको टोली लैजान छलफल चलाइराखेको छु । केही दिनमा नै स्वास्थ्यकर्मी र औषधीसहित हामीहरु त्यहाँ जान्छौं ।’

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आइतवार १८:५०