सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश सांसद नमूनाले भनिन्, ‘नेपाली भूमीमै बन्धक हुनुपर्दा असह्य पीडा भयो’

बाँके । बाँके क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेशसभा सांसद कृष्ण केसी ‘नमूना’ले नेपाली भूमीमै भारतीयले बन्धक बनाउने प्रयास गरेपछि असह्य पीडा महसुश भएको बताएकी छन् । उनले भारतीय नागरिकहरुले नेपाली भूमीमै आफूहरुको टोलीलाई बन्धक बनाउने प्रयास गरेपछि आफूहरु मुस्किलले जोगिएर नेपाल फर्किनुपरेको बताइन् ।

नेपालगन्जमा आज पत्रकार सम्मेलन गर्दै सांसद केसीले भनिन्, ‘आफ्नै निर्वाचन क्षेत्रमा भारतीय नागरिकबाट बन्धक हुनुपर्दा असह्य पीडा महसुश भयो । हाम्रो भूमिमा भारतीयहरुको राज चलिरहेको महसुस भयो । हाम्रो गाडीसमेत जलाउने प्रयास भएको थियो, छर घटना घट्न पाएन । हामी सुरक्षित नेपालगन्ज आइपुग्यौं ।’

बाँकेको राप्तीपारि नरैनापुरमा लाग्ने हाटबजारमा ब्यवसाय गर्ने भारतीय नागरिक देवीविन विश्वकर्मालाई प्रहरीले शुक्रबार पाँच किलो चरेससहित पक्राउ गरेपछि उनलाई छोड्न दवाव दिँदै भारतीय नागरिकहरुले प्रदेश सांसद केसीसँगै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहसहितको टोलीलाई करिब चार घण्टा घेराबन्दी गरेका थिए ।

चरेशसहित पक्राउ परेका भारतीय नागरिक विश्वकर्मालाई छोड्न दवाव दिँदै सीमापारिबाट भारतीय नागरिकहरुको हुल नेपाल प्रवेश गरेको र नेपालतर्फका स्थानीयहरुले उनीहरुलाई साथसमेत दिएको सांसद केसीले बताइन् । आफुले निर्वाचन जितेको क्षेत्रमा सुझाव संकलनका पुग्नुभएकी सांसद केसीको गाडी रोकेर भारतीय नागरिकहरुले विश्वकर्मा निर्दोश भएकाले तत्काल रिहा गर्न सांसद केसीलाई दबाव दिएका थिए ।

सांझ करिब ६ बजेदेखि करिब ४ भण्टासम्म सांसद केसीसहितको टोलीलाई गाउँपालिकाको कार्यालयमा सशस्त्र प्रहरीले सुरक्षा दिएको थियो । करिब १० बजेतिर नेपालगन्जबाट घटनास्थल पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सांसद केसीसहितको टोलीलाई त्यहाँबाट सुरक्षा दिँदै ईलाका प्रहरी कार्यालय भगवानपुर हुँदै राती २ बजे नेपालगन्ज पुर्याएको थियो ।

चरेशसहित विश्वकर्मा पक्राउ पगेपछि स्थिति तनावपूर्ण बनेको थियो । पक्राउपछि भारतीय नागरिकलाई प्रहरी चौकीमा राखेका मुचुल्काका लागि गएको प्रहरी टोलीमाथि ढुङ्गामुढा गरी तनाव प्रयास भएको थियो । प्रहरी चौकी घेराउसँगै तोडफोड र ढुङ्गामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ६५ राउण्ड हवाई फायर गरेको थियो । नरैनापुर क्षेत्रमा आज पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार १४:२९