सूचनाको शक्ति - The Power Of Information

        

पाँच वर्षदेखि प्रहरी कार्यालयमा बाँधिएका बुद्ध !

आज २५६३ औं बुद्ध जयन्ती

दिपकजंग शाही । सुर्खेत । आज २५६३ औं बुद्ध जयन्ती । सुर्खेतको लाटीकोइलीस्थित बौद्ध गुम्बामा यहाँका बौद्ध धर्मावालम्बीहरु जम्मा भएर शुक्रबारदेखि नै पूजाआजा गरिरहेका छन् । बौद्ध धर्मका गुरु तुण्डुप रिङ्पोचे लगायतका ९ जना लामाहरु पनि बौद्ध जयन्तीका अवसरमा थालिएको पूजामा सहभागी हुन सुर्खेत आएका छन् ।

तर पूजा गर्ने ठाउँमा गौतम बुद्धको मूर्ति नभएर उनको एउटा प्रतिमा मात्र छ । त्यही प्रतिमाको अगाडि पूजाआजा भइरहेको छ । यहाँको सम्बन्धित ठाउँमा हुनुपर्ने बुद्धको मूर्ति भने जिल्ला प्रहरी कार्यालयको घेराबार भित्र छ । २०७० सालमा तत्कालीन सरकारले सुरक्षा बल प्रयोग गरेर त्यो मूर्तिलाई प्रहरी कार्यालय परिसरभित्र लिएर एउटा रुखको आडमा उभ्याइएको हो ।

अहिले डोरीले रुखमा बाँधिएर राखिएको मूर्तिको पहेँलो रङ आधाभन्दा बढी खुईलिएको छ । यहाँका बौद्ध धर्मावालम्बीहरु त्यहीँ गएर जयन्तीका दिन मूर्ति पुज्छन् । सुर्खेतको काँक्रेबिहारलाई नेपालको दोस्रो लुम्बिनीको रुपमा चिनिन्छ । खासमा यो मूर्ति राखिनुपर्ने त्यहीँ हो । ६ बर्षदेखि एक अपराधीलाई जसरी प्रहरी कार्यालयको संरक्षणमा राखिएको मूर्ति काँक्रेबिहारमा लिएर कहिले राख्ने भन्ने टुंगो समेत छैन ।

बौद्ध धर्मावालम्बी भने त्यो मूर्ति आफ्नो आस्थाको केन्द्रभित्र आउने आशामा छन् । ‘हामी प्रहरीको हातामा राखिएको महापुरुषको त्यो मूर्ति काँक्रेबिहारमा ल्याएर राखिदिने प्रतिक्षामा छौँ,’ पेमा साङ्गे सोलिङ गुम्बा समिति सुर्खेतका सचिव लोकजंग रोकाया भन्छन्, ‘काँक्रेबिहार नेपालको दोस्रो लुम्बिनीका रुपमा मानिन्छ, यो पक्कै पनि बुद्धको स्थल हो । यहाँ त्यो मूर्ति राख्न सकियो भने बौद्ध धर्मावालम्बीलाई न्याय हुन्छ ।’

कसरी लगियो जिल्ला प्रहरीमा मूर्ति ?

सुर्खेतको लाटीकोइलीमा रहेको बौद्ध गुम्बा निर्माण तथा संरक्षण समितिले २०६४ सालमा सुर्खेत, मुगु, जुम्ला, सल्यानका लागि गौतम बुद्धको मूर्ति बनाउन दिल्लीको एक चित्र बनाउने ठाउँमा प्रस्ताव गरियो । त्यसैबेला अहिले नेपालको दोस्रो लुम्बिनी भनेर चिनिने काँक्रेबिहार संरक्षित क्षेत्रमा त्यो मूर्ति राख्ने भनेर संरचना बनाउन सुरु गरियो । २०६४ वैशाख १९ गते संरचना बनाउनका लागि बौद्ध धर्मवालम्बीका गुरु शिव रिम्पोचेले शिलान्यास गरे ।

संरचना बनाउनको लागि काम शुरु भयो तर २०६७ सालमा जिल्ला वन कार्यालयले बनाउन मिल्दैन भनेर रोक लगाइदियो । २०६८ सालमा दिल्लीमा बनाउन लगाइएको ती बुद्धका मूर्तिहरु ल्याईयो । सुर्खेतबाहेक अन्य ठाउँका मूर्तिहरु तोकिएको ठाउँमा नै राखियो । सुर्खेतको लागि ल्याइएको मूर्ति भने राख्ने संरचना नबनाइएकोले लाटीकोईलीमा रहेको बौद्ध गुम्बामा राखियो । मूर्ति राख्नका लागि तत्कालीन गाउँ विकास समितिदेखि पूरात्व विभागबाट समेत अनुमति समितिले पायो ।

वनले संरचना बनाउनका लागि रोक लगाएपछि समितिले वन मन्त्रालयमा समेत अनुमतिका लागि यहाँको सम्बन्धित निकायबाट सिफारिस लिएर गयो । फेरि पनि अनुमति दिइएन । बौद्ध गुम्बा निर्माण तथा संरक्षण समितिका पूर्व अध्यक्ष पञ्चसिंह रोकायाका अनुसार त्यसबेला मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी थिए । दुई वर्षसम्म पनि मन्त्रालयबाट अनुमति नपाएपछि २०७० वैशाख १२ गते समितिले उक्त मूर्ति काँक्रेबिहारमा राख्न गाडीमा राखेर लगियो ।

प्रहरीको अवरोधका बीच पनि समितिले काँक्रेबिहारको गेटबाट भित्र लियो र एक ठाउँमा राख्यो । ‘अनुमति नपाएपछि हामीले मूर्तिलाई काँक्रेबिहारमै राख्नुपर्छ भन्ने अडान लियौँ, गेटमा प्रहरीसँग हाम्रो झडप पनि भयो,’ बौद्ध गुम्बा निर्माण तथा संरक्षण समितिका पूर्व अध्यक्ष रोकायाले भने, ‘त्यसपछि त्यहाँ राखिएको मूर्ति तत्कालीन नेपाल सरकारले सुरक्षा परिचालन गरेर काँक्रेबिहारबाट उठाएर प्रहरी कार्यालयको हाताभित्र लिएर राखेको हो ।’

प्रदेश सरकारसँग अपेक्षा

त्यसपछि वैशाख १२ गतेदेखि १४ गतेसम्म आन्दोलन गरेर सुर्खेत नै बन्द गरिएको उनले बताए । ‘त्यसपछि पनि काठमाडौंको सिंहदरबार घेराउ गर्ने काम भयो, त्यसपछि सरकारले कार्यदल गठन गर्यो । कार्यदलले केही काम गर्छ की भन्ने आशा गरियो । कार्यदलले पनि केही काम गरेन’, रोकायाले भने । उनले अहिलेको प्रदेश सरकारबाट काँक्रेबिहारमा त्यो मूर्ति राखिदिने आशा गरिएको उनले बताए ।

‘त्यसपछि स्थानीय, प्रदेश र संघीय निर्वाचन भयो, हाम्रो माग त्यतिकै रह्यो,’ रोकायाले भने, ‘अहिले तीन तहका सरकार बनेका छन् । नेपाल सरकारले नै काँक्रेबिहारमा लिएर मूर्ति राखिदिनुपर्ने हो । तर सरकारले त्यो नसोच्दा नेपालका सबै बौद्ध धर्मावालम्बीहरुलाई हेपेको छ ।’ उनले अब स्थानीय र प्रदेश सरकारसँग उक्त मूर्ति काँक्रेबिहारमा राख्न पहल गरिदिने आशा गरिएको बताए । ‘ढिलै भएपछि यी सरकारले काँक्रेबिहारमा मूर्ति राखिदिनुहुन्छ भन्ने आशा हामी बौद्धमार्गीहरुको आशा छ’, उनले भने ।

 

 

#सेतोपाटी

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार १३:४९