काठमाडौं । अनेरास्ववियुका संयोजक ऐन महरले संगठनलाई कम्युनिस्ट आन्दोलनको जगका रुपमा विकास गर्ने उद्घोष गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत सबैलाई धन्यवाद दिदै उनले सिङ्गो अखिल पंक्तिलाई एकताबद्ध बनाएर एउटै ताल र चालमा अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
महरलाई नेकपाको विहीबार बसेको सचिवालय बैठकले अखिलको संयोजक बनाएको थियो । यसको औपचारिक घोषणा मदन आश्रित दिवसका अवसरमा शुक्रबार गरिएको थियो । ‘सिङ्गो अखिल पंक्तिलाई एकताबद्ध बनाएर एउटै ताल र चालमा अगाडि बढ्ने छौं । सुखी नेपाली, समृद्ध नेपालको महाअभियानको सारथि बन्नेछौं । यो ऐतिहासिक जिम्मेवारी पुर्ण विश्वासका साथ प्रदान गर्ने हाम्रो गौरवशाली पार्टी नेकपा र पार्टी नेतृत्वप्रति हार्दिक आभार प्रकट गर्दछु’, महरले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनले आफू सुदूरपश्चिमको विकट पहाडी जिल्ला बझाङमा जन्मि, हुर्केर यहाँसम्म आएको पनि उल्लेख गरेका छन् । ‘म एउटा सामान्य मान्छे हुँ । सुदूरपश्मिच बिकट पहाडी जिल्ला बझाङ्गमा जन्मेर, हुर्केर स्कुल शिक्षा प्राप्त गरि २०५५ सालमा उच्च शिक्षा अध्ययनको लागि काठमाडौँ प्रवेश गरे पश्चात् विद्यार्थी आन्दोलनको नेता संगठन तत्कालिन अनेरास्ववियुको कार्यकर्ता बनेर इमानदारीका साथ निरन्तर क्रियाशिल बनी कहीले उकाली, कहिले ओराली अनि विभिन्न आरोहअवरोह पार गर्दै आएको छु,’ संयोजक महरले लेखेका छन् ।
२१ वर्षको निरन्तर क्रियाशिलताको उपज आज एउटा ऐतिहासिक जिम्मेवारी प्राप्त भएको उल्लेख गर्दै उनले नेपालको विद्यार्थी आन्दोलनको प्रमुख दुई ठूला संगठनको एकता पश्चातको नेतृत्व गर्ने विषय आफैमा ठूलो अवसर र चुनौती लिएको बताएका छन् ।
।