चरेशसहित पक्राउ परेका देवीविनलाई छाड्न दबाव दिँदै नरैनापुर प्रहरी चौकी घेराउ गरेका भारतीय नागरिहरुसँगै स्थानीयहरु ।
बाँके । प्रहरीले प्रतिबन्धित लागुऔषध चरेश ओसारपासारको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ परेपछि शुक्रबार रातीसम्म बाँकेको राप्तीपारि नरैनापुर क्षेत्र तनावपूर्ण बन्यो । पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाव दिंदै प्रहरी चौकी घेराउ गरेका थिए ।
नेपालगन्जबाट नरैनापुर पुगेर लागुऔषधविरुद्ध परिचालित प्रहरीको विशेष टोलीले भारतीय नागरिक देवीविन विश्वकर्मालाई पक्राउ गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । पक्राउपछि भारतीय नागरिकलाई प्रहरी चौकीमा राखेका मुचुल्काका लागि गएको प्रहरी टोलीमाथि ढुंगामुढा गरी तनाव प्रयास भएको थियो ।
प्रहरी चौकी घेराउसँगै तोडफोड र ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ६५ राउण्ड हवाई फायर गर्नुपरेको बाँके प्रहरीका निमित्त प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । उनले भने, ‘त्यहाँको अवस्था ‘अण्डर कन्ट्रोल’ छ । थप घटना हुन नदिन अहिले पनि सुरक्षाकर्मी परिचालन गरेका छौं ।’
चरेशसहित पक्राउ परेका भारतीय नागरिक देवीविनलाई अबेर राती नै नेपालगन्ज ल्याई सकिएको छ । देवीदिन पक्राउ परेपछि सीमापारीबाट आएका भारतीय युवाहरुले उनलाई नछोडेसम्म प्रहरीलाई जान नदिने भन्दै घेरा हालेका थिए । सो क्रममा इलाका प्रहरी कार्यालय भगवानपुरको एउटा गाडी र मोटरसाइकल तोडफोड गरिएको छ ।
‘प्रहरीको गाडीमा आगजनीको प्रयासहित र ढुंगामुढा गरेपछि थप प्रहरी बल पुगेर अवस्था नियन्त्रण गर्न खोजेको थियो,’ प्रहरी नायव उपरीक्षक सापकोटाले भने, ‘तर प्रहरीको उपस्थिति कमजोर देखेपछि उत्तेजित भीडले क्रमशः आक्रोश फैलाउँदै चौकीमै घेराउ गर्न पुगे । स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर नै गर्नुपर्यो ।’
देवीविनलाई पक्राउ गरेपछि सीमा क्षेत्रबाट आएका भारतीय नागरिकहरु आक्रमक भएर प्रहरीमाथि जाइलागेका थिए । उनीहरुलाई स्थानीय गाउँलेले साथ दिएपछि मुठभेडको अवस्था सिर्जना भएको थियो । जिल्लाबाट बन्दोबस्तीसहित पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले राती १२ बजेतिर घटनास्थललाई पूर्णरुपमा नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए ।
‘चार सय बढी मानिसले चौकी घेराउ गरेका थिए । नेपालगन्जबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन वटा टोली, आसपासका चौकीबाट समेत नरैनापुरमा मद्दतका लागि पुगेका थिए भने नेपालगन्जमा थप सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको थियो । स्थिति नियन्त्रणमा आएपछि थप बल त्यतर्फ जानुपरेन,’ प्रहरी नायव उपरीक्षक सापकोटाले भने ।
तस्करी गरेर नेपाल ल्याउँदै गएको मालसामान सहित गत साता सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका अपराधीलाई यसरी घेरा हाली भारतीयले छुटाएर लैजान भएका थिए । ‘राज्यको कमजोर उपस्थिति देखेर तस्करलाई त्यसैगरी छुटाएर लैजाने प्रयास हो,’ प्रहरी नायव उपरीक्षक सापकोटाले भने, ‘हामीले त्यो प्रयासलाई असफल पारेका छौं ।’
प्रदेश सांसद चारघण्टा घेराबन्दीमा
भारतसँग जोडिएका नयाँगाउँ, खयरभट्टी लगायतका गाउँहरुको अवस्था र राज्यले सहयोग गर्नुपर्ने प्राथमिकताका योजना बनाउन आफ्नो निर्वाचन क्षेत्रमा पुगेकी प्रदेश सांसद कृष्ण केसी नमूनासहितको टोलीमाथि पनि आक्रमण्नको प्रयास भएको थियो । पक्राउ परेका देवीविनलाई छुटाउन माग गर्दै सांसदसहितको टोलीलाई भारतीय नागरिक र स्थानीयहरुले झण्डै चार घण्टा घेराबन्दी गरेका थिए ।
प्रदेश सांसद केसी चढेको गाडीमा आगजनी प्रयाससमेत भएको थियो । ‘निकै डरलाग्दो अवस्थाको सामना गरियो,’ झण्डै चार घण्टापछि प्रहरीले उद्दार गरेपछि टेलिफोनमा कुराकानी गर्दै सांसद केसीले भनिन्, ‘अहिले म केही कुरा बोल्न र भन्न सक्ने अवस्थामा छैन ।’ स्थलगत अनुगमनमा गएका बेला आफुमाथि भएको आक्रमण प्रयासलाई ‘गम्भीरतापूर्वक लिएको’ सांसद केसीको भनाइ छ ।
सांसद केसीसहित टोलीलाई घेराबन्दी पारेपछिसशस्त्र प्रहरीले कडा सुरक्षा दिएर सांसद र गाउँपालिकाका प्रमुखलाई झण्डै चार घण्टासम्म गाउँपालिकाको कार्यालयभित्र राखेको थियो । राती १० बजेपछि वडाध्यक्षको गाडीमा सांसद केसीको टोलीलाई भगवानपुर प्रहरीले स्कटिङ गरेर आफ्नो कार्यालयमा पुर्याएको थियो ।
सीमा क्षेत्रको स्थलगत फर्किएका प्रदेश सांसदसहित नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहमाथि पनि आक्रमण प्रयास भएको थियो । ‘मेरा कुरा पनि सुनेनन्, धेरै दुःख लागेको छ’, टेलिफोनमा कुराकानी गर्दै अध्यक्ष शाहले भने, ‘सामान्य घटनामा भारतीय घुसपैठ भएर गम्भीर बन्यो ।’
उनले छानविनपछि सत्यतथ्य पत्ता लाग्ने आश्वासन दिँदा पनि सुनुवाई नभएकोमा दुख व्यक्त गर्दै भने, ‘कुरै नसुनेर जबर्जस्ती गर्न खोजियो ।’ उनले जायज मागका पक्षमा कानुन, समाज र आफुपनि साथमै रहेको पटकपटक आग्रह गर्दा पनि उल्टै ढुंगामुढा गर्न थालेपछि प्रहरी बल प्रयोग गर्न बाध्य भएको थियो । घटना भएको क्षेत्र जिल्लाको दुर्गम क्षेत्र मानिने नरैनापुर पूर्वी–दक्षिणी सीमानामा पर्छ ।
सत्यपाटी - ।