सूचनाको शक्ति - The Power Of Information

        

कुखुराको खोरमा बेकरी, ग्यारेजमा दुध डेरी !

बाँके । कुनै पनि व्यवसाय सञ्चालन गर्दा व्यवसायीले राज्यद्वारा निर्धारित न्युनतम मापदण्ड पुरा गर्नेपर्छ । व्यवसाय सञ्चालनका क्रममा क गर्ने भन्ने पनि कानुनमै स्पष्ट व्यवस्था गरिएको छ । व्यवसायीले कानुनले निर्धारण गरेका मापदण्डभन्दा माथि रहेर काम गर्नुहुँदैन । यदी त्यसो गरेको पाइएमा कानुन बमोजिम कारबाही हुन्छ ।

तर बाँकेको कोहलपुरका बेकरी उद्योग र दुध डेरीहरु न्यूनतम मापदण्ड पनि पुरा नगरेर सञ्चालनमा आएपछि कानुनले निर्धारण गरेको व्यवस्थाकै अटेरी गरेको पाइएको छ । यहाँ कुखुराको खोरमा बेकरी उद्योग सञ्चालन गरिएको छ । खाना पकाउने भान्सा, औषधीको गोदाम र गाडी मर्मत गर्ने ग्यारेजमा दुध डेरीहरु सञ्चालन भइरहेका छन् ।

सुन्दा पनि अचम्म लाग्छ । कुखुराका सुलीहरु चारैतिर छरपष्ट छन्, दुधको प्रोसेसिङ्ग गर्ने ठाउँ र खाना पकाउने भान्सा एउटै छ । गाडी मर्मत गर्नुपर्ने ठाउँमा अनि औषधीका गोदामभित्र दुध प्रशोधन गरिन्छ । जनस्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै राज्यले तय गरेका न्यूनतम शर्तहरु पालना नगरी उद्योगी सञ्चालन भइरहेको गुनासा आएपछि अनुगमन तीव्र पारिएको छ ।

पहिलो दिन अनुगमनका क्रममा कोहलपुर नगरपालिका–११ स्थित पिपल चौतारा नजिकै रहेको विन्दवासिनी डेरी उद्योगले कुखुरा पाल्ने खोरलाई नै उद्योगका रुपमा प्रयोग गरेको भेटिएको थियो । सो उद्योगले कुखुराको खोरमै अब्यवस्थितरुपमा बेकरी उद्योग सञ्चालन गरेको पाइयो भने कतिपय उद्योगहरुले न्यूनतम मापदण्डसमेत पुरा नगरेको भेटियो ।

दोस्रो दिन बिहीबारको अनुगमनमा कोहलपुर–११ मा रहेको साझा डेरी उद्योगले भान्सा र सुत्ने कोठामा, किसान डेरी उद्योगले औषधीको गोदाममा, कोहलपुर–१२ मा रहेको सुविन डेरी उद्योगले गाडी मर्मत गर्ने ग्यारेजमा, दर्ता नगरेरै कोहलपुर–११ मा सञ्चालनमा रहेको चुलिमालिका दुध डेरीले किराना पसलमा दुध डेरी उद्योग सञ्चालन गरेको पाइएको थियो ।

अनुगमन समितिका संयोजक एवं कोहलपुर नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख धनबहादुर खत्रीका अनुसार दुधजन्य पदार्थका अलावा बेकरी सामग्रीहरु समेत उत्पादन गर्दै आएका डेरी उद्योगहरुले गम्भीर लापर्वाही गरेर जनस्वास्थ्यमाथि खेलबाड गरिरहेका छन् । यहाँ सञ्चालित अधिकांश डेरी उद्योगले न्यूनतम मापदण्डसमेत पुरा नगरेको उनले बताए ।

अनुगमन समितिका संयोजक खत्रीले भने, ‘डेरी उद्योग सञ्चालकहरुलाई ब्यक्तिगत सरसफाई, फ्रिजिङमा विशेष ध्यान दिन र दुग्धजन्य सामग्रीका लागि प्लाष्टिक क्यानको प्रयोग नगर्न भनेका छौं, पहिलो पटक हामीले सचेत मात्रै गराएका छौं । पुनः अनुगमनका क्रममा सुधार नभएको पाइएमा कानुन बमोजिम कारबाही अघि बढाउँछौं ।’

एउटै काउण्टरबाट अन्य ब्यवसायसमेत सञ्चालन गर्दै आएको पाइएपछि डेरी सञ्चालकहरुलाई दुध तथा दुग्धजन्य सामग्रीको स्वच्छतामा विशेष ध्यान दिन अनुगमन टोलीले निर्देशनसमेत दिएको खत्रीले बताए । अनुगमनका क्रममा केही डेरी उद्योगबाट अखाद्य तथा प्रतिवन्धित सामग्रीहरुसमेत बरामद गरिएको उनले बताए ।

‘यहाँ रहेका दुध डेरी उद्योग अनुगमनका क्रममा अधिकांश दुध डेरीहरु अव्यवस्थित रुपमा सञ्चालन भइरहेका छन्,’ अनुगमन समितिका संयोजक खत्रीले भने, ‘कतिपय डेरी उद्योगहरुले न्यूनतम मापदण्डसमेत पुरा नगरेको तथा दुधमा अखाद्य सामग्री प्रयोग गर्ने गरेको भेटिएका छन् । हामीले पहिलो पटक सचेत गराएका छौं । अर्को पटक छुट पाउँदैनन् ।’

उनका अनुसार दैनिक प्रयोगमा आउने खाद्य सामग्रीहरु र त्यसको अवस्थाबारे निरन्तर अनुगमन गर्ने गरी कार्यतालिका बनाइएको छ । ‘डेरी सञ्चालकहरुलाई दुध तथा दुधजन्य सामग्रीको स्वच्छतामा ध्यान दिन निर्देशन दिएका छौं, अटेरी गरे अर्को पटक सोझै कारबाही प्रक्रियामा लैजान्छौं,’ संयोजक खत्रीले भने ।

कोहलपुर नगरपालिकाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, कोहलपुर उद्योग वाणिज्य संघ, ईलाका प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय, नगर पशु कार्यालय तथा पत्रकार महासंघ लगायत विधिन्न संघसंस्थाका प्रतिनिधिसहितको संयुक्त टोलीले बजार अनुगमन गरिरहेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार १५:४४