सूचनाको शक्ति - The Power Of Information

        

ठाकुर गैरे र राजेन्द्र राई किन अटाएनन् नेकपाको पोलिटब्यूरोमा ?

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको शुक्रबार (भोलि) एक वर्ष पुग्दैछ । अघिल्लो वर्ष एकता घोषणाको दिन तीन महिनाभित्र सकाउने भनिएको एकताको कामले १ वर्ष पुग्दा पनि पूर्णता पाउन सकेको छैन ।

बुधबार काठमाडौँमा युवा संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले लगभग एकता टुंगियो भनेपनि हुने उद्घोष गरे । एकता घोषणा भएकै दिन अर्थात शुक्रबार महत्वपूर्ण घोषणा हुने पनि उनीहरुले छनक दिए ।

यसका लागि आज बिहान ८ बजे तत्कालीन एमालेको पूरानो पार्टी कार्यालय मदननगर बल्खुमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेताहरुले एकताका बाँकी काम सकिएको घोषणा गर्ने अनुमान गरिएको छ । र, आज नै बस्ने केन्द्रीय सचिवालय बैठकले त्यसलाई अनुमोदन गर्ने तयारी भएको नेताहरुको भनाई छ ।

तर, एकताका बाँकी काममध्ये महत्वपूर्ण मानिएको पोलिटब्यूरोको गठनमा भने नेताहरुले चरम गुटबन्दी गरेका छन् । गुटबन्दीकै कारण जिल्ला नेतृत्व चयनमा निकै लामो समय लगाएका नेताहरुले पोलिटब्यूरोमा झन् त्यो भन्दा बढी समय लगाएका छन् । यदि, शुक्रबारसम्म यसअघि सार्वजनिक भएको पोलिटब्यूरो सदस्यहरुको सूची सच्चिएर आएन भने यसको सबैभन्दा पहिलो मारमा पर्नेछन्, केन्द्रीय सदस्यद्वय ठाकुर गैरे र राजेन्द्र राई ।

नेकपाका शीर्ष तीन नेताको लामो रस्साकस्सीपछि पोलिटब्यूरोको सूची त तयार भयो तर, त्यसमा पूर्वएमालेका दुई प्रभावशाली नेता गैरे र राई अटेनन् । जसका कारण नेता, कार्यकर्तामा असन्तुष्टि चुलिएको छ । एमालेको आठौँ राष्ट्रिय महाधिबेशनदेखि गैरे र राई केन्द्रीय सदस्य बनेका थिए । तीन कार्यकाल केन्द्रीय सदस्य बनिसकेका गैरे र राई विडम्बना एकीकृत पार्टीको पोलिटब्यूरोको सूचीमा पर्न सकेनन् ।

घोषणा हुन बाँकी रहेको सूची सार्वजनिक भएसँगै असन्तुष्टिहरु ब्यापक देखिएका छन् । खासगरी गैरे र राईलाई ‘सहिद’ बनाइएको भन्दै कार्यकर्ताहरुले चर्काे आलोचना गरिरहेका छन् । पूर्वएमालेबाट ८१ नेता पोलिटब्यूरो सदस्य बन्दैछन् । ६१ पूर्वपोलिटब्यूरो सदस्यहरु कायम रहेपनि २० नयाँ अनुहार पोलिटब्यूरोमा आउँदैछन् । २० जनामा गैरे र राईको नाम समावेश गरिएको छैन ।

औठौँ राष्ट्रिय महाधिबेशनबाट केन्द्रीय सदस्य बनेका गैरे निरन्तर केन्द्रीय सदस्य छन् । विद्यार्थी राजनीतिबाट उदाएका गैरे पार्टीको गुटबन्दीमा सबैभन्दा बढी प्रताडित नेता हुन् । उनी गुटको शिकार भएको यो पहिलो पटक भने हैन । गैरेलाई पाल्पाबाट गत निर्वाचनमा चुनाव लडाउने तयारी गरिएको थियो । तर, अन्तिम समयमा आएर उनी गुटको शिकार बने ।

त्यसपछि गैरेलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने हल्ला चल्यो । तर, भर्खर पार्टी भित्रिएकी कोमल वली राष्ट्रियसभाको सांसद बन्दा गैरे सांसद बन्न सकेनन् । यतिबेला २० जना पोलिटब्यूरोमा नयाँ सदस्य थपिदा गैरे पनि थपिने निश्चित जस्तै थियो । तर, संस्थापन समूह अनिच्छुक देखिएपछि कसैको जोडबल नचलेको संस्थापनइतरका नेताहरुको भनाई छ ।

अर्का युवा नेता राजेन्द्र राई पनि औठौँ महाधिबेशनदेखि पार्टीको केन्द्रीय सदस्य छन् । आठौँ राष्ट्रिय महाधिबेशनमा उनी बैकल्पिक केन्द्रीय सदस्य भएका थिए । त्यसयता उनी केन्द्रीय सदस्यका रुपमा रहँदै आएका छन् । यतिबेला पोलिटब्यूरो सदस्य बन्ने सूचिमा उनको नाम पनि थियो । तर, संघीय समाजवादी फोरमबाट फर्केका बिजय सुब्वालाई पोलिटब्यूरो सदस्य बनाउँदा राई फुत्केका छन् ।

गैरे र राईलाई पोलिटब्यूरो सदस्य बनाउन वरिष्ठ नेता माधव नेपालले निकै ठूलो कसरत गरेका थिए । उनीहरु नेपाल समूहकै हुन् । तरपनि, नेपालको कसरत काम लागेन । नेपाल आफ्नो अडानमा टिक्न सकेनन् । नेता नेपालले अडान नलिँदा गैरे र राई पटक पटक उननै नाममा गुटको शिकार बन्दै आएका छन् । अध्यक्ष केपी शर्मा ओलीले नेपालको प्रस्ताव अस्वीकार गरेपछि नेपालले अडान लिन नसक्खा यसपाली पनि गैरे र राईको बाटो रोकिएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र महासचिव बिष्णु पौडेल नै गैरे र राईलाई समेट्न अनिच्छुक देखिएको असन्तुष्ट पक्षको आरोप छ । गैरे र राइलार्ई पोलिटब्यूरोमा समेटिनुपर्ने भन्दै अहिले तत्लो तहबाट आवाज उठिरहेको छ । दोस्रो, तेस्रो तहका नेताहरुले लविङ पनि गरिरहेका छन् । उनीहरुको लविङले काम गर्छ या गर्दैन त्यो भने हेर्न बाँकी नै छ ।

तर, अन्तिम सत्य के हो भने कार्यकर्तामाझ लोकप्रिय, उर्जाशील र क्षमतावान जुनसुकै नेताहरु गुटकै कारण हरेक पटक ‘सहिद’ हुनुपर्ने अवस्था आयो भने पार्टी ‘पार्टी कम’ र ‘कम्पनी ज्यादा’ हुने स्थिती आउनेछ । यसले कार्यकर्तामाझ निराशाको बिउ रोपिदै जानेछ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार ०७:४५