सूचनाको शक्ति - The Power Of Information

        

असुरक्षित गर्भपतनपछि मृत्युसँग जुध्दै बालिका, अवस्था ‘खतरामुक्त’

बाँके । असुरक्षित गर्भपतनका कारण ज्यानै जोखिममा परेकी १३ बर्षीया बालिकाका लागि आवश्यक रगत नपाउँदा उपचारमा समस्या परेको छ । बालिकाको एबी नेगेटिभ समूहको रगत अभाव रहेको छ । बालिकालाई अहिलेसम्म चार पिन्ट रगत दिइसकिएको छ । उपचारमा संलग्न चिकित्सक डा. विनोद महासेठका अनुसार अहिले बालिकाको शरीरमा ६ पिन्ट रगत छ ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ती बालिकालाई अझै चार पिन्ट रगन चाहिएको छ । यसअघि बालिकाको शरीरमा दुई दशमलव चार पिन्ट रगत मात्र थियो । ‘शरीरमा कम्तिमा पनि १० पिन्ट रगत हुनुपर्छ । तर अहिले विरामीको शरीरमा आधामात्र रगत भएको अवस्था छ’, डा. महासेठले भने, ‘आवश्यक पर्ने थप रगत संकलनका लागि सबैतिर पहल भइरहेको छ । बालिकाको अवस्था खतरामुक्त रहेको छ ।’

सबैतिर पहल गरेपछि केही रगत संकलन भएको थियो । ‘रगत चढाएपछि अहिले बालिकाको अवस्था आउट अफ डेन्जर (खतरामुक्त) छ,’ डा. महासेठले भने, ‘ब्लड एरेन्ज (रगतको व्यवस्था) गर्नु नै मुख्य समस्या बनिदियो ।’ डा. महासेठले आफूहरु, प्रहरी लगायतले बालिकालाई आवश्यक रगतका लागि चौतर्फी प्रयास गरिरहेको पनि जानकारी दिए । ‘हामी सबैले रगतका लागि कोशिस गरिराखेका छौं । एबी नेगेटिभ रेयर (दुर्लभ) ब्लड ग्रुप हो,’, डा. महासेठले भने ।

डा. महासेठका अनुसार रगत अभावका कारण बालिकाको पाठेघर पनि सफा गर्न सकिएको छैन । डा. महासेठले भने, ‘पाठेघर सफा गर्दा पनि रगतको आवश्यकता पर्छ । तर अहिले रगत नै नभएकाले हामीले त्यो (पाठेघर) पनि सफा गर्न सकेका छैनौं ।’ नेपालगन्ज उपमहानगरपालिका–१० की आएकी १३ वर्षिया एलिना (नाम परिर्वतन)ले यौन शोषणमा परेर गर्भ रहेपछि गर्भपतन गर्न खोजेकी थिइन् ।

असुरक्षित गर्भपतन गराउन खोज्दा अत्यधिक रक्तश्राव भएपछि उनलाई प्रहरीले अस्पताल पु¥याएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार, ती बालिकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइसियूमा उपचार भइरहेको छ । बालिकामाथि यौन शोषण गर्नेहरुको खोजी भइरहेको उनले बताए ।

गर्भपतन गराउन खोज्दा जथाभावि औषधी सेवन गरेपछि अत्यधिक रक्तश्राव हुँदा उनी मृत्युको मुखमा पुगेकी हुन् । अत्यधिक रक्तश्राव भएपछि उपचारका लागि नेपालगन्ज भेरी अस्पतालमा भर्ना गरिए पनि त्यहाँ उपचार सम्भव नभएपछि बालिकालाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु¥याइएको थियो । बालिकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइसियूमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार १८:१२