सूचनाको शक्ति - The Power Of Information

        

६ महीनादेखि बन्द कोठाभित्र चरेश भेटिएपछि….

बाँके । नेपालगन्ज–४ गणेशपुरस्थित एकजना घरमालिकले एक वर्षअघि एउटा कोठा भाडामा दिए । जुन कोठामा रोल्पाकी रेखा पुन नाम गरेकी एक महिला बस्दै आएकी थिइन् । करिब ६ महीनादेखि उक्त कोठा बन्द नै रह्यो । घरमालिक ऋषि शर्माले ती महिलाबाट कोठा भाडावापत पाउनुपर्ने रकम पनि पाएनन् । भाडामा बस्ने ती महिला पनि एकाएक सम्पर्क बाहिर रहिन् ।

लामो समयसम्म कोठामा ताला लाग्यो, ती महिला पनि सम्पर्कमा आइनन् । ६ महीना अघिदेखि कोठा बन्द भएपछि भाडामा दिएको कोठा खोलिदिँदा झमेला आउला भन्ने डरले घरमालिक शर्माले कोठा खाली गर्न लागि प्रहरीको सहयोग माग्दै नेपालगन्ज उपमहानगरपालिका–४ को वडा कार्यालयमा निवेदन दिए । घरमालिकले निवेदन दिएपछि वडा कार्यालयको टोली प्रहरीसहित घरधनी शर्माको घरमा पुग्यो ।

प्रहरीको रोहबरमा वडा कार्यालयको टोलीले ६/७ महीना बन्द रहेको कोठाको ताला फोड्यो, कोठाभित्र चिटिक्क सजाएर राखेका सामानहरुमा माकुराले जाले लगाइसकेको थियो । ताला फोडेपछि वडा कार्यालयको टोली र प्रहरी मिलेर कोठाभित्र भएको सरसामानको सूची तयार गर्दै थिए । एउटा कुनामा झोला देखे । जब झोला खोले, फरक वडा कार्यालयको टोली र प्रहरी अचम्ममा परे । जब उनीहरुले कोठाभित्र साढे चार किलो चरेश भेट्टाए ।

लामो समयदेखि बन्द रहेको कोठा खोल्दा चरेश फेला परेपछि घरमालिक शर्माले ती महिला बेखबर हुनुको कारण बल्ल थाहा पाए । ‘६/७ महिनादेखि कोठा बन्द थियो । भाडामा बसेकी ती महिला अहिलेसम्म सम्पर्कमा आएकी छैनन्,’ घरमालिक शर्माले भने, ‘लामो समयसम्म कोठा भाडा नपाउँदा कोठा खाली गर्न वडा कार्यालयमा निवेदन दिन पुगेको हुँ ।’

‘घर मालिकले ४ नम्बर वडा कार्यालयमा निवेदन दिएर जनप्रतिनिधिलाई बोलाउनुभएछ, उहाँहरुले हामीलाई पनि खबर गर्नुभयो, हाम्रै रोहबरमा कोठा खोल्दा साढे चार किलो चरेश फेला पर्‍यो,’ वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले भने । उनका अनुसार ती महिला लागुऔषध कारोबारका क्रममा अन्यत्रै पक्राउ परिसकेकोले सम्पर्कमा नआएको आशंका गरिएको छ ।

साविकका मध्यपश्चिमका जिल्लामा उत्पादन हुने चरेशको बजार नेपालगन्ज र भारतीय शहर भएकाले यहाँ चरेश जम्मा पारेर पायक परेको समयमा भारततिर सप्लाई गर्ने गरेको उनले बताए । पहाडी जिल्लाका महिलालाई नेपालगन्ज नाकाबाट चरेश पास गराउन प्रयोग गर्ने गरिन्छ । केही पैसाका लागि महिलाहरु चरेश बोक्न तयार हुँदा भारतको जेलमा पुगेकाको संख्या बढ्दो रहेको छ ।

यसैबीच, सशस्त्र प्रहरी बलका पूर्व सहायक हवल्दार प्रकाश थापा लागुऔषध ब्राउन सुगरसहित जमुनाहा नाकामा पक्राउ परेका छन् । सीमावर्ती भारतीय शहर रुपैडिहाबाट ब्राउनसुगर बोकेर आइरहेका थापालाई जमुनाहा प्रहरीले पक्राउ गरेको हो । सशस्त्रको बहालवाला परिचयपत्र बोकका उनी बीचमै जागिर छोडेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार जागिर छोडिसकेका थापासँग सशस्त्र प्रहरीको परिचय पत्र थियो । प्रहरी उपरीक्षक पौडेलले भने, ‘लागुऔषधको दलदलमा फसेका उनले सेवन गर्नका लागि ब्राउनसुगर बोकेको भन्ने अनुसन्धानबाट खुलेको छ ।’ त्यसो त सशस्त्र प्रहरी भएकाले नाकामा कसैले जाँच गर्दैन भन्ने बुझेर उनले ब्राउनसुगर पास गर्न खोजेको प्रहरी उपरीक्षक पौडेलको भनाई छ ।

सीमावर्ती बजार रुपैडिहामा सहजै पाइने ब्राउनसुगर सेवन गर्नका लागि नेपालगन्ज र आसपासबाट दैनिक ठूलो संख्याका मानिसहरु जाने गर्दछन् । रुपैडिहामा सेवन गरेर आउनेलाई प्रहरीले कारबाही गर्दैन । उनीहरुको साथमा माल भेटिएमात्रै कारबाही प्रक्रिया अघि बढ्छ । इन्जिनियर, सरकारी कर्मचारीहरु समेत नाकामा लागुऔषध खाएर आउँदा ब्यूरोको फन्दामा परेका छन् । तर, कारबाही गर्न नसकिने हुँदा उनीहरुलाई सम्झाएर छोडिएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार १६:५५