बाँके । झोलुङ्गे पुल योजनाको बिषयलाई लिएर इन्जिनियरलाई ज्यान मार्ने धम्की दिने जिल्ला समन्वय समिति अछामका सदस्य एवम् काँग्रेस सहसचिव बेदप्रकाश तिमिल्सिना फरार भएका छन् ।
उनलाई तत्काल पक्राउ गरि आवश्यक कारवाही थाल्न गृहमन्त्री रामबहादुर थापाले प्रमुख जिल्ला अधिकारी र डिएसपीलाई आदेश दिएपछि तिमिल्सिना फरार भएका हुन् । अछामको पूर्वाधार विकास कार्यालय साँफेबगरमा कार्यरत निमित्त प्रमुख इन्जिनियर जंगबहादुर थापालाई तिमिल्सिनाले अश्लील शब्दमा गाली गर्दै ज्यान मार्ने धम्की दिएका थिए ।
उनले धम्की दिएको अडियो अहिले भाइरल बनेको छ । तिमिल्सिनाले इन्जिनियर थापासँगै सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं नेकपा सुदूरपश्चिम सचेतक अक्कल रावललाई समेत गाली गरेका थिए । आफूले भनेबमोजिम नगरेको र आफ्नो मान्छेलाई समितिको अध्यक्ष नबनाएको भन्दै तिमिल्सिनाले थापालाई काटेर फाल्ने धम्की दिएका थए । उनले फोन रेकर्ड गर्न र सिडीओलाई उजुरी गर्न समेत चुनौती दिएका थिए ।
इन्जिनियर एसोसिएसन ३ नम्बर प्रदेश कार्यकारिणी समितीले समेत उनलाई गिरफ्तार गरेर कारवाही गर्न माग गर्दै गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएको थियो । फरार रहेका तिमिल्सिनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । रेकर्ड भाइरल हुनु अगावै देखि तिमिल्सिना अछाम छोडेर भागेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) जनक बहादुर शाहीले बताएका छन् ।
‘गृहमन्त्रालयको आदेशपछि उहाँको खोजी कार्य अझै सक्रिय भएर गरिरहेका छौं, ठाउँ ठाउँमा प्रहरी परिचालन गरेका छौं,’ डिएसपी शाहीले भने । तिमिल्सिनालाई गिरफ्तार गर्न विभिन्न जिल्लाका प्रहरीसँग पनि समन्वय गरेको शाहीले बताए । तिमिल्सिना काङ्ग्रेस अछामका सहसचिव र प्रवक्ता समेत हुन् ।
यो पनि पढ्नुस् :
http://satyapati.com/2019/05/23729
सत्यपाटी - ।