बाँके । नेपालगन्ज उपमहानगरपालिका–१० की १३ वर्षिया एक बालिका यौन शोषणमा परेकी छन् । यौन शोषणबाट गर्भ रहन गएपछि असुरक्षित गर्भपतन गराउन खोज्दा ती बालिका अहिले मृत्युको मुखमा पुगेकी छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, कक्षा ८ मा अध्ययनरत एलिना (नाम परिर्वतन)ले पेटमा रहेको गर्भलाई आफै गर्भपतन गर्न खेजेकी थिइन् । गर्भपतन गराउन खोज्दा जथाभावि औषधी सेवन गरेपछि अत्यधिक रक्तश्राव हुँदा उनी मृत्युको मुखमा पुगेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार, ती बालिकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइसियूमा उपचार भइरहेको छ । ती बालिकाले तीन महिनाको गर्भ फाल्न गर्भपतन गराउने औषधी सेवन गरेपछि अत्यधिक रक्तश्राव हुन पुगेको थियो ।
प्रहरी उपरीक्षक पौडेलले नेपालगन्ज उपमहानगरपालिका–१० बाट उद्वार गरी अस्पताल भर्ना गरेको बताए । ‘प्रहरीले गस्ती गर्ने क्रममा बालिकालाई रोइरहेको अवस्थामा फेला पारेका हौं । बालिका र उनको परिवारसँग कुरा बुझ्दा बालिकाको अवस्था गम्भीर भएकाले तत्काल भेरी अस्पताल उपचारका लागि ल्यायौं,’ उनले भने ।
बालिकाले असुरक्षितरुपमा गर्भपतन गर्ने औषधी सेवन गराउँदा अत्यधिक रक्तश्राव भइरहेको छ । प्रहरी उपरीक्षक पौडेलले भने, ‘भेरीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि कोहलपुर लगेका हौं । अहिले बालिका आइसियुमा छिन् । घटनाको गहन अनुसन्धान भइरहेको छ ।’
१३ वर्षिय बालिका के कसरी गर्भवती भइन् र उनलाई कसले वा कसरी गर्भपतन गराउन खोज्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले बताए । रगतको कमी भएकी बालिकालाई बचाउन यतिवेला सबैतिर रगतका लागि आग्रह गरिएको छ । ‘एबी’ नेगेटिभ रगत समूहकी ती बालिकालाई रगत दान गर्न प्रहरीले अनुरोधसमेत गरेको छ ।
अत्याधिक रक्तश्रावपछि उनको शरीरमा रगतको मात्रा कमी भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार, उनको शरीरमा २.४ पिन्ट रगत मात्र रहेको छ । अत्यधिक रक्तश्राव भएपछि नेपालगन्ज भेरी अस्पतालमा उपचारका लागि ल्याइको थियो । भेरी अस्पतालमा उपचारार्थ बालिकाको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर लगिएको होे ।
सत्यपाटी - ।