सूचनाको शक्ति - The Power Of Information

        

‘सुरक्षित’को प्रमाणपत्र पाउने नेपालकै तेस्रो बन्यो नेपालगन्ज विमानस्थल

बाँके । नेपालगन्ज विमानस्थलले ‘सुरक्षित’को प्रमाणपत्र पाएको छ । काठमाडौं र विराटनगरपछि सुरक्षित विमानस्थलको प्रमाणपत्र पाउने नेपालगन्ज तेस्रो भएको छ । विमानस्थलले ‘सुरक्षाको दृष्टिकोणले उपयुक्त रहेको’ प्रमाणपत्र पाएको हो । एक वर्षदेखिको अथक मेहनतले गर्दा विमानस्थलले सुरक्षितको प्रमाणपत्र पाएको विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले सोमबार नेपालगन्जमा आएर प्रमाणपत्र दिए । विमानस्थल सुरक्षित हुनका लागि ६ महिने, एक वर्षे, पाँच वर्षे शर्तहरु राखिएका थिए। ती सबै शर्तहरु नेपालगन्ज विमानस्थलले पुर्याउँदै अघि बढेको छ । विमानस्थलका प्रमुख ठाकुरका अनुसार, ती शर्तमा रनवे, मार्किङलगायत धेरै बुँदा पर्छन् ।

‘नेपालगन्ज विमानस्थलले धेरै मापदण्ड पूरा गरेको छ । सबै ठिक छ । सुरक्षाको दृष्टिकोणले उपयुक्त भएको छ,’ विमानस्थलका प्रमुख ठाकुरले भने, ‘हामीले प्रमाणपत्र पनि पायौ । अब अझ राम्रो गरेर अघि बढ्छौं ।’ नेपालगन्ज विमानस्थललाई वि.सं. २०४० सम्ममा अन्तर्राष्ट्रिय मापदण्डको बनाउन ‘मास्टर प्लान’ बनिसकेको छ ।

अहिले विमानस्थल १६६ विगाहमा छ । त्यसमा सय विगाह जमिन थप्ने, तत्काल नै दुई सय मिटर रन वे थप्ने र भविष्यमा यसलाई दुई हजार ६ सय मिटर बनाउने, विमानस्थललाई पूर्वतिर बिस्तार गर्ने, डुडुवा खोलालाई डाइभर्सन गर्नेलगायतको मास्टर प्लान बनिसकेको हो । त्यसका लागि १२ अर्ब ५० करोड लाग्ने अनुमान गरिएको छ । विमानस्थललाई पूर्व्तिर बिस्तार गर्ने हो भने अहिले नै जग्गा खाली गराएर मुअब्जा दिनुपर्ने कुरा भइरहेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार २०:४५