सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज मेडिकल कलेज लागुऔषधको अखडा, कर्मचारीदेखि चिकित्सकसम्म दुर्व्यसनमा !

कुलतले गाँजेको स्वास्थ्य शिक्षा

बाँके । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज लागुऔषधको अखडा बनेका छन् । मेडिकल कलेजमा कार्यरत कर्मचारी र एमविविएस अध्यनरत विद्यार्थी नै लागुऔषध ओसारपसार गर्ने, सेवन गर्ने र अरुलाई पनि गराउने गरेको पाइएको छ ।

कर्मचारीदेखि चिकित्सा अध्यरत विद्यार्थीसम्म लागुऔषध ब्राउसुगरसहित पक्राउ परेपछि नेपालगन्ज मेडिकल कलेजभित्र लागुऔषध सेवन गर्नेको संख्या धेरै रहेको अनुमान गरिएको छ । डाक्टरलाई समाजमा निकै प्रतिष्ठित मानिन्छ । बुवाआमाले छोराछोरीलाई डाक्टर पढ्न पठाएका छोराछोरी नै लागुऔषधमा फसेका छन् ।

प्रहरीका अनुसार नेपालगन्ज मेडिकल कलेजमा वाहालवाला चिकित्सक र एमविविएस अध्ययनरत विद्यार्थी लागुऔषध दुर्व्यसनमा फसेका छन् । यसको आँकडा धेरै छ । मेडिकल कलेजभित्र चिकित्सकहरुनै लागुऔषध सेवन गर्छन् । र, तिनै चिकित्सकले नै विरामीको उपचार गर्छन् । प्रहरी अहिले मेडिकल कलेजभित्रको अनुसन्धानमा जुटेको छ ।

एक दर्जनभन्दा बढीले लागुऔषध प्रयोग गर्छन् भन्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरिसकेको छ । कोहलपुर शिक्षण अस्पतालमा गाँजा, चरेस सेवन गर्नेको संख्या त झन् धेरै छ । अस्पताल हाताभित्रै त्यसका अवशेष मज्जाले भेटिन्छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एमविविएस अध्ययनरत दुईजना विद्यार्थीलाई लागूऔषधसहित प्रहरीले वैशाख २४ मा जमुनाहा नाकाबाट पक्राउ गर्यो ।

भारतको सीमा बजार रुपईडिहाबाट लागूऔषध ब्राउनसुगर ल्याउँदै गर्दा प्रहरीले एमविविएस चौथो वर्षमा अध्ययनरत धनगढी उपमहानगरपालिका–१ का निशान चन्द र तेस्रो वर्षमा अध्ययनरत भारत राजस्थानका अंकुर शर्मालाई पक्राउ गरेको हो । त्यसो त नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका तत्कालिन प्रशासन प्रमुख अरविन्द शर्मा लागूऔषध ब्राउनसुगरसहित कार्यकक्षबाट पक्राउ परेका थिए ।

मेडिकल कलेजमा कार्यरत कर्मचारी र अध्ययनरत विद्यार्थी लागूऔषधसहित पक्राउ परेपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लागूऔषधको प्रयोग र कारोबार हुन्छ भन्ने प्रमाणित भएको छ । शिक्षण अस्पतालमा कार्यरत कर्मचारी र मानव स्वास्थ्य जाँचका लागि अध्ययनरत विद्यार्थी लागूऔषध प्रयोग गरेको फेला परेपछि उक्त अस्पतालले दिने शिक्षा र उपचार सेवामा शंका गरिन थालिएको छ ।

उपभोक्ता हकहित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गौतमले शिक्षाजस्तो संवेदनशील क्षेत्रमा लागूऔषध दुर्व्यसन तथा कारोबार हुनु चिन्ताको विषय भएको बताए । उनले एमविविएस अध्ययन गर्ने कलेजमा लागूऔषधको दुर्व्यसनी बढ्दा सिंगो स्वास्थ्य क्षेत्रमा असर पर्ने बताए । आफै कुलतमा परेको चिकित्सकले गुणस्तरीय स्वास्थ्य सेवा दिन नसक्ने उनको भनाई छ ।

‘विरामी जाँच्ने चिकित्सक नै लागूऔषधको कुलतमा फसेपछि उसले गुणस्तरीय स्वास्थ्य सेवा दिनसक्ने कुरै आउँदैन,’ उनले भने । कानून व्यवसायीसमेत रहेका गौतमले लागूऔषध कारोवारीले शिक्षा क्षेत्रमा कारोबार बढाएर शिक्षा क्षेत्रलाई तहसनहस बनाउन खोजेको जिकिर गर्दै यसले सिंगो शिक्षा क्षेत्र धमिल्याएको बताए ।

‘लागूऔषधले शैक्षिक वातावरण विग्रिनुका साथै विद्यार्थीको भविष्य अन्यौलपूर्ण देखिन्छ,’ गौतमले भने । राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाईले एमविविएस अध्ययनरत विद्यार्थी नै लागूऔषध दुर्व्यसनमा फस्नु दुर्भाग्य भएको बताए । यस्ता विद्यार्थीले भविष्यमा दिने सेवामाथि आशंका उब्जाएको उनको भनाई छ ।

‘राम्रा र जेहेन्दार विद्यार्थीले मात्र एमविविएस पढ्छन् भन्ने आमसमुदायको मानसिकता माथि यसले नकारात्मक सन्देश दिएको छ,’ उनले भने । एमविविएस अध्ययनरत विद्यार्थीले लागूऔषध प्रयोग गर्दा गुणस्तरीय शिक्षा लिन नसक्ने भएकोले भविष्यमा उसले दिने स्वास्थ्य सेवामाथि पनि प्रश्न चिन्ह खडा भएको छ ।

‘स्वास्थ्य सेवा दिनका लागि अध्ययन गरिरहेको विद्यार्थीले राम्रोसँग पढेन भने उसले दिने सेवा कस्तो होला ?’ उनले भने । नेपाल प्रहरीका ५ नं. प्रदेश लागूऔषध ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, नेपालगन्ज मेडिकलमा एमविविएस अध्ययनरत दर्जन बढी विद्यार्थीले लागूऔषध प्रयोग गर्ने गरेको सूचना प्राप्त भएको बताए ।

उनले विद्यार्थीलाई निगरानीमा राखेको बताउँदै शिक्षण अस्पताल कोहलपुरका विद्यार्थीले लागूऔषध प्रयोग गर्दै आएको प्रमाणित भएको बताए । ‘हाम्रो अनुसन्धानले त्यहाँ अध्ययनरत केहि विद्यार्थीले लागूऔषध प्रयोग गर्छन् भन्ने प्रमाणित भएको छ,’ उनले भने, ‘पक्राउ परेका दुवैजना प्रयोगकर्ता भएको अनुसन्धानबाट खुलेको छ ।’

मेडिकल कलेज ब्यवस्थापन समिति र कलेजका प्रवन्ध निर्देशक श्रवणकुमार चौधरीसँग छलफल जारी रहेको बताउँदै थापाले कुलतमा फसेका विद्यार्थीलाई सहि बाटोमा ल्याउन र कारवाहीको दायरामा ल्याउन अस्पताल प्रशासनले सहयोग गर्ने बचन दिएको बताए । ‘सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र लागूऔषध प्रयोगकर्ता विद्यार्थीलाई सचेत गराउने प्रतिवद्धता अस्पताल प्रशासनले दिएको छ,’ उनले भने ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार १४:११