काठमाडौँ । नवगठित समाजवादी पार्टी नेपालका दुई अध्यक्षमध्येका एक उपेन्द्र यादव एक टेलिभिजनको अन्तर्वार्ताको बिचमै उठेर बाहिरिएका छन् । एभिन्युज टेलिभिजनको सकस राजनीति कार्यक्रममा पाहुनाका रुपमा पुगेका उपप्रधानमन्त्रीसमेत रहेका यादवले कार्यक्रम सञ्चालक पत्रकारको प्रश्नको जवाफ नदिइ माइक फुकालेर बिचमै अन्तर्वार्ता छोडेर हिँडेका हुन् ।
यादवको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल पार्टी्बिच हालै एकता भएर डा. भट्टराई र यादव अध्यक्ष रहने गरि समाजवादी पार्टी नेपालको गठन भएको हो । अन्तर्वार्ता लिने पत्रकारले नयाँ पार्टीको गठनको शुभकामनासँगै ‘यो पार्टीले जनतालाई के दिन्छ ?’ भनेर प्रश्न गरे । त्यसको जवाफमा उपप्रधानमन्त्री समेत रहेका यादवले ‘तपाईँ मिडियामा हुनुहुन्छ, मिडियाले के दिन्छ ? भनेर प्रतिप्रश्न गरे ।
पत्रकारले नम्र भएर ‘हामीले त जनतालाई सुसूचित गरिरहेका छौँ’ भनेर जवाफ दिए । त्यसपछि नवगठित पार्टीका अध्यक्ष यादवले ‘तपाईँलाई त प्रश्न गर्ने ढंग पनि दिएको छैन’ भन्ने जवाफ फर्काए । यादवले शिष्ट भएर प्रश्न गर्न, कसरी कुरा गरिन्छ भन्ने जान्न भने र विवाद लम्बिँदै गएपछि उनी माइक निकालेर हुर्याउँदै अन्तर्वार्ताबाटै बाहिरिएका हुन् ।
सत्यपाटी - ।