सूचनाको शक्ति - The Power Of Information

        

एउटै ब्यानरबाट उदाएका दुई नायिकाको दुस्मनी : आयो यस्तो प्रतिक्रिया !

काठमाडौँ । एउटै ब्यानरबाट नेपाली चलचित्र क्षेत्रमा आएका नायिका हुन्, वर्षा राउत र वर्षा शिवाकोटी । विकास राज आचार्यको ‘नाई नभन्नु ल’ को दास्रो सिरिजमा वर्षा शिवाकोटी देखा परिन् भने वर्षा राउतले चोथो सिरिजबाट डेब्यू गरेकी हुन् । दुवैको नाम एकै भएपनि करिएर भने एकै गतिमा बढेन । राउत शिवाकोटीभन्दा पछि चलचित्र क्षेत्रमा आएपनि छलांग मारिन् । त्यसैले चलचित्र क्षेत्रमा शिवाकोटीको राउतसँग सम्बन्धमा तिक्तता आएको आँकलन गरिन्छ । एकै क्षेत्रमा रहेर पनि कम भेटघाट गर्ने यी नायिकालाई बेलाबेला दुश्मन भएको व्याख्या हुन्छ । चलचित्र गोपीको छायांकनको क्रममा पनि यो कुरा उठेको थियो ।

गोपीमा वर्षा शिवाकोटीले गर्छु भनेको चलचित्रलाई अन्तिम समयमा आएर छोडेकी थिइन् र नायिका राउत यो चलचित्रमा अनुबन्धित भइन् । यी दुईले सँगै गायिका सिन्धु मल्लको तिज गीतमा नाँचेका पनि छन् । जेठ ३ गते दुईओटा नेपाली चलचित्र प्रदर्शनमा आउँदैछ । वर्षा राउत अभिनित ‘जात्रै जात्रा’ र वर्षा शिवाकोटी अभिनित ‘विर विक्रम –२’ । दुई नायिकाको चलचित्र एकै मितिमा प्रदर्शन हुँदा चलचित्र नगरीमा राउत र शिवाकोटीको दुश्मनीको प्रसंग चलेपछि नायिका वर्षा शिवाकोटीले लामो स्टेटस लेखेर फेसबुकमा पोस्ट गरेकी छन् ।

भावनात्मक सन्देश लेख्दै शिवाकोटीले मायालु सम्बोधन सहित लेखेकी छन्, ‘खै कसले भनेछ हामी दुश्मन अरे । हामीले एक अर्काको अस्तित्व स्वीकार गर्न सकेनौँ अरे । हामी प्रतिस्पर्धी पक्कै हौँला, एकै क्षेत्रमा काम गरिरहेका छौँ । त्यसलाई अस्विकार न तिमीले गर्न सक्छौ न मैले । एकै ओछ्यानमा सुते पछी खुट्टा लाग्नु त स्वाभाविक नै हो नी होइन र ? हिजो एकै फ्रेममा अटाएका हामी आज एक अर्काको दुस्मन बनाइएका छौँ । के साच्चै तिमी मेरो र म तिम्रो दुश्मन हौँ र ? हामी बिचमा कहिल्लै केही कुरामा असमझदारी आएका छन् र ? न तिमीले मेरो नाममा न मैले तिम्रो नाममा कहिल्लै कसैसामु सङ्कुचित भावना राखेर कुरा काट्दै हिँडेका छौँ ।

तर पनि हामी एक अर्काका दुश्मन कसरी बन्यौँ ? एकै परिवारका दुई सदस्य हामी आखिर यो बजारमा भनिएको जस्तै दुश्मनी बोकेर बसेका छौँ र ? तिमीले तिम्रो कर्म गरिरहेकी छौ मैले मेरो कर्म । कर्म फरक फरक गरे पनि धर्म त हाम्रो उही कलाकारिता नै हो नी होइन र ? भोगाई र मर्म तिम्रो र मेरो उस्तै त छ नि छैन र ? हामीले एकै ब्यानरबाट चलचित्र क्षेत्रमा पाइला टेक्यौँ । हिजो म्युजिक भिडियो अभिनयमा छँदा पनि हाम्रो सुरुवात खासै फरक समयमा भएको जस्तो मलाई लाग्दैन । दिन फरक भए होला समय पक्कै फरक थिएन । फेरि त्यही समयमा फर्कौँ जहाँ हामी एकै फ्रेममा रमाएका थियौँ । यो भन्दै गर्दा फेरि केही दिनमा फेरि सुन्न पाइनेछ जेठ ३ मा दुई बर्षाको भिडन्त । तर, म भन्छु जेठ ३ गते हाम्रो भिडन्त होइन मिलन हुनेछ हल हलमा । हामी सँगै लाग्दैछौँ । एकै फ्रेममा नदेखिए पनि उही पर्दामा पालो पालो देखिनेछौँ । जात्रै जात्राको लागी तिमीलाई शुभकामना ।’

वर्षा शिवाकोटीको यो स्टेटसमा राउतले रिप्लाई गरेकी छन्, ‘त्यै त है हामीलाई थाहा नै नपाई एक अर्काको दुश्मनको बिल्ला भिराएछन् ! फुलको आखामा फूलै संसार ! मेरो केहि भन्नु छैन ! मुख्य कुरा हामीले एक अर्कालाई कसरी लिन्छौ भन्ने हो ! हामी आफ्नो आफ्नो काममा व्यस्त हुदा कुराकानी भेटघाट पातलो भएको पक्कै हो यसको मतलब दुश्मन कुन कोणबाट भयौ भन्नेहरुलाई नै थाहा होला । हामी कलाकार आज एउटासँग भोलि अर्कोसँग काम गर्नपर्ने हुन्छ । हाम्रो आफ्नो भनेको काम हो । कुन फिल्म कहिले आउने भन्ने हाम्रो कुनै हात हुँदैन । यसमा कुनै हाम्रो गल्ती देख्दिन । म पनि यहि कुरा सोच्दै थिए तिमीले मेरो मनकै कुरा लेख्यौ । तिमीलाई पनि बिरबिक्रम २ को शुभकामना ! समग्र मा हामीलाई शुभकामना ! बाकी भेटमा है साथी !’

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार ०८:४३