सूचनाको शक्ति - The Power Of Information

        

विपदको जोखिम कम गर्न ‘अर्लिवार्निङ सिष्टम’

देवी भण्डारी । दाङ्ग । विपदको जोखिम कम गर्न दाङ जिल्लामा चालु आर्थिक बर्षभित्रै डिजिटल प्रविधियुक्त ‘अर्लिवार्निङ सिष्टम’ जडान गरिने भएको छ । विपद ब्यवस्थापन दाङका सयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार उक्त प्रविधिमार्फत अब कार्यालयबाटै जोखिम क्षेत्र पहिचान गर्न सकिनेछ ।

यसअघि समान्य प्रविधिबाट विपदको जोखिम कहाँ छ भने थाहा पाउने गर्दै आएकोमा ‘अर्लिवार्निङ सिष्टम’ जडानपछि यस बर्षदेखि आपतकालिन सञ्चालन केन्द्रको कार्यालयबाटै कुन क्षेत्रमा कस्तो जोखिम छ भन्ने जानकारी लिन सकिनेछ । तत्काल जोखिमयुक्त बस्तीहरुको जानकारी लिन ‘अर्लिवार्निङ सिष्टम’ जडान गर्न लागिएको प्रजिअ रिजालले बताए ।

उनले ‘अर्लिवार्निङ सिष्टम’ एक महिनाभित्र जडान गरिसक्ने लक्ष्य रहेको बताए । उक्त सिष्टमको मुख्य मनिटर विपद ब्यवस्थापन समितिको कार्यालय जिल्ला प्रशासन कार्यालयमा रहनेछ भने अन्य तीनवटा जिल्ला प्रहरी, नेपाल प्रहरी र शसस्त्र प्रहरीको कार्यालयमा जडान गरी जोखिमको खतरा थाहा पाउने ब्यवस्था गर्न लागिएको छ ।

प्रजिअ रिजालका अनुसार ‘अर्लिवार्निङ सिष्टम’ जडानपछि विपदको जोखिम कहाँ छ, कुन जलाधार क्षेत्रहरु बढि जोखिममा छन् भन्ने कुरा पत्ता लगाई न्यूनीकरणमा सहज हुनेछ । यस्तै दाङको लमहीमा यसै आर्थिक वर्षदेखि प्रदेशस्तरीय आपतकालीन गोदाम घरको निर्माणको प्रक्रियागत कार्य शुरु गरिएको पनि प्रजिअ रिजालले बताए ।

गोदाम घरमा विपद व्यवस्थापन तथा विपद पूर्वका तयारी तथा प्रतिकार्यका लागि आवश्यक सामाग्रीहरु राखिने छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको बैठकले जिल्लामा विपदका समयमा राहत पुननिर्माण र पुनंसरचनाको जिम्मेवारीसमेत बाँडफाँड गरेकोे प्रजिअ रिजालले बताए ।

जिल्ला अपतकालीन कार्य सञ्चालन केन्द्रले जिल्लामा हुनसक्ने शीतलहर, गर्मी, प्रि–मनसुन र मनसुनका लागि विभीन्न कार्ययोजनासमेत निर्माण गरेको छ । दाङको राप्ती, गढवा, राजपुर, बबई गाउँपालिका, लमही नगरपालिका तथा तुल्सीपुर उपमहानगरपालिकाको मोतीपुर क्षेत्र विपदको जोखिममा रहेको प्रजिअ रिजालले जानकारी दिए ।

जिल्लामा हुनसक्ने विपतका समयमा उद्धारका लागि तिनवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनामा गोताखोरबाहेकका दक्ष जनशक्ति रहेको र विपदका समयमा परिचालन गर्न सकिने गरि संयन्त्र निर्माणसमेत गरिएको छ । विगतमा आएभन्दा ठूलो बाढी आएमा जिल्लामा रहेको जनशक्तिले थेग्न नसक्ने प्रजिअ रिजालले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार १२:४०